बैशाख १३, २०८१ बिहीबार

सीता दाहालको स्वास्थ्यमा सुधार,पत्नीको हेरचाहका लागि प्रचण्डको सिंगापुर बसाइ लम्बियो



काठमाडौ-नेपालीमा एउटा उखान छ ‘श्रीमान श्रीमति भनेका एक रथका दुई पाङग्रा हुन् ।’ एउटा पाङग्रा मात्रै बिग्रियो भनेपनि अर्को रथ चल्नै सक्दैन । पतीपत्नीको सम्बन्ध रथ जस्तै हो । जीवनका कयौँ उतारचढावहरुमा श्रीमानलाई साथ दिएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालले धेरै समयपछि श्रीमानको साथमा सिंगापुरमा उपचार गराइरहेकी छिन् ।

जीवनको उर्जाशील समय मुलुक रुपान्तरणका लागि युद्ध, क्रान्ति, शान्ति र निर्वाचनसम्मका लागि खटेका प्रचण्डका हरेक आरोह र अवरोहको आधा दुख पत्नी सीताले खपिन् र त यो देशमा ‘प्रचण्ड’को जीवन सफल भयो ।

पत्नी सीताको स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि प्रचण्ड कान्छी छोरी गंगासहित गत साता सिंगापुर पुगेका थिए । गंगा भने आइतबार स्वदेश फर्किसकेकी छन् । उनका अनुसार ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले प्रचण्डको बसाई लम्बिएको हो ।

पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै प्रचण्डले आफ्नो बसाई लम्बाएका हुन् । विगत केही वर्षयता प्रचण्ड एकपछि अर्को पारिवारिक पीडामा छन् । छोरी ज्ञानु दाहालको निधन भएको ३ वर्ष नपुग्दै एक मात्र छोरा प्रकाश दाहालको पनि गत मंसीरमा निधन भएको थियो ।

प्रकाशको निधन यता पत्नी सीताको पनि स्वास्थ्य र स्मरणशक्ति कमजोर भएपछि अध्यक्ष प्रचण्डले परिवारका लागि समय दिन थालेका छन् । नेपालमै हुँदा पनि प्रचण्डले पत्नी सीतालाई बेलाबेला विभिन्न शान्त ठाउँ घुमाउने गरेका थिए ।

सीता प्रेसर, सुगरलगायतका रोगबाट ग्रसित रहेकी छिन् । यसअघि उनलाई छोरी रेणु दाहालले उपचारका लागि नयाँदिल्ली लगेकी थिइन् ।

नेपालको राजनीतिक व्यस्तताका बाबजूद पनि प्रचण्ड उपचार सकेर मात्र नेपाल आउने मुडमा छन् । छोरी गंगाले मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आमाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी छिन् ।