बैशाख ४, २०८१ मंगलबार

कोरानाले फूल रोप्ने जाँगर चलेन, तिहार खर्च धान्ने कसरी ?



ललितपुर– लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ । लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् ।

विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै मारेकी छन् ।

पहिला पहिलाका तिहारमा खुब हर्षले विभिन्न प्रकारका फूलहरु उत्पादन गर्ने, माला बनाएर बजार बिक्री वितरणका लागि लाने गरेको सरस्वतीको भनाइ छ ।

“यो वर्ष कोरोना महामारीको त्रासले कसरी फूलमाला व्यापार गर्ने भन्ने चिन्तासँगै केही रोप्न मन लागेन ।”

सरस्वतीले विगतको तिहारमा एक झुप्पामा पाँचवटा माला बनाएर सानो मालाको रु २५० र ठूलोको रु ४५० माथि बेच्ने गरेको सुनाइन् ।

गत वर्ष सयपत्रीको मालाबाट रु २५ हजार कमाएर भाइमसलालगायत आवश्यक सरदम जुटाएको हुँदा यस तिहारमा कसरी खर्च गर्ने भन्ने सरस्वतीमा चिन्ता बढेको छ ।

यसैगरी लेले काभ्रेकी मसिनी पौडेल पनि यस वर्ष तरकारीलगायत फलफूल र सयपत्री फूल उत्पादनमा पछि हटेकी छन् ।

विगत वर्ष लेले भञ्ज्याङ हुँदै डोकाका डोका फूलमाला, तरकारी र अनि फलफूल लगेर बिक्रीवितरण गर्ने मसिनीको खेतबारीमा यस वर्ष आएको कोभिडका कारण बाँझोमात्र देख्न सकिन्छ ।

महामारी बढ्दो छ । कहाँ लगेर बेच्ने भन्ने त्रासका कारण आफ्नो घर सजाउन र कहिलेकाँही खान बाहेकका सामग्री उत्पादनमा ध्यान दिइएन ।

तरकारी र सयपत्री फूल उत्पादन गर्न त्यसै सजिलो छैन । समयसमयमा गोडमेल, पानी आदि गर्नुपर्छ । कोरोना बढेको समयमा घरबाट बाहिर टोलमा निस्किनसमेत डर रहँदा तिहार मान्न मुस्किल हुने भएको मसिनीको उत्तर छ ।

“गत वर्ष सानासाना फूलका गुच्छा बनाएर रु १० हजार फूलबाट मात्र कमाएको थिए । यस वर्ष न बारीमा फूल लगाइयो न दैनिक खान तरकारी नै उत्पादन भयो”, उनले थपिन्।

त्यसैगरी लेलेकी सावित्री पौडेलको बारीमा पनि यस तिहारमा बजार लान केही वस्तु रोपिएका छैनन् । कोरोना आयो । बेच्न जान पाइँदैन भनेर आफूले यस वर्ष केही लगाउन पनि मिहिनेत नगरेको सावित्रीको भनाइ छ ।

अघिल्लो वर्ष सयपत्री माला बेचेर मात्रै तिहारमा रु २५ हजार कमाएको सावित्रीले बताइन् । “यसअघिको तिहारमा माला बेचेर आवश्यक सरसामनलगायत देउसी र भैलो खेल्न आउने समेतलाई पैसा दिन अरूसँग हात थाप्नु परेको थिएन ।

यो वर्ष न कुनै काम भयो न तिहारको उत्साह नै छाएको छ ।”

ललितपुरको लेले सयपत्री फूललगायत विभिन्न प्रकारका तरकारी र फलफूल उत्पादनका लागि प्रसिद्ध शहर थियो । यो क्षेत्रका जनताले यस वर्ष केही मात्रामा घरायसी प्रयोजनका लागि मात्र यी वस्तु उत्पादन गरेको बताए ।

भौगोलिक हिसाबले डाँडाकाँडा अनि फाँटले भरिएको लेले शहरस्थित काभ्रेका केही फाँटमा मात्रै यस वर्षको तिहारलाई सयपत्री फूल रोपिएका छन् भने अन्य स्थानमा खासै फूल उत्पादन गरिएको देखिएन ।

विगतका वर्ष तिहारमा लेलेबाट गाडीका गाडी सयपत्रीको फूलमालालगायत फलफूल अनि तरकारी बजार जान्थे । यो वर्ष १० प्रतिशत लेलेको फाँटमा सयपत्री फूल अनि तरकारीसमेत देख्न मुस्किल भएको स्थानीयवासी राजेन्द्र पौडेलको भनाइ छ ।

गत वर्ष तिहारमा फूलमाला व्यापार गरेर लेलेवासीले लगभग रु ३० देखि ४० लाख भित्र्याएका वडाध्यक्ष मिलन सिलवालले बताए । यस वर्ष व्यापार गर्ने माहोल नरहँदा धेरै दाजुभाइ तथा दिदीबहिनीले फूल उत्पादनमा जोड दिएनन्।

केही किसानको बारीमा यस तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा रोपिएका सयपत्रीसमेत कसरी व्यापार गराउने भन्ने आफूलाई चिन्ता भइरहेको सिलवालको भनाइ छ ।

गोदावरी नगरपालिका–५ र ६ लेले क्षेत्र पर्छ । यो ललितपुर क्षेत्रको सयपत्री फूल उत्पादन हुने मुख्य थलो मानिन्थ्यो ।

गत वर्षमा लेलेको सयपत्री फूलले चापागाउँ, लगनखेल, जावलाखेल, असनइन्द्रचोक, विशालबजार, दरबारमार्ग, पशुपति अनि गौशाला र चाबहिल क्षेत्रमा खुब भरिभराउ हुन्थे ।

यो तिहारमा लेल मात्रै होइन । बडिखेल, गोदावरी, चापागाउँ, झरुवारासी, गोदामचौर र विशङ्खुलगायत क्षेत्रमा कम सयपत्री फूल उत्पादन गरिएको देखिन्छ ।

तिहार हिन्दू धर्मावलम्बीहरुको दशैँपछिको ठूलो पर्व हो । यस पर्वमा फूल र फलफूलको ठूलो महत्व रहन्छ । तिहारमा घरघरलगायत कार्यालय, चोक, बजार अनि धार्मिक क्षेत्र दीपावली गरेसँगै फूलमालाले सजाउने पनि गरिन्छ ।

यस वर्ष कोभिड महामारीका कारण हरेक मानिसले आ–आफ्ना घरबाहेक अन्य स्थानमा आर्थिकका साथै अन्य विभिन्न समस्याका कारण विगत वर्षझै मनाउन सम्भव नरहेको देखिन्छ ।