बैशाख १२, २०८१ बुधबार

पञ्जैबाजा महिलाको, गयो जमाना पहिलाको



panche-baja५ कार्तिक, रूकुम – प्रायः विबाह, पुजाआजा र कार्यक्रमहरूमा बाजा बजाउनेका पुरूषहरूले गरेको देखिन्छ । तर रूकुम सदरमुकाम मुसीकोटमा एउटै पोशाकमा सजिएका महिलाहरू बाजा बोकेर निस्कन्छन् । कुनै औपचारिक कार्यक्रम होस् वा मेलापर्व पञ्चैबाजा महिलाले बजाउँछन्, संकृति जोगाउछन र धन पनि कमाउँछन् ।

मुसिकोट १ सालघारीका महिला पञ्चैबाजा आमा समूहमार्फत यस अभियानसाथ यसमा लागेका हुन् । बाजा बजाएबापत उनीहरूले लिने पारिश्रमिक समूहकै नाममा बचत गर्छन् । नियमित बैठक बस्ने, बचत गर्ने तथा सार्वजनिक कार्यक्रममा पञ्चैबाजा बजाउने गरेको समूह अध्यक्ष हीराकुमारी परियारले बताइन् । सदरमुकामको सरकारी तथा औपचारिक कार्यक्रममा उनीहरूको उपस्थिति अनिवार्यजस्तै छ । पछिल्लो समय परम्परागत बाजा लोप हुँदै गएकाले ९ महिनादेखि आफूहरू यसको संरक्षणमा लागेको परियारले बताइन् ।
‘पुरुषले मात्रै बजाउने बाजालाई संगठित भएर बजाउँदा सकारात्मक सन्देश दिएको छ,’ उनले भनिन्, ‘पुरुषकै सहयोगमा बजाउन सिकेर औपचारिक कार्यक्रममा सहभागिता जनाएका हौं । यसले परम्परागत बाजा संरक्षणमा समेत सहयोग पुर्‍याएको छ ।’ ग्रामीण क्षेत्रमा समेत बाजा लोप हुन लागेका बेला महिलाको उक्त अभियान उदाहरणीय बन्दै गएको छ ।
उनीहरूले गत माघमा बाजा महिला समूह गठन गरेका थिए । समूहमा आबद्ध १० महिला बाजा बजाउन निकै सिपालु छन् । सबैखाले धुन बजाउने गरेको महिलाले जनाए । अध्यक्ष परियारले कार्यक्रममा गएर बाजा बजाएबापत एक दिनको ५ हजार पारिश्रमिक लिने गरेको जानकारी दिइन् । समूहको खातामा रकम जम्मा गरेकाले सामूहिक काममै खर्च गरिने उनको भनाइ छ । उक्त रकम पञ्चैबाजा संरक्षणकै लागि खर्च हुने उनले जनाइन् । ‘आफ्नो सीपलाई व्यावसायिक बनाउँदै लगेका छौ,’ परियारले भनिन्, ‘त्यसैले सदरमुकाममा हुने सबै कार्यक्रममा हामीलाई बोलाइन थालिएको छ ।’ समूहमा दलितमात्र होइन, क्षेत्री महिला पनि सहभागी छन् ।
पहिले पहिले बाजा बजाउन अप्ठ्यारो लागे पनि अहिले जुनसुकै कामका लागि बजाउन सकिने उनीहरूको भनाइ छ । सरकारी कार्यक्रममा बाजा बजाउने उनीहरूलाई अहिले सबै क्षेत्रको सहयोग र सद्भाव छ । ‘महिनामा आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागी हुने गरेका छौँ । यसले समूहलाई आत्मनिर्भर बनाएको छ,’ उनले भनिन्, ‘बाजासँगै अन्य परम्परागत संस्कृतिको संरक्षणका लागि काम गर्ने योजना छ । व्यावसायिक बन्दै गएकाले आगामी दिनमा यसैबाट आत्मनिर्भर पनि बन्ने अपेक्षा छ ।’