बैशाख ११, २०८१ मंगलबार

सार्वजनिक भयो भाइटिकाको उत्तम साइत !



नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ मिनेटमा रहेको जनाएको छ ।

१ मंसिरमा मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्ष यमपञ्चक २७ कात्तिकदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । २८ कात्तिकमा काग तिहार परेको छ । यसैगरी धनवन्तरीजयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

२९ कात्तिकको बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने ३० कात्तिकको बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म ९म्ह० पूजा भने ३० कात्तिकमा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चांग० नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि ३० कात्तिकमा नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चांग ९पात्रो० मा उल्लेख गरेका छन् ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि १ मंसिरमा मनाइन्छ । २ मंसिरको बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले १ मंसिरमा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

नेवार समुदायका केही समूहले भने २ मंसिरमा भाइटीका लगाउने बताएका थिए । मंसिरमा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । तिहारमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।