जेष्ठ ७, २०८१ सोमबार

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान आजदेखि



१० मंसिर, – ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।
घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर १० देखि २५तिर) सम्म मनाइने दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा थुप्रै कार्यक्रम गरिने छ । सो अनुसार हाजिरीजवाफ, किशोरकिशोरीलाई अभिमुखीकरण, महिलाका विषयमा भएका कानुनका विषयमा जानकारी, महिला हिंसाविरुद्धका नाटक आदि प्रस्तुत गरिने छन् ।

लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।

हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५(महिला विरुद्धको अन्तराष्ट्रिय दिवस)बाट सुरु गरी डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानवअधिकार दिवस) सम्म अभियान सञ्चालन गरिन्छ ।

presidentofnepalयसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।

जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् तर बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी जस्ता कुप्रथा कानुनले निषेध गरिसक्दा समेत अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि हाम्रो समाजमा उनीहरु हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य छन् भन्दै राष्ट्रपतिले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्ने र महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।

सामाजिक रुपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहन गरी उनीहरुविरुद्ध हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् ।