जेष्ठ ६, २०८१ आईतबार

माया गरेर होटलमा भेट्न जाँदा प्रेमी नै काल बन्यो



Tulasa-acid-attackबुटवल – आफ्नी प्रेमीका भेट्न धादिङ्गबाट बुटवल पुगेका एक यूवाले होटलमा बोलाईएकी प्रेमीकालाई एसिड खन्याएर हत्या गरेका छन् । धादिङ नौबिसे–१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट – ५ की २७ वर्षीया तुलसा सापकोटामाथी एसिड खन्याएका हुन् । गम्भीर घाइते भएकी युवतीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यू भएको छ ।
उनीहरु दुवैजना आईतबार राती बुटवल– ६ स्थित मेरिडियन होटलमा बसेका थिए । तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले राती एसिड खन्याएका थिए । युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
अनुहार, टाउको र शरिरमा एसिड लागेको तुलसालाई तत्कालै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गरेपनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलाई काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवकले एसिड हानेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए । प्रहरीसंगको बयानमा उनले आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको बताएका छन् ।
प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं९७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।