बैशाख १९, २०८१ बुधबार

पाठेघर जँचाउनेमध्ये दैनिक ८ जनामा क्यान्सर भेटिन्छ



                                                                 विश्व क्यान्सर दिवसका अवसरमा सचेतना जगाउँदै

काठमाडौँ — कहिले तीन महिनामा एकपटक महिनावारी हुन्थ्यो, कहिले एक महिनामै तीनपटक । शरीर पनि असामान्य रूपमा मोटाउँदै गएको थियो । काठमाडौंकी ४२ वर्षीया एक महिलाले करिब एक वर्ष यस्तो व्यथा खेपेपछि हालै अस्पताल पुगिन् ।

परीक्षणपछि पाठेघरको मुखमा क्यान्सर देखिएपछि उनी निकै आत्तिइन् । तर, पहिलो स्टेजमै अस्पताल पुग्न सकेकाले शल्यक्रिया सफल भएको उनले सुनाइन् ।

हाल उनी फलोअप उपचारका लागि हात्तीवनस्थित क्यान्सर हस्पिटल धाइरहेकी छन् । भन्छिन्, ‘मैले त हार मानिसकेकी थिएँ, उपचारपछि जीवन पहिलेजस्तै सामान्य भयो ।’ उनीजस्तै पाठेघर मुखको क्यान्सर रोग लिएर अस्पताल धाउने महिलाको संख्या बढ्दै छ ।

मेडिकल विज्ञानले क्यान्सरको उपचारमा ठूलो फड्को मारे पनि क्यान्सरलाई मृत्युसँग दाँज्ने प्रवृत्ति अझै हटेको छैन । स्त्रीरोग एवं क्यान्सररोग विशेषज्ञ डा. अञ्जु श्रेष्ठ भन्छिन्, ‘समयमै उपचार नगर्दा यो रोगले धेरैलाई मृत्युको मुखसम्म पुर्‍याएको हो, पहिलो चरणमै पत्ता लागेर उपचार थाल्ने हो भने पूर्ण रूपमा ठीक हुन्छ ।’

विश्वस्तरमै महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हो, यसको अनुपात झन्डै ७० प्रतिशत छ । दोस्रो स्तन क्यान्सर हो । सम्पूर्ण प्रकारका क्यान्सरपीडित बिरामीमध्ये प्रत्येक ६ जनामा एकको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजारमा यो रोग हुने अनुमान छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरले हुन्छ । यसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुककै महिलाको हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर हुनेमध्ये ३५ देखि ६४ वर्षसम्मका महिलामा यो रोगको अत्यन्त जोखिम देखिने गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा यो वर्ष करिब ३४ सय महिला क्यान्सर परीक्षण गर्न आएकोमा ४ सय ६२ महिलाले पाठेघर क्यान्सरको उपचार लिएका छन् । क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भन्छन्, ‘अधिकांश बिरामी अन्तिम स्टेजमा आउँछन्, शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।’

डा. बरालका अनुसार पाठेघरसम्बन्धी रोग लिएर दैनिक ३० देखि ४० जनासम्म आउँछन् । यसमध्ये कम्तीमा ८ जनाको त पाठेघर मुखमै क्यान्सर देखिने गरेको छ । भन्छन्, ‘दुर्गमका महिला लाजले रोग लुकाउँछन्, सानातिना पीडा वास्तै गर्दैनन् र आकस्मिक अवस्थामा मात्रै अस्पताल पुग्छन् ।’

डा. श्रेष्ठ भन्छिन्, ‘रोगका लक्षण देखिएको तीन महिनादेखि दुई वर्ष ढिलाइ गरेर अस्पताल आइपुग्छन्, कतिको पाठेघर नै निकालेर फाल्नुपर्ने हुन्छ ।’ दुर्गमबाट आउने रोगीहरू फलोअप गर्न अस्पताल नआउने हुँदा रोग बल्झिने थप समस्या खेपिरहेका छन् । कान्तिपुरबाट