बैशाख १४, २०८१ शुक्रबार

हामी रजस्वला हुँदा देउता रीसाउने भए सृष्टि कसरी धानिन्छ ?



आफ्नै घर भित्र पस्दा देउता रीसाउँछन् । दूध, दही, मोहीजस्ता पोषणयुक्त खानेकुरा खानेकुरा खान बर्जित छ । त्यसैले घरभन्दा टाढा फोहर र अँध्यारो गोठमा सुत्नुपर्छ । सुत्ने ठाउँमा कपडा छैन र रातभरी निद्रा लाग्दैन ।

अपराध गरेर जेल परेको व्यक्तिलाई त कारागारमा खाने, बस्ने सुत्ने राम्रो व्यवस्था गरिएको हुन्छ। तर बाजुराका महिलाले केही गल्ती नगरेपनि अपराधिले भन्दा ठूलो सजायँ भोग्नु परेको धेरै वर्ष भयो ।

सृष्टि चलाउने अनिवार्य प्राकृतिक प्रकृया रजस्वला भएको बेला छाउ गोठमा बस्नुपर्ने बाध्यकारी चलन हो यो । पश्चिम नेपालका कतिपय जिल्लामा यो कुप्रथा अझै कायम छ ।

छाउ गोठमा पुगेर बलात्कार गर्ने पुरुषहरु पनि त्यहीँ छन् । आगलागी, निसास्सिने तथा सर्प वा विच्छीको टोयाईको काराण स्याहार र उपचार नपाएर धेरै महिलाको त्यही गोठमा मृत्यू पनि हुने गरेको छ ।

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता रुढीवादी र अन्धविश्वासबाट ति जिल्लाका महिलाहरु पीडित हुने गरेका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ की भुजी सुनारले आफ्नै घरभित्र पस्न नदिने चलनले खपिनसक्नु पीडा हुने गरेको बताइन् । “झन् त्यही बेला दूध, दही, मही खान दिँदैनन्” उनले भनिन् “आफ्नो घरभित्रको काम आफैले गर्न पाइँदैन ।”

कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गरे ।

“यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न भनेका छौँ”, उनले भने ।

बाजुरामा मात्रै नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइसकिएको छ।

महिनावारी भएकोबेला हुने विभेदबाट महिला पिडित भएपनि यस्तो विभेद हटाउन पुरुष अग्रसरता अनिवार्य देखिएको संघीय सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बताइन् ।

‘महिनावारी हामी महिलाले अपमान सहने माध्यम बन्नु नेपाली समाजको ठुलो रोग हो’ मन्त्री थापाले भनिन्, ‘यो त श्रृष्टिको शुरुआत हो ।’

छाउपडी अन्त्य गर्न स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको बैतडीकी रमिता सुनारले बताईन् ।

“ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्छ” उनले भनिन् “यस्ताे पीडा भाेग्न रजस्वला हुँदा देउता रीसाउने भए सृष्टि कसरी धानिन्छ ?”