आश्विन १८, २०८१ शुक्रबार

काम चलाउ डाँडीमा हुर्कदैँ गरेको आमाको सपना



प्यूठान- प्यूठान नगरपालिका–३ विजयनगर चक्रिवाङकी गोमा कुमालका चार छोरी र एक छोरा छन् । जेठी छोरी पूँजा र माइली परान्तीले चार कक्षामा, साइली अनिषाले तीन र कान्छी बिनिताले एक कक्षामा पढ्छन । चारै जना छोरीहरु हुर्किसके । जेठी छोरी १२ वर्ष, माइली नौ, साइली आठ र कान्छी छोरी ६ वर्षका भए । एउटा छोरा आशिक दुई वर्षका छन् । छोराको प्रत्यक्ष रेखदेखि गर्नुपर्ने छ ।

Dadi

साना बच्चाहरु सुत्न खोजेपछि गाउँघरमा अझैपनि डाँडीमा राखेर सुताउने गरिन्छ । कुनै समयमा गाँउघरमा पाइने बाँसका डाँडीहरु बनाएर पनि छोराछोरीलाई सुताउने गरिन्थ्यो । सवै छोरीहरुलाई गोमाले कपडा(चुन्डी)को डाँडीमा सुताएरै हुर्काइन् । सम्पन्न परिवारकी हुनेथिइन त, उनले बजारमा पाइने राम्रो डाँडीमा सुताउने थिइन् होला ।

तर, विपन्न परिवारकी कुमालले सामान्य कपडा(चुण्डी)को डाँडी बनाएर पाँच सन्तानलाई हुर्काएकी छिन् । हिजोआज बाँसका कलात्मक डाँडी बनाउनेहरु गाउँमा पाइन छाडेका छन् । धेरैजसोले कपडाकै डाँडी बनाएर छोराछोरीलाई सुताउने गरेका हुन्छन् । गाउँघरमा धेरैजसोले बजारमा पाइने ‘रेडिमेट’ डाँडीहरुको प्रयोग गर्न थालेका छन् ।

‘चार छोरीहरुलाई यसैगरी हुर्काए÷बढाएँ’,गोमाले भनिन्,‘कान्छो छोरा पनि दुई वर्षको भइसक्यो ।’ सामान्यतया छोराछोरी दुइवर्षसम्म नपुग्दासम्म डाँडीमा सुताउने गरिएको उनी बताउँछिन् । घरभित्रका ‘धुरीखाबा’मा वारीपारी कपडा(चुन्डी) बाँधेर उनले डाँडी बनाएकी छिन् । कमजोर कपडा भएमा चुडिने समेत खतरा हुने गर्छ । तर, उनी भन्छिन्,‘अहिलेसम्म त्यस्तो भएको छैन् । अव नहोलाकी ?’ ।

छोराछारीलाई सुताउने कपडाको डाँडी उनको उदाहरणीय दृश्य हो । आर्थिक अवस्था कमजोर भएकै कारण उनले कष्टपूर्ण दैनिकी विताउन बाध्य छिन् । छोराछोरीको स्यहारसुसार गर्ने र विरामी श्रीमानको रेखदेख गर्ने एक्लो जिम्मेवारी उनको काँधमा छ । श्रीमान् ज्ञान बहादुर कुमाल झण्डै तीन वर्षदेखि ओछ्यानमा मृत्यसँग संघर्ष गरिरहेका छन् ।

छोराछोरीले राम्रोसँग खानाखाने र पढ्न पाएका छैनन् । २०७२ वैशाखमा स्वर्गद्धारीको खालमा दुर्घटनामा परेर ज्ञान बहादुरको मेरुदण्ड भाँचिएको छ । उनी ओछ्यानमै दिसापिसाव गर्नेगरी ढलेका छन् । मलेशिया जानको लागि भिसा कुरीरहेका कुमाल दुर्घटनामा परेपछि सवै सपना ‘चकनाचुर’ भएर नउठ्ने गरी ढलेका छन् ।

श्रीमानको उपचार गर्दा लागेको ऋण तिर्न र छोराछोरी पाल्नमै गोमालाई दैनिक पिरलो हुने गरेको छ । ‘होटलमा काम गरेर छोराछोरी र श्रीमानलाई पालेकी छुँ’,उनी भन्छिन्,‘चर्केको घरपनि एक महिना अघि भत्कियो । आजभोली गोठमा बसेका छाँै ।’ सात जनाको परिवार कष्टपूर्ण दैनिकी विताएर बसीरहेका छन् ।

होटलमा काम गरेर जसोतसो घरखर्च धानेपनि बस्नका लागि सुरक्षित ठाउँ नहुँदा समस्या भएको कुमालले गुनासो गरिन् । ‘दुःखभरी गरिवलाई नै पर्दोरहेछ’,उनले भनिन्,‘श्रीमान् ओछ्यानबाट उठ्न सक्नुहुन्न । छोराछोरी साना छन्। कसरी जीवन चलाउने होला ?’ परिवारको पालपोषणका लागि धेरै संघर्ष गर्नुपरेको उनले दुःख सुनाईन ।