बैशाख १४, २०८१ शुक्रबार

स्वास्थ्य संस्थामा सुत्केरी हुने चारगुणाले बढे, जोखिम घट्यो



बारेकोट गाउँपालिका ८ सेपुखोला स्थित स्वास्थ्य केन्द्रमा बच्चाको स्वास्थ्य जाँच गराउन आएका महिलाहरु । तस्वीर : बद्री पन्त जाजरकोट ।

जाजरकोट – बारेकोट १ को रामीडाँडा । यसै त दुर्गम गाउँ, त्यसमाथि जनचेतनाको अभाव । पहिला पहिला गर्भ जाँच गराउन जाने चलन थिएन ।

तर २२ बर्षीया देविका नेपालीले त्यो चलन तोडिन । “नियमित गर्भ जाँच नगराउने र व्यथाले च्यापेपछि मात्र अस्पताल जाने चलन थियो, मैले त्यो चलन तोडेँ”, उनी भन्छिन् “अहिले त लगभग सबै दिदीबहिनी गर्भजाँच गराउन जानुहुन्छ, केही समस्या आयो भने समयमै उपचार पाइन्छ ।”

देविका नेपाली जस्तै गाउँको चलन तोड्ने बारेकोटमा अहिले धेरै छन् । पछिल्लो २ वर्ष सुत्केरी हुन स्वास्थ्यसंस्था पुग्ने महिलाको संख्या चार गुणाले बढेको छ ।

गाउँपालिले गाउँगाउँमा कार्यक्रम गरेपछि आफूहरुलाई थाहा भएको र रकम पनि दिने गरेकोले गर्भ जाँच गराउनेको संख्या बढेको वडा नं. २ की विन्दु सिंहले बताइन् ।

“स्वास्थ्य संस्थामा गएपछि रुपैया पाइने, नुन, तेल, सावन, कपडा पाउने भएपछि धेरै महिला स्वास्थ्यामा गएर सुत्केरी हुने गरेका छन्”, उनले भनिन् “पहिला पहिला पनि कार्यक्रम थियो भन्ने थाहा भएन, गाउँपालिका आएपछि सबैले थाहा पायौँ ।”

नियमित गर्भजाच गराउनलाई ४ सय तथा स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई १ हजार प्रोत्सहान रकम दिने पहिल्यै देखिको सरकारी कार्यक्रम छ । त्यसमाथी गाउँपालिकाले १ हजार रकम थप गरेको छ।

दुर्गम भनेर चिनिने साविकका गाविसहरुमा जनचेतना पुग्न नसक्दा पहिला महिलाहरु स्वास्थ्यजाँच नगराई घरमै सुत्केरी हुन्थे ।

स्थानीय तहको निर्वाचन पछि जनचेतनाका कार्यक्रम प्रभावकारी बनाएको र प्रोत्साहन रकम थप गरेको कारण अहिले गर्भजाँच गराउनेको संख्या बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

“पछिल्लो दुई वर्षमा स्वास्थ्यसंस्थामा सुत्केरी हुनेको संख्या चार गुणले बढेको छ”, उनले भने “अहिले बारेकोटमा ६९ प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुने गरेका छन् ।”

स्वास्थ्य शाखाका अनुसार गतबर्ष ३ सय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएकोमा यो बर्ष ५ सय ६ गर्भवती महिलामध्ये ३ सय ४८ जना स्वास्थ्य संस्थामै बाट सुत्केरी भएका छन् ।

घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको थियो । तर अहिले बारेकोटमा मातृ मृत्यु शून्य रहेको छ ।

आफूहरु निर्वाचित भएपछि गाउँपािलका प्रोत्साहन रकम बृद्धि र जनचेतनाका कार्यक्रम तिब्र पारेको गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताइन् ।

“गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन, महिला स्वास्थ्य स्वयसेविकालाई महिनाको २ हजार प्रोत्साहन रकम लगायतका व्यवस्था गरेका छाैँ”, उनले भनिन् “महिलाहरुको लागि विशेष कार्यक्रम संचालन र जनचेतनामूलक तिब्र पारिएको छ ।”

उनका अनुसार पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिलाहरु पनि अहिले स्वास्थ्यसंस्थामा जानुपर्छ भनेर भन्छन् ।

किनकी हिँजाे घरैमा सुत्केरी हुँदा कतीले अकालैमा ज्यान गुमाउने गरेका थिए । स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोत्सहान रकम समेत दिदै आएको थियो।

पहिला गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च गाउँमै नहुने र टाढा जानका लागि भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी, लगाएत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य थिए ।

तर गाउँपालिकाले ति तगाराहरु विस्तारै हटाउँदै गएको छ । पहिला साविकका ३ गाविसहरु सक्ला, रामीडाडा, नायकबाडा, रोकायगाउँ गरी चार ठाउँमा मात्र स्वास्थ संस्था थिए ।

तर अहिले आधारभूत स्वास्वथ्य सेवा पाउने जनताको मौलिक हकको प्रत्याभूत गराउनका लागि गाउँपालिकाले ६ ठाउँमा आधारभुत सामुदायीक स्वास्थ्य इकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष मेहन्द्र बहादुर शाहले बताए ।

“हामीले ४ ठाउँमा प्रसुती केन्द्र सन्चालनमा ल्याएपछि प्रसुती सेवामा हुने गरेको धेरे समस्या समाधान भएको छ”, उनले भने “थप समस्या समाधानका लागि हामी लागि परेका छौँ ।

अहिले बारेकोटमा सडक सन्जाल पनि जोपडएकोले गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई उपचारमा थप सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईँले बताए ।

गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउन र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुन भनेर सरकारले कार्यक्रम ल्याएको धेरै भएपनि गाउँपालिकाले प्रभावकारी कार्यान्वयनमा ल्याएपछि स्थानीय निकै खुसी छन् ।