बैशाख १८, २०८१ मंगलबार

गर्भवतीलाई टेलिफोनबाटै परीक्षण गर्ने निम्तो



satea-1सल्यान, ४ पुस –  गर्भवती महिलाहरूलाई नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थाले टेलिफोन गर्दै निम्तो दिन थालेको छ । आमा र जन्मने बच्चाको सुरक्षित स्वास्थ्यका लागि जिल्लाको धनवाङ स्वास्थ्य चौकी, कपुरकोटले गर्भवती महिलाहरूलाई फोन गरी जचाउन स्वास्थ्य चौकीमा बोलाउने गरेको छ ।

स्वास्थ्य संस्थामा भएको गाउँ स्वास्थ्य योजना निर्माण कार्यक्रममा सो स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्रकुमार सेनले स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँच गराउन आएका महिलालाई संस्थाको रेकर्डमा राखी उनीहरूलाई वा उनीहरूको घरपरिवारका सदस्यलाई फोन गरी अर्काे जाँचका लागि सम्झाउने गरेको बताए ।

‘हामीले गर्भवती महिलालाई गर्भको जाँच गराउने दिनको ३÷४ दिनअघि नै अर्काे जाँचका लागि सम्झाउने गरेका छौं,’ उनले भने । सोही क्रममा गर्भवती महिलाहरूलाई गर्भ जाँचको बारेमा जानकारी दिँदै उनले भने, ‘पहिलो जाँच  गर्भ रहेको ४ महिनामा, दोस्रो जाँच ६ महिनामा, तेस्रो जाँच ८ महिनामा र चौंथो जाँच ९ महिनामा अनिवार्य गराउनु होला ।’

यसको अलावा परिवार नियोजनका अस्थायी साधन प्रयोग गरिरहेका महिलाहरूलाई पनि टेलिफोन गरेरै संस्थामा बोलाउने गरिएको इन्चार्ज सेनले जनाए । उनले भने, ‘हाम्रो स्वास्थ्य संस्थाबाट परिवार नियोजनका साधन पुनः प्रयोग गर्ने समय भएका महिलालाई फोन गरेरै जानकारी गराउँछौं ।’

यस्तो व्यवस्थाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउन आउने महिलाको संख्यामा वृद्धि भइरहेको तथा परिवार नियोजनका साधन प्रयोग गर्नेको दर पनि बढिरहेको स्वास्थ्य संस्थाले जनाएको छ । फोन गर्दा लागेको खर्च स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले आन्तरिक कोषबाट व्यवस्थापन गरिरहेको समितिका अध्यक्ष टुकाराम ओलीले बताए ।

यसैबीच आइतबारको गाउँ स्वास्थ्य योजना निर्माण कार्यक्रममा बाल स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, समुदाय परिचालन, स्वास्थ्य संस्थाको स्तर वृद्धिका लागि विभिन्न योजनाहरू बनाइएको छ । ती योजनाहरू आसन्न गाउँ परिषद्मा पेस गरिने इन्चार्ज देवेन्द्र कुमार सेनले जनाएका छन् ।