१३ असोज, काठमाडौं । सपना मगर २० वर्षकी भइन् । जीवन उनले सोचेजस्तो भइदिएन । धेरै ठूला सपना सँगालेर दैलेखबाट काठमाडौं झरेकी थिइन् । तर, अब कुनै सपना बाँकी छैनन् ।
देखेका सपना एकपछि अर्को गर्दै टुटे । आफन्त माइती भन्नु उहिल्यै छुटे । सँगै जिउने कसम खाएका खसमले सँगै बस्नै नसक्ने गरी कुटे । आश्रय लिएको सेल्टर सरकारी हाकिम आफैं आएर लुटे । २० वर्षीया सपनाको जम्माजम्मी कहानी यत्ति हो ।
सपनाले अब कुनै सपना देख्न छाडिसकेकी छन् । तर, एउटा सपना त छाड्न नमल्निे रहेछ । रुँदारुँदै थाकिसकेकी उनले भनिन्-बाँच्ने सपना पनि खोसिदिए सरकारकै हाकिमले । अझै भन्दैछन् रे, तिनीहरुलाई छाड्दिन ।
हो, सपनाको बाँच्ने सपना पनि निमोठेर मध्यरातमा उनको भित्री लुगासमेत तान्दै निकालेर सडकमा पछारे ।
असोज ७ गते मध्यरातमा डोजर र सुरक्षाकर्मीसहित धादिङको स्नेहा केन्द्रको आवास केन्द्रमा पुगेका जिल्ला वन अधिकृत इमनाथ पौडेलले आफूमाथि दुर्व्यवहार गरेको आरोप सपनाको छ ।
‘डोजरले घर भत्काउन थालेपछि हामी चिच्याउँदै उठ्यौं । हामीले राति सुत्ने भित्री लुगामात्रै लाएका थियौं । लुगा लाउँछौं भन्दा पनि डीएफओ आफैंले मेरो भित्री कपडा तान्दै बाहिर कुनामा लगे ।’ सपनाले भनिन् ‘अरुसँग मनपरी गर्न हुने, हामीसँग चाहिँ इज्जत जोगाउन खोज्ने भन्दै तल्लोस्तरबाट गाली गरे ।’
धादिङबेसीको सहयात्री समाज नेपाल नामक संस्थाले चलाएको यो सुरक्षित आवासमा घरेलु हिंसा, बेचबिखन र यौनजन्य हिंसामा परेका असहाय महिलाहरुलाई आश्रय दिने गरिएको थियो । श्रीमानको कुटाइ सहन नसकेर घर छाडेकी सपनाले पछिल्लो ११ दिनयता मात्रै त्यहाँ आश्रय लिएकी थिइन् ।
श्रीमानको कुटाइ भन्दा जिल्ला वन अधिकृतको ‘फोहोरी’व्यवहारले आफूलाई पीडा दिएको सपनाले बताइन् । ‘श्रीमानको कुटाइ सहन नसकेर आश्रय खोज्दै यहाँ आएकी थिएँ, यहाँ त मध्यरातमा सरकारकै मान्छे आएर एउटी नारीले सहन नसक्नेखालको दुव्र्यवहार भयो’ उनले भनिन् ।सपनाको संसार कसरी भत्कियो ?
सपना मगर ७ वर्षको उमेरमा काठमाडौं आएकी थिइन् घरेलु कामदारका रुपमा । बुबा उनी तीन महिनाकी हुँदै बिते । ७ वर्षको उमेरमा आमा गुमाएकी सपनाको संसार त्यसपछि भत्कियो ।
जन्मथलोमा कोही नभएपछि ७ वर्षकी सपना कर्मथलो खोज्दै देशको राजधानी काठमाडौंमा आएकी थिइन् । अर्काको घरमा काम गर्दा गर्दै नुवाकोटका तस्विर विष्टको मायाजालमा परिन् ।
तस्विरसँग विहे गरेपछि जिन्दगीको तस्विर पनि बदल्न सकिन्छ कि भन्ने ठानेकी थिएन् । तर, उनको सपना भत्कियो । दिनहुँको हिंसा सहन नसकेपछि उनी दुई साताअघि चार महिनाकी छोरी च्यापेर अनिश्चित गन्तव्यको यात्रामा निस्किन् र धादिङमा पुगेर ठोक्किइन् ।
बेवारिसे अवस्थामा गल्छीमा भेटिएकी सपनालाई सहयात्री समाजका स्वयंसेवकले भेटे र धादिङबेसीको स्नेहा केन्द्रमा पुर्याए । उनीसँग न त विहे दर्ताको प्रमाण छ, न त नागरिकता नै ।
सपनालाई मनोसामाजिक परामर्शको माध्यमबाट सामान्य अवस्थामा ल्याउने प्रयास हुँदै थियो । तर, अचानक मध्यरातमा डीएफओ इमनाथ पौडेलका कारण फेरि उनी विक्षिप्त अवस्थामा पुगेको सहयात्रीकी कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन् ।
आफूहरु बसेको घर भत्काउन थालेपछि सपनासहित अन्य हिंसा पीडित महिला र बालवालिकाहरु रुँदै कराउँदै गुहार माग्दै थिए । सपनाकी चार महिनाकी छोरी आची आयो भन्दै थिइन् ।
‘लुगा लगाएर छोरीलाई आची गराउँछु भन्दा डीएफओले छोरीलाई मबाट खोसेर बाहिर फालिदिए र मेरो शरीरमा हात हाले’ उनले भनिन् ‘प्रहरीका हाकिमले त्यसो नगर्नुस् सर भन्दा प्रहरीमाथि समेत उनी झम्टिए’ ।
डीएफओ भन्छन्-पश्चाताप छ, तर दुव्र्यवहार गरेको होइन
सपनाको आरोपलाई जिल्ला वन अधिकृत पौडेलले भने अस्वीकार गरेका छन् । उनले त्यहाँ रहेका महिलामाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै भने- तर मैले कसैलाई चलाएको छैन ।
तर, प्रत्यक्षदर्शीहरुले वन अधिकृत पौडेल आफैंले महिलाहरुलाई लछारपछार गरेको फोटो र भिडियो खिचेका थिए । ती सबै प्रमाणसहित आफूहरु मानवअधिकार आयोग र महिला आयोग गएको र त्यहाँबाट न्याय नपाए अन्तर्राष्ट्रिय समुदाय गुहार्ने राधिकाले बताइन् ।
जिल्ला वन अधिकृत पौडेलले भने मध्यरातमा हस्तक्षेप गर्नु आफ्नो बाध्यता रहेको र महिलाहरुलाई रुवाउँदै बाहिर निकाल्नु परेकोमा आफूलाई पश्चाताप लागेको बताए । ‘तर दुव्र्यवहार गरेको चाहिँ छैन,उनीहरुलाई महिला सुरक्षाकर्मीमार्फत धकेलेर बाहिर निकालेको हो’ उनले भने ।
अमरावती सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर घर बनाइएकाले त्यो भत्काउने क्रममा महिलाहरुलाई निकालिएको उनले बताए ।
सरकारी जग्गाको सुरक्षा नै गर्नु परेको हो भने पनि गणतान्त्रिक सरकारले छापामारले जसरी मध्यरातमा किन त्यहाँ जानुपर्यो ? यसबारे डीएफओ पौडेल भन्छन्- ‘दिउँसो जाँदा हामीमाथि आक्रमण हुने भएकाले मध्यरातमा जानु परेको हो ।’
डीएफओ पौडेलका अनुसार रेडियो धादिङ र हिंसा पीडित महिलाको सेल्टर वन क्षेत्र मिचेर बनाइएको छ । यद्यपि यो मुद्दा यसअघि नै सर्बोच्च अदालतमा विचाराधीन छ ।
सामुदायिक वन उपभोक्ता महासंघले पनि रातारात आक्रमण गर्ने जिल्ला वनको कार्यको बिरोध गरेको छ ।
पीडा सुनाउन काठमाडौंमा
अन्यायमा परियो भन्दै प्रमुख जिल्ला अधिकारीकोमा पुगेका महिलाहरुलाई उल्टै गालीगलौज गरिएपछि उनीहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौं आए । तर, प्रधानमन्त्रीले भेट्न नचाहेपछि उनीहरुले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर आफ्ना पीडा सुनाए ।
मध्यरातमा लखेटिएका र दुर्व्यवहारको शिकार भएका महिलाहरुको रुवाबासी चल्दा एमाले केन्द्रीय कार्यालयमा मंगलवार साँझ केहीबेर कोलाहल छायो । महिलाका पीडा सुनेपछि देशका दुई पूर्वप्रधानमन्त्री केपी ओली र झलनाथ खनाल पनि आक्रोशित भए ।
ओलीले पीडित महिलाहरुलाई आश्वासन दिँदै भने- तपाईहरुमाथि अत्याचारमात्र होइन, गुण्डागर्दी भएको रहेछ । सरकारले सम्बन्धित सरकारी अधिकारीमाथि कारवाही गरेन भने एमालेले राम्रैसँग सम्झाउन जानेको छ ।
धादिङका सांसद राजेन्द्र पाण्डेले रेडियो धादिङ र सहयात्री महिलामाथिको मध्यरातमा गरिएको आक्रमण राजनीतिक आग्रहबाट प्रेरित रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारी र वन अधिकृतले हिंसा पीडित महिलामाथि आफैंले दुव्र्यवहार गरेर न्याय पाउने सबै ढोका बन्द गरिदिएको बताए ।
हार्ने सपनामात्रै ?
सबैका आ-आफ्नो बाध्यता होलान् । जित र हारको लडाइँ पनि होला यो । एउटाले भत्काएर जित्ने, अर्कोले अदालतको फैसलाबाट जित्ने खेल पनि चलिरहला । तर, सपनाको संसार चाहिँ त्यसपछि पनि अन्धकारमै हुनेछ । जन्मदिनेहरु गुमाएर कर्म दिनेको खोजीमा उनी काठमाडौं आइन् । कर्म दिनेले धोका दिएपछि शरण दिने खोज्दै धादिङ पुगिन् । अब त सपनाको अब शरण पनि लुटिएको छ ।
‘भोलि उठी कहाँ जाने केही थाहा छैन ।’
स्वर सम्राट नारायण गोपालको यो गीत सायद यिनकै लागि पो हो कि ? साभार onlinekhabar.com
प्रतिक्रिया दिनुहोस्