जेष्ठ ८, २०८१ मंगलबार

छातीमा लाग्यो, उनी ढलिन् : मेरो हातबाट उनको हत्या भयो



hatya_arghakhanchiअर्घाखाँची, ४ कात्तिक-  धनचौर–५ की ३४ वर्षीया कल्पना भुसालको हत्या आरोपमा सोही गाविसका ३५ वर्षीय गणेश भुसाल र उनका बाबु ५९ वर्षीय खेमराज भुसाललाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत १८ असोजमा दसैँका लागि समान किन्न घरबाट हिँडेकी कल्पनाको हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोपी गणेशले भने, ‘मैले कल्पनालाई सम्झाउँदै  घर जाऔँ भन्दै थिएँ उनले मानिनन् । यसै कुरामा विवाद बढ्यो । मलाई कुममा टोकिन्, मैले गालामा हान्छु भन्दा छातीमा लाग्यो, उनी ढलिन् । मेरो हातबाट उनको हत्या भयो । त्यसपछि फाल्न बुबाले सहयोग गर्नुभयो ।’

अभियुक्त गणेशले हत्या गरी शवलाई नदीमा फालेको बयान दिएकै आधारमा प्रहरीले २४  असोजमा जलुके–२ को छेकुवाको जंगलस्थित राप्ती नदी किरानामा शव फेला पारेको थियो ।

प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बाबुछोरा दुवैको संलग्नता रहेको आशंकामा २२ असोजमा गणेशलाई प्रक्राउ गरेको र गणेशको बयानका आधारमा २३ असोजमा बाबुलाई पक्राउ गरेको बताए । अभियुक्तहरूले रातको समयमा  हत्या गरेपछि प्युठानको झिम्रुक नदीमा लगेर शव फालेका थिए ।

घटनास्थलदेखि झिम्रुक नदीसम्म पुग्न करिब दुई–अढाई घन्टा पैदल यात्रा गर्नुपर्छ । कल्पनाका श्रीमान् भीमलाल भुसालले अभियुक्त गणेशले पैसाका लागि हत्या गरेको बताए । घटनापछि गणेश आफैँले मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकाले खोजी गरिदिन प्रहरीमा निवेदन दिन लगाएका थिए ।

कल्पना र गणेशबीच लामो समयदेखि अवैध सम्बन्धसमेत रहँदै आएको स्थानीयको आरोप छ । नाताले उनीहरू जेठाजु–बुहारी हुन् । साथै, गणेश धनचौरमा रहेको सूर्यकिरण कृषि सहकारी संस्थाको अध्यक्ष हुन् भने कल्पना सोही सहकारीकी प्रबन्धक थिइन् ।