जेष्ठ ७, २०८१ सोमबार

१६ दिने अभियान कहिले थाहा पाउने यहाँका महिलाले ?



१२ मंसिर, जाजरकोट – जाजरकोट सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जंगल लागिन् । जयकुमारीका श्रीमान अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओछ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए ।

भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको प्रस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्किन् र छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थालिन् ।

नशामा लठ्ठ परेका जयकुमारीका श्रीमानको निन्द्रा खुलेलगत्तै पुनः मदिरा सेवन गर्दै खाना बनाउन ढिला गरेको भनेर श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लठ्ठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर जंगल गएको र स्याउलाको भारी बिसाएको पत्तै थिएन । उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुन थालिन् ।

त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतीकलाबाट दुई छोरा छन् । रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमानको धम्की सहेर घरमै बसिरहेकी छिन् । उनका श्रीमानले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिलालाई आफ्नो अधिकार के हो थाहै छैन । सहनु र दुःख पाउनुलाई भाग्यको दोष सम्झन्छन यहाँका महिला । चेतनाको कमीले दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नुपर्ने बाध्यता छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमानले नबनाइदिएका कारण कानुनी उपचार खोज्न लड्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताए ।

‘छोराछोरी भइसके केलाई चाहियो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता ? भन्छन् गाउँका मान्छे जस्तै चिन्तनका कारण थप समस्या आएको हो’ पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताए ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकोबारे यहाँका महिला बेखबर छन् । सूचना, प्राविधिको पहुँच नभएको जाजरकोटका गाउँमा सदरमुकामबाहेक अन्य ठाउँका महिलालाई १६ दिने अभियानका विषयमा जानकारी छैन । गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताइन् ।

सामाजिक संघसस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन हुने धेरैजसो महिलाका कार्यक्रममा श्रीमतीलाई घरमा काम लगाएर श्रीमान् जाने गर्दछन् । कयौ श्रीमानले कार्यक्रममा श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउनेसमेत गर्नाले आफ्ना अधिकारका विषयमा जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयंसेवी कृष्णकुमारी शाहीले बताइन् । वर्षैँभरि काम मात्र गर्ने, नियमित सरसफाइ अनि पोषिलो खाना पनि नपाउने यहाँका ग्रामीण क्षेत्रका महिलाको जीवन पद्धति दयनीय रहेको छ ।