जेष्ठ ६, २०८१ आईतबार

एउटाको बलात्कार, गर्भ रहेपछि पञ्चको दवावमा अर्कोसँग विवाह



सप्तरी । सप्तरीको लिलाढीकोईलाडीमा बलात्कारपीडित गर्भवती किशोरीलाई गाउँका पञ्चेतीहरुले दवाव दिएर अर्कैसँग बिबाह गराइदिएको खुलेको छ ।

स्थानीय २५ वर्षीय लालबहादुर मुखियाको बलात्कारबाट गर्भवति बनेकी तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराकी १५ वर्षकी किशोरीलाई वैशाख २८ गते गाउँमा भएको पञ्चेती (छलफल) ले १८ वर्षीय अर्का व्यक्तिसँग बिबाह गरिदिएका हुन् ।

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले दवाव दिएर झुटो कुरा बोल्न लगाएाको तर बलात्कारी लालबहानुर रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि उक्त रहस्य खुलेको हो ।

किशोरीको उजुरीपछि प्रहरीले लालबहादुर सहित पञ्चहरु बचाई र किसुन मुखियालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

बलात्कार आरोपी लाल बहादुर एक छोरा र एक छोरीका बुबा रहेकोले उनलाई बचाउन दवाव दिएको हुनसक्ने प्रहरीले बताएको छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ ।

यसअघि पञ्चेतले अरुसँग बिबाह गरिदिएकी किशोरीले एकाएक मुखिया बिरुद्ध उजुरी गरेपछि गाउँमा तनाव बढेको स्थानीय गीता देवले बताइन् । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिनुभयो”, देवले भनिन्, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।”

लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् ।

बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको गुनासो गरेकी छन् ।

ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बोक्सी, बालविवाह, बलात्कार, बहुविवाह, चोरी, लागू औषध, कुटपिटलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताउँछिन् ।
अधिवक्ता देवले धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुस गरेको बताईन् ।