बैशाख १५, २०८१ शनिबार

सङ्घर्षशील एकल महिला लालकुमारी



गुल्मी ।  उखानै छ, श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्रा नभए रथ कसरी गुड्ला, सोँच्दा पनि कहाली लाग्छ । तर, जीवनभरलाई जोडेको रथको एउटा पाङ्ग्रा छुटेपछि त्यही एक पाँग्राको रथ गुडाउन बाध्यता आईलागेको छ सत्यवती २, चेहेमीकी लालकुमारी कुँवरलाई । रथ गुडाउने सहारा बनेको छ कृषि र मजदुरी ।

पेट पाल्न र छोरीलाई राम्रो शिक्षादिक्षा दिन मजबुरीले लालकुमारी मजदुरी गर्नुभयो । गिटी, बालुवा, सिमेण्टको मसला बनाउने कामदेखि गैटी, बेल्चाको कामसम्म, खेती किसानीको कामदेखि बाख्रा कुखुरा पालनसम्म उहाँको जीवनको कर्म बन्यो । ‘विवाह गरेको १४ वर्षमै श्रीमान् बित्नुभयो, उहाँ ३९ वर्षको म ३५ वर्षको थियौ’, उहाँले भन्नुभयो, ‘उहाँको उपचारमा लागेको ऋण, १२ वर्षको ७ कक्षामा पढ्ने नानी, खेती गर्ने जग्गा जमिन थिएन, दुःख त कति भयो कति ।’

श्रीमान् वितेपछि घरपरिवारले अंश दिन धेरै आनाकानी गरे । आफन्तको पहलमा अंश त मिल्यो तर ऋण धेरै भएकोले साहुले दामासाहीमा लगे । खेती गर्ने जग्गाको नाममा घर नजिकै थोरै करेसाबारी मात्र थियो । त्यसैले छोरी पाल्न र पढाउनका लागि उहाँले मजदुरी गर्न थाल्नुभयो । ‘ऋण तिर्नका लागि खेत बेचेपछि खेती गर्ने जग्गा छैन, छोरी कसरी पाल्नेहोला भनेर धेरै महिना रातभरी रुन्थेँ, सहयोग गर्ने कोही थिएनन्’, उहाँ भन्न्ुहुन्छ, ‘पछि विस्तारै मजदुरी गर्ने काम गर्न थालेँ ।’

कुनै काममा मिहिनेत गर्नुसम्म गरेर पनि सफल हुन नसकेपछि धेरैले हार मान्छन् र भन्छन् – क्यार्नु त नी कर्मैले नदिएपछि । तर लालीलाई त्यो भन्ने छुट भएन । छोरीको मायाले सबै काम गर्नुपर्‍यो । पछि उहाँले गाउँमै १० मुरी धान फल्ने खेत भाडामा लिएर खेती गर्न थाल्नुभयो । आफैले फलाएको धान, मकै, गहुँ, मसुरोले खान पुग्न थाल्यो । मजदुरी गरेको पैसाले छोरी पढाउने गर्न थाल्नुभयो । धेरथोर समूहमा पनि बचत हुन थाल्यो । पैसाको जरुरी पर्दा अरु उपाय केही नभएपछि लघुवित्त समूहमा सदस्य बनेर चर्को व्याजमा भएपनि ऋण लिने र चलाउने गर्न थाल्नुभयो ।

‘बिहान कुखुरा बाख्रा हेर्ने, दिउँसो काममा हिँड्ने, बेलुका फेरी कुखुरा बाख्रालाई घाँस दाना खुवाउने गर्थेँ, एकदम दुःख थियो कामको’, उहाँ भन्नुहुन्छ, ‘त्यही दुःख गरेर छोरीलाई बीए पढाएँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि त्यसमा काम गरेर पनि उहाँले खर्च जुटाउनुभयो । छोरीको विवाह गर्दा अलिकति खर्च भयो तर पनि दुःखले हुर्काएर पढाएकी छोरीको धुमधाम विवाह गरिदिन पाएकोमा निकै खुसी हुनुहुन्छ लाली । ‘दुःखले हुर्काएकी नानी हुन्, रहरको बिहे गरिदिन पाएकोमा खुसी छु’, उहाँले भन्नुभयो ।

केही वर्षदेखि भने उहाँ मजदुरी भन्दा व्यवसायिक रुपमा तरकारी खेती, लोकल कुखुरा र बाख्रापालन गरिरहेकी छन् । त्यसबाट राम्रै आम्दानी भएको उहाँको भनाई छ । ‘अहिले मात्रै ४ वटा बोका बेचेँ, २०/२५ हजारको कुखुरा बेच्छु, तरकारी पनि हल्काफुल्का बेचिन्छ’, उहाँले भन्नुभयो, ‘यसबाट पनि राम्रै कमाइ हुन्छ ।’ काम भनेपछि उनलाई खुसी लाग्छ । त्यसैले उहाँको मिहिनेतको सबैले सम्मान गर्छन । ३/४ वटा समूहमा बचत पनि छ ।