बैशाख २३, २०८१ आईतबार

बोल्न नसक्ने बालिकालाई जंगलमै सामुहिक बलात्कार



rape
                                 प्रतिकात्मक तस्विर

१०पुस, काठमाडौं  – झाप्रा–१, जाजरकोटकी १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । गाउँ नजिकै लागेको मेलाबाट जंगलको बाटो फर्कने क्रममा बिहीबार उनी बलत्कारमा परेकी हुन् । बालिका बोल्न नसक्ने अपाङ्ग छिन् ।

बलात्कारको अभियोगमा झाप्रा-२ का २० वर्षीय विश्व थापा र १ का २२ वर्षीय पदम महरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा परेकी ती बालिका साथीहरुसँगै मेला गएकी थिइन् । थापा र महरले बोल्न नसक्ने किशोरीलाई समातेपछि उनका अन्य साथीहरुले भागेर घर पुगेका थिए । मेला गएकी छोरी रुँदै घर फक्रिएपछि बलात्कारमा परेको थाहा भएको र तत्काल प्रहरीलाई खबर गरेको बालिकाका बुवाले बताए । भागेका साथीहरुले दिएको हुलियाका आधारमा प्रहरीले थापा र महरलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । नजिकैको जंगलमा लगेर महर र थापाले हात समातेर पालैपालो बालिकालाई बलात्कार गरेको प्रहरी निरीक्षक बोहराले बताए ।

बालिकाको मुख थुनेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘किशोरीका कपडा च्यातिएका छन् । घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कार भएको देखिन्छ,’ प्रहरी निरीक्षक बोहराले भने । किशोरी बोल्न नसक्ने भएकोले घटनाबारे थप अनुसन्धान गर्न गाह्रो भएको उनको भनाइ छ । बलात्कृत बालिकाका बाबु पनि कान नसुन्ने र पीडित बालिका पनि बोल्न नसक्ने हुँदा संकेत बुझ्न सक्ने उनका साथीहरुलाई कार्यालयमा बोलाएर थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बोहराले बताए । पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गर्न लागेको प्रहरी निरीक्षक बोहराले बताए । ‘अपाङ्गलाई जबर्जस्ती करणी गरे सामान्य भन्दा दोब्वर सजाय हुने कानुनी ब्यवस्था छ,’ उनले भने । स्वास्थ्य परीक्षणबाट पनि बालिका बलात्कृत भएको चिकित्सकले पुष्टि गरेको उनले बताए ।

महिला तथा बालबालिका कार्यालयले बालिकालाई कपडा किन्न र सदरमुकाममा खानबस्ने ब्यवस्थाका लागि ६ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख शकुन्तला आचार्यले बताइन् । घरको आर्थिक अवस्था कमजोर भएकी ती बालिकाको संरक्षण र कानुनी उपचारका लागि थप पहल गर्ने कार्यालय प्रमुख आचार्यले बताइन् । बलात्कारका घटना गाउँघरमै रकम लेनदेनमा मिल्ने र अपराधीले उन्मुक्ती पाउने अवस्था आउन नदिन कार्यालय सचेत रहेको उनले बताइन् ।