जेष्ठ ३, २०८१ बिहीबार

अब जग्गा बाँझो राख्नेलाई कारवाही हुन्छ:मन्त्री अर्याल




पोखरा –भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार लागेको बताएकी छन् ।

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताइन् ।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउँदै मन्त्री अर्यालले आर्थिक समृद्धिमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

नेपालको पश्चिमी भू–भागमा सहकारीप्रतिको जागरण बढेको र पूर्वमा यसले व्यावसायिकरुप लिएको चर्चा गर्दै उहाँले देशव्यापीरुपमा सहकारीको व्यावसायिकता वृद्धि गरिनुपर्नेमा जोड दिइन् । परिवर्तित संरचनाअनुसार कर्मचारीको पूर्णरुपमा व्यवस्थापन हुन नसकेका कारण काममा केही अन्यौलता भएको बताउँदै मन्त्री अर्यालले कर्मचारी व्यवस्थापनलाई चाँडै नै टुङ्गोमा पुर्याउने जानकारी दिइन् ।

देशमा रहेका ३४ हजारभन्दा बढी सहकारीलाई व्यवस्थित गरिने उनले बताइन् । मुलुकमा सुकुम्वासी समस्या समाधान हुन नसकेको बताउँदै मन्त्री अर्यालले उनीहरुको पहिचान गर्दै वर्गीकरणका आधारमा व्यवस्थित गरिने उल्लेख गरिन् । जग्गा बाँझो राख्ने प्रवृत्तिले देश अपेक्षित विकास हुन नसकेको औँल्याउँदै उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने स्पष्ट पारिन् ।