आश्विन २०, २०८१ आईतबार

बम पड्काएपछि भित्रिए बुहारी



गुल्मी – ‘देख्दाको भिर हो, खानी त खिर हो, देउ छोरी अर्बेनीमा’ – चार वर्ष पहिलासम्म गुल्मीको अर्बेनीबासीले छोरी माग्न जाँदा यो उखान भनेर मात्र दुलहीको माईतिलाई फकाउनुपथ्र्यो । विचमा ठूलो फाँट र गाउँ रहेपनि दुवैतिर ठूला पहराहरुको कारण गाउँबाट बाहिर जाने र आउने बाटो नभएको कारण बुहारी भित्र्याउन पनि समस्या थियो ।

मुरीका मुरी धान फलाउने गाउँलेहरु पशुपालन गरेर पाथीका पाथी घिउ बेच्थे । खान लाउन र आर्थिक रुपमा गाउँमा कुनै कुराको अभाव थिएन, थियो त गाउँ बाहिर आवतजावत गर्ने मोटरबाटो । २०५४ तिर वरीपरी मोटरबाटो खोल्ने लहर चल्यो । त्यहाँका जनता र नेता पनि सडक खोल्नका लागि पहल गरे । तर बीचमा थियो १४ किलोमिटर कडा चट्टान । त्यो बाध्यताले त्यहाँका जनता र नेताले धेरै विकल्पहरु खोजे ।

उक्त समस्या समाधानका लागि गाउँलेले थुप्रै प्रयास गरे, चट्टानी भित्र काटेर गोरेटो बाटो बनाउन समेत सकेनन् । माओवादीले युद्ध गरीरहेको थियो । स्थानीय शिक्षक नरेन्द्र प्रसाद न्यौपानेलाई एउटा जुक्ति फु¥यो – माओवादीले पड्काउने बम ल्याउने र बाटो खोल्ने ।

‘त्यो बेला स्कूल विदा भएपछि माओवादी खोज्दै रातारात भार्सेमा पुगेर गाउँको समस्या राखेँ,’ उनी भन्छन् – ‘त्यतिबेलाका नेता सुदर्शन बरालको टोलीले आएर गोलाङखोलाको पहरोमा बम पड्काएपछि बाटो खन्ने काम शुरु भयो ।’ त्यही उपाय अहिले अर्वेनीको मुहार फेर्ने आधार मात्र बनेन भारत देखि चीनसम्म जोड्ने कालिगण्डकी करीडोर बन्यो ।

पहिला लहरा समाउने भिर अहिले भारत चिन जोड्ने मार्ग

भिरमा लहरा समाउँदै घरखर्च लिन हिँडेको संगैको दौँतरी पूर्ण बहादुर घोप्टेसालबाट कालिगण्डकीमा खसेर मरेको ठाउँमा अहिले सर्रर्र जिप हिँड्दा गुल्मी जयखानीका जोग प्रसाद क्षेत्री अहिले पनि भक्कानिन्छन् ।

‘भिरमा लहरा समाएर हिँड्ने हो, डोको बोकेर कुरा गर्दै हिँड्दा उछिट्टिएर कालिमा खस्यो, मेरो साथी विचरा, कस्तो मिल्थ्यौँ’ – पुरानो कुरो सँम्झँदै जोग प्रसाद भन्छन् – ‘कस्ले कल्पना गरेको थियो र यो लहरामा झुण्डिएर हिँड्ने ठाउँमा अहिले सर्रर्रर्र मोटर गुड्ला भनेर । अहिलेजस्तो भए त मर्ने थिएन नि, विचरा !’

हिँड्ने गोरेटोको अवभावमा खत्री जस्तै सास्ती व्यहोरेका गुल्मीको क्षेत्र नं. १ का आधा दर्जन, बाग्लुङ्ग र पर्वतको एक दर्जन गाविसका गाउँलेहरु अहिले सर्रर्रर्र मोटरमा हिँड्न पाउँदा निकै खुसी छन् । करीव १४ किलोमिटर पूरै पहाडी कडा चट्टान नेपाली सेनाले ब्लाष्टिङ्ग गरेर ७ मिटर चौडा सडक निर्माण गरेको छ ।

अर्वेनी गाउँका भगवान सुदर्शन

अर्वेनीका जनताले ठूलो पहल गरेर मोटरबाटो निर्माणको प्रकृया शुरु गरेपनि कालीगण्डकी करीडोरको सर्भे गर्ने समयमा अर्वेनी गाउँभन्दा तल सेतीबेनीबाट गरीयो । अर्वेनीका जनता फेरी जिल्ल परे । २०६४ सालमा सुदर्शन बराल सभाषद निर्वाचित भएपछि उनीहरुले फेरी हार गुहार गरे अनि पुनः गाउँबाट बाटो खन्नेगरी सर्भे गरीयो ।

‘हामी बिच परीयो, अव तलबाट खनेपछि पहिरोले न गाउँ रहन्छ, न बाटो भनेर हामीले कुरा गरयौँ’ अर्बेनीका नरेन्द्र न्यौपानेले भने ‘उहाँले सर्भे टोली ल्याएर गाउँबाट सर्भे गराउनुभयो, पछि राष्ट्रिय योजना आयोगका सचिव यूवराज भुसाललाई ल्याएर यहिँबाट बाटो खन्ने निर्णय गराउनुभयो, त्यसैले सुदर्शन त अर्वेनीका लागि भगवान जस्तै हुनुभयो ।’

हिँडेर आउँदिन भनेका प्रदिप गाडी चडेर आए

शुरुमा चट्टान फुटान नसकेपछि रुद्रवेणी हर्मिर्चार पूर्तिघाट कुश्मिसेरा बाग्लुङ्ग भनेर बाटो दर्ता गरेको र त्यसबाट बाटो खन्न सक्ने कुनै उपाय नलागेपछि २०५८ सालमा पश्चिमाञ्चलका १६ जिल्लाका जनप्रतिनिधीहरु पाल्पाको श्रीनगरमा भेला भएर पश्चिमाञ्चललाई जोड्ने सडक बनाउने निर्णय गरेको करीडोर सरोकार समुहका प्रवक्ता टिकाराम ढकालले बताए ।

२०५७ सालको फागुनमा कालिगण्डकी ‘ए’ जलविद्युत परीयोजनाबाट ५० लाख रुपैयाँ विनीयोजन गरी काम शुरु गरीएको र २०६२ मा असारको १४ गते तम्घास बजार पिच गर्ने विषयको अध्ययन गर्ने क्रममा राष्टिय योजना आयोगका तत्कालिन उपाध्यक्ष शंकर शर्मा आउँदा कालिगण्डकी करीडोरको हवाई सर्भे गराईएको थियो ।

त्यसपछि गाउँमा पुगेका प्रदिप ज्ञवालीलले अव मोटर नचढी आउँदैन भनेर प्रतिवद्धता जनाएका थिए । अघिल्लो वर्ष करीडोरको उद्घाटन गर्न उनी गाडी चढेर पुगे । ‘बोलीमा पक्का हुनुहुँदोरहेछ, आखिरमा मोटर चढेरै आउनुभयो,’ कालीगण्डकी गाउँपालिका २ अर्वेनीका वडाअध्यक्ष देवि प्रसाद न्यौपानेले भने ‘मोटर चल्न थालेपछि हामी अहिले यो क्षेत्रकै मुहार खुसी छ ।’

लिलामणी पौडेल र यूवराज भुसालको कुटनीतिक पहल

२०५९ साल माघ ११ गते काठमाण्डौ बागबजारको मदरल्याण्ड होटलमा लुम्बिनी देखि लोमान्थाङ्ग सम्मका सरोकारवाला, प्रशासक, जनप्रतिनिधीको बैठक बसेर मुस्ताङ्गका सांँसद श्रीमाया थकालीको संयोजकत्वमा सरोकार समिति गठन गरी बेलहिया–लोमान्थाङ्ग–घोप्तान उत्तरदक्षिण कालिगण्डकी राजमार्ग नामाकरण गरी रणनैतिक मार्गमा दर्ज भएपछि यसको विकासले गति लियो ।

यसलाई भारत र चिन जोड्ने सेतुको रुपमा विकास गर्नका लागि पनि २ गुल्मेलीहरुले भरमग्दुर प्रयास गरे । तिब्बतमा तत्कालिन महावाणिज्य दुत रहेका लिलामणी पौडेल र कोलकत्तामा महावाणिज्य दुत रहेका यूवराज भुसालले राष्ट्रिय योजना आयोगका तत्कालिन सह सचिव वालानन्द पौडेलको पहलमा अन्तराष्ट्रिय समर्थन जुटाउने प्रयास गरे ।

‘त्यही पहलपछि चिन सरकारले कोरल्लादेखि मुस्ताङ्गको लोमान्थाङ्ग सम्म ४० किलोमिटर सडक निर्माण नै गरीदियो ।’ लोकमार्ग सरोकार समितिका सचिव भरत बहादुर चन्दले भने । भुसालले पछि उक्त मार्गको अर्वेनीसम्मको खण्ड उद्घाटन पनि गरेका थिए ।

माओवादीले पड्काउन शुरु गरेको बम सेनाले पड्कायो

करीडोरको ट्रयाक खोल्न नेपाली सेनाले गरेको काम उत्कृष्ट रहेको छ । सडकको विभीन्न अप्ठ्यारा चट्टान फोरेर सडक बनाउन सेनाले सवारी नै चल्न सक्ने बाटो बनाएर उत्कृष्ट काम गरेको हो । ‘सडक आयोजनाले ठेकेदारमात्रर्फत खोलेको ट्रयाकमा भने सवारी साधन चल्न सक्ने अवस्था छैन ’ सरोकार समितिका प्रवक्ता ढकालले भने ।

नेपाली सेनाले २०५७ देखि २०६८ सम्म मुस्ताङ्गमा ५६ करोडमा ७६ किलोमिटर ट्रयाक खोलेको थियो । त्यसमा अहिले पनि सवारी चल्ने गरेका छन् । त्यतिबेला शसस्त्र द्वन्दको समय भएकोले सेनाले विष्फोट नगरी गैटी बेल्चाले मात्रै सडक खनेको थियो ।  त्यसबाहेक नेपाली सेनाको कालिगण्डकी लोकमार्ग निर्माण कार्यदलले गुल्मीको रुद्रवेणीदेखि – हर्मिचौर – अर्वेनीसम्म, रीडि देखि रुद्रवेणीसम्म ४२ किलोमिटर र पालुङ्गखोलामा तथा मालढुँगा बलेवा टाकुरीमा १२ किमी सडक निर्माण सम्पन्न ग¥यो ।

धार्मिक र पर्यटकिय क्षेत्र जोडिए

करीडोर धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकिय दृष्टिले सममेत निकै महत्वपूर्ण रहेको छ । नेपालभित्र त्रिवेणीधामदेखि मुक्तिनाथ धामसम्म धेरै तिर्थस्थल रहेको र तिव्वतको मानसरोवरसम्म पनि पुग्ने भएकोले हिन्दु र बुद्धधर्मावलम्बीलहरुका लागि महत्वपूण छ रहेकोले सबैभन्दा धेरै तिर्थस्थल रहेको यो करीडोर बनेपछि पर्यटक र तिर्थयात्रुबाट मात्रै करीव डेढ खरव वार्षिक शुल्क उठ्ने करीडोर सरोकार समितिका प्रवक्ता ढकालले बताउनुभयो ।

त्यसबाहेक विश्वमा चर्चित थकाली भान्सा, सालैजोको उद्गम स्थल गुल्मीको भार्से, मृग र बाघको छालाको छक्कल बनाएर पानी खाने आदीम सभ्यता, काठको ठेका कुँद्ने सभ्यता, खैँजडी बजाउने सभ्यता पनि यही करीडोरमै पर्ने उनको भनाई छ ।

त्यसैगरी शालिग्राम पाईने विश्वको एकमात्र ठाउँ कालिगण्डकी किनार, एसीयाको ठूलो त्रिसुल भएको पाल्पाको भैरवस्थान, आदिकवि कालिदासको जन्मस्थल वाग्लुङ्ग, स्वस्थानी कथाअनुसार सतीदेविले हाम फालेको स्थान गुल्मीको जयखानी, महाभारतमा युधिष्ठिरहरुले सबैभन्दा बढी मान्छे मारीए भनेर पिण्ड दिएको ठाउँ कागबेनी, महाभारत युगमा कौरव पाण्डवहरु स्वर्ग गएको भनिने बाटो पनि यसै करीडोर अन्तर्गमा पर्छन् ।

मयुर, डाँफे र नेपालमा मात्र पाईने काँडे भ्याकुर सहित जीव जन्तु, चराचुरुङ्गी, किटपतंग र माछाहरु पनि यो करीडोरअन्तर्गत पाईन्छन् । संसारको सबैभन्दा गहिरो खोँच समेत रहेको कालिगण्डकी करीडोरमा उत्तर दक्षिण भएर बग्ने १४ नदि भध्ये सबैभन्दा बढी खोँच बेसी र टारहरु रहेका छन् ।