बैशाख ९, २०८१ आईतबार

सरकार भन्छ : सकेसम्म यो बेला काठमाडौं नआउनुहोला



सरकारले यो समयमा सकेसम्म काठमाडौं उपत्यकामा नआउन बाहिरी जिल्लाका जनतालाई आग्रह गरेको छ । काठमडौंमा अहिले कोरोना भाइरस संक्रमणको दर तिब्र रुपमा बढेकोले सामान्य कामका लागि काठमाडौं नआउन सरकारले आग्रह गरेको हो ।

शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ आउनु परेपनि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र आउन आग्रह गरे ।

काठमाडौंमा प्रतिदिन कोरोना भाइरस संक्रमणको दर बढीरहेकोले स्वास्थ्यको बारेमा सचेत हुन पनि उनको आग्रह छ । आज एकैदिन काठमाडौंमा ११ सय ७७ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार राजधानीका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा नेपालभर गएका २४ घण्टामा नेपालमा २१२० जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए । १२ हजार ९ सय ७८ जनाको पीसीआर परिक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८४ हजार ५७० पुगेको छ । हाल २१ ह्जार ३०२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

उनले जति ठूलाे मानिस वा देश भएपनि जनस्वास्थ्यका मापदण्ड पूरा नगरेमा काेराेनाबाट संक्रमित हुने भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरे ।