जेष्ठ ४, २०८१ शुक्रबार

सेवाग्राहीका रुपमा मालपोत कार्यालय पुगिन् मन्त्री अर्याल




काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले मालपोल कार्यालय चाबहिलमा अनलाइन प्रणालीमा उत्पन्न हुने प्राविधिक गडबडी सुधार्न निर्देशन दिएकी छिन् ।

सुरक्षाकर्मीबिना मालपोल कार्यालयको छड्के जाँच गर्ने क्रममा पुगेकी उनलाई सेवा लिन आएका सेवाग्राहीले व्यवस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको, ढिलासुस्ती भएकोलगायत गुनासो गरेपछि उनले कार्य सम्पादनलाई व्यवस्थित गरी गुुणस्तरीय सेवा प्रदान गर्न र सेवाग्राहीको सहजताका लागि डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिन कार्यालय प्रमुखलाई निर्देशन दिएकी हुन् । ।
मन्त्रीसहितको टोलीले सेवाग्राहीका रुपमा कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुुगमन गर्दै सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीका रुपमा त्यहाँको गतिविधि अध्ययन गरेको थियो । दैनिक कार्य सम्पादनका लागि उक्त स्थान उपयुुक्त नभएकाले त्यसको विकल्प खोज्न कार्यालय प्रमुखलाई निर्देशन दिएकी थिइन् ।
“सेवाग्राहीलाई सेवा लिन सास्ती छ, कर्मचारीलाई पनि आफ्नो काम सम्पादन गर्न समस्या भएको छ”, मन्त्री अर्यालले भनिन्, “अनलाइन सेवामा आएको समस्याले प्रभावकारी सेवा सञ्चालन हुन नसकेकाले थप तालीमको आवश्यकता देखिएको छ ।” उनले सर्भरसँग जोडिएर आउने समस्याको समाधान गर्न दक्ष जनशक्ति उत्पादनका लागि मन्त्रालयले थप तालीम दिने बताइन् ।

सेवालाई प्रभावकारी बनाउने कार्यको थालनीसँगै सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । भविष्यमा मन्त्रालयअन्तर्गतका सम्पूूर्ण सेवा विद्युतीय प्रणालीमा विकास गरिने भएका छन् ।

अनुगमनका क्रममा केही कर्मचारी निलम्बनमा परेका र केही काजमा बसेकाले सेवाग्राहीलाई तत्काल सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ । फोटोकपी व्यवसायी र लेखापढी व्यवसायीको कार्यालय सोही भवनभित्र रहेकाले सेवाग्राहीको चाप बढेको पाइएको छ ।