बैशाख २३, २०८१ आईतबार

प्रहरीले तोक्यो बलात्कार प्रयासको मूल्य ५० हजार



rape-1वीरगन्ज –  बलात्कारको प्रयास गर्न खोज्ने धनबहादुर मगरलाई ५० हजार रुपैयाँ जरीवाना तिराएर उन्मुक्ति दिइएको छ । पर्साको सुवर्णपुरमा गत बिहीबार घर नजिकैको खेतमा बाख्रा चराउन गएकी ३४ बर्षीया महिलालाई जबरजस्ती बलात्कार खोज्ने सुर्वणपुर गाविस १ का ५८ बर्षीय मगरलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिइएको हो ।

प्रहरी चौकी सुवर्णपुरमा शनिबार भएको छलफलमा आरोपित मगरले अब आइन्दा यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि उनलाई ५० हजार रुपैया जरीवाना तिराएर छोडिएको पीडित महिलाका ससुराले बताएका छन् । मगरलाई जरिवाना बापत तिराइएको रकम स्थानीय बाघ भीमसेन उपभोक्ता समूहमा राख्ने निर्णय भएको पनि उनले बताएका छन्।

‘हामीले त मुद्दा चलाउन भनेका थियौं, तर गाँउका अगुवाहरुले माफ गरिदिनु पर्छ भनेर आग्रह गरे’, पीडित महिलाका ससुराले भने ,‘मेरी बुहारी र ति बुढका छोरी साथी हुन्, उनले पनि एक पटकका लागि माफ गरिदिनुस् भनेर रोइकराई गरेपछि दया लागेर आयो ।’

छलफलमा सहभागी गाउँका अगुवाले आरोपित मगरलाई तिराइएको ५० हजार रुपैयाँ उपभोक्ता समूहका लागि सरसामान किन्नका लागि खर्च गर्ने निर्णय गरेको छ । प्रहरी चौकी सुर्वणपुर परिसरमा शनिबार भएको छलफलमा गाँउका अगुवाहरु, राजनीतिक दलका नेता, महिला सञ्जालका प्रतिनिधी, प्रहरीलगायतको उपस्थिती रहेको थियो ।

प्रहरी चौकी सुवर्णपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक उमेश महत्तोका अनुसार पीडित महिलाले बिहीबार उजुरी दिएकी थिइन । यद्यपी शुक्रबार मुद्दा चलाउन नमानेपछि प्रहरीले जरिवानामा मुद्दा मिलाएको हो । गाउँलेले दुवै पक्षलाई राखेर मेलमिलाप गरेपछि प्रहरीले मगरलाई छोडेको बताएको छ । आरोपित मगरलाई ५० हजार रुपैयाँ जरीवाना तिराइएको विषयमा आफूलाई जानकारी नभएको प्रहरी सहायक निरीक्षक महत्तोले बताएकाे अन्नपूर्ण पाेष्टमा समाचार छ।