जेष्ठ ७, २०८१ सोमबार

आनीको चेतावनी मनिषाको आक्रोश



काठमाडौं – गायिका तथा आनी छोइङ डोल्माले महिलालाई कमजोर नठान्न चेतावनी दिएकी छन् । महिलालाई कमजोर आँकेर त्यही अनुसारको व्यवहार भइरहेको भन्दै त्यस्तो कु–विचार नपाल्न पुरुष तथा महिलालाई उनको सुझाव छ ।

“हरेक महिलाभित्र दुर्गा, चण्डी र काली हुन्छिन् । त्यसलाई जगाउने प्रयास नगर्नुस् । त्यसको परिणाम कस्तो हुन्छ, त्यो सबैलाई थाहा छ । त्यसलाई मनन् गर्न म आग्रह गर्छु,” पोखरामा जारी नेपाल लिट्रेचर फेष्टिबलको एक सत्रमा मंगलबार उनले भनिन्, “हामी रोएर पीडित भएर मात्रै बस्दैनौं । हामी आवाज उठाउन पनि सक्छौं । यो कु–प्रथालाई निर्मूल पार्न हामी दिदीबहिनी जागिसकेका छौं । छोरी मान्छे हेर्दा कमजोर ठानेर त्यो खालको व्यवहार देखाउने चाहे पुरुष होस् या महिला हामी दिदीबहिनी कमजोर होइनौं । जन्म दिने आमा हौं, माया गर्ने दिदी बहिनी हौँ । जीवन सम्हाल्ने अर्धागिंनी हौं तर कमजोर छैनौं । हामी जागिसकेका छौं ।”

आनीले यसो भन्दा सँगै बसेका प्यानलिष्ट बलिउड स्टार मनिषा कोइराला २०७१ साल फागुन ११ गते एसिड आक्रमणमा परेका संगीता र सीमासँगै दर्शकले ताली बजाएर हौस्याए ।

सहजकर्ता पत्रकार यज्ञशले दैनिक ६ वटा बलात्कार हुने गरेको तर करिब ३०–३५ प्रतिशतमात्रै यस्ता केस प्रहरीमा आउने गरेको तथ्यांक प्रस्तुत गरे ।

आनीले लैंगिक विभेदलाई युद्धको संज्ञा दिँदै परापूर्वकालदेखि जरा गाडेर बसेको यो खराब थितीलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन् । पौराणीक कालमा सीताले अग्नी परीक्षा दिनुपरेको प्रसंग सुनाउँदै उनले पछिल्लो समय सञ्चारमाध्यम र सोसल मिडियाको तागतका कारण समाज परिवर्तनतर्फ उन्मुख हुँदै गएकोतर्फ थोरै सन्तोष व्यक्त गरिन् । तर अपराधीलाई कनुन अनुसार कारबाही पनि हुन नसकेको भन्दै आनीले अपराधीलाई राजनीतिक संरक्षण हुने गरेकोतर्फ संकेत गरिन् ।

एउटा मान्यता छ, आनी भएपछि हत्या हिंसा गर्ने त परेको कुरा, बोल्नु त के सोच्नु पनि हुँदैन । तर आनी त्यसबाट बाहिर निकिएर फ्ल्यासब्याकतर्फ गइन् र सानो छँदा हेरेको एउटा फिल्म सम्झिन् । “…त्यो फिल्ममा महिलाको एउटा समूह हुन्छ, जसले बलात्कारीहरुलाई अपहरण गरेर उनीहरुको लिंग काटेर नपुंशक बनाइदिन्छ । हामी आनीहरुले हिंसा सम्झिन पनि हुँदैन भनिन्छ । तर मानवीय नाताले पनि त्यो फिल्म सम्झँदा अहिले पनि आनन्द आउँछ ।”

यज्ञशको जिज्ञासा मनिषा कोइरालातिर सोझियो । मनिषाले निर्मला पन्तको घटनासँग जोडिएर अपराधी पक्राउ नपर्नु असाध्यै दुखद् घटना भएको सम्झिन्– “आजको अवस्थामा यस्तो दुर्व्यवहार सुन्दा मलाई लाज लाग्छ । राज्यसँगै समाज नै फेलियर भएको हो । बालबालिका त्यसमा पनि बालिकालाई कसरी ट्रिट गरिन्छ, त्यो महत्वपूर्ण कुरा हो ।”

आफूले बलिउडमा ठूलो महिला हिंसाको घटना भोग्नु नपरेपनि माहिलालाई बाटोमा हिँड्दा चिमोट्ने, गाडीमा हिँड्दा ठेल्दिने जस्ता निर्लल्ज व्यवहार हुने गरेको उनले सुनाइन् । राजनीति, शिक्षा र आर्थिक क्षेत्रमा तथा नीतिनिर्माण तहमा महिला स्वयं नपुगेसम्म समाजमा महिला हिंसा अन्त्य नहुने उनको भनाइ छ ।

“शिक्षामा पहुँच र आर्थिक रुपमा महिला स्वतन्त्र र स्वावलम्बी नभएसम्म महिला हिंसाको अन्त्य हुँदैन,” मनिषाले भनिन्, “घरमै छोरा र छोरीलाई हेर्ने नजरमा विभेद छ । सुरुमा घरबाटै विभेदको श्रृंखला अन्त्य हुनुपर्छ ।”

एसिड आक्रमणमा परेकी सीमाले सुरुमा आफूले गायिका बन्ने सपना पाले पनि अहिले आएर राजनीतिमै नलागी समाज परिवर्तन गर्न नसकिने बोध भएपछि राजनीतिमा आवद्ध भएको बताइन् । एसिड आक्रमणकी अर्की पीडित संगीताले अहिले पनि अप्रेशनका लागि आर्थिक अभाव रहेको बताइन् ।