बैशाख ११, २०८१ मंगलबार

गर्भधारण र गर्भको शिशुको लिङ्ग कसरी निर्धारण हुन्छ ?



सामान्यतया, हरेक विवाहित पुरुष तथा महिलाले बच्चा जन्माउन चाहन्छन् । त्यसकारण उनीहरूले गर्भ कसरी रहन्छ भन्ने वुझ्न ज्यादै महत्वपूर्ण हुन्छ । गर्भधारण भनेको एउटा शिशुको जीवनको शुरुआत हो ।

पुरुषको शुक्रकीट र महिलाको डिम्वको मिलन भएपछि गर्भधारण हुन्छ । शुक्रकीट र डिम्वको मिलन भैसकेपछि भु्रणको विकास हुन्छ र पाठेघरको भित्री तहमा टॉसिएर बस्छ अनि विस्तारै शिशुको रुपमा विकसित हुंदै जान्छ ।

आमाबाबुले आफ्ना किशोर अवस्थाका छोराछोरीलाई उनीहरूको विवाह हुनु भन्दा पहिले गर्भधारणका बारेमा सिकाउने वातावरण सृजना गर्नु महत्वपूर्ण छ । यसबाट उनीहरूमा कुनै चुनौतीपूर्ण परिस्थिति आइपरेमा आफ्नो स्याहार आफैले गर्नसक्ने विश्वास वढ्छ । यद्यपि, केटीको कलिलै उमेरमा अर्थात १० वर्ष पुगेपछि कुनै पनि समयमा महिनावारी शुरु हुन सक्छ ।

तर महिनावारी भए पनि २० वर्ष नपुग्दासम्म केटीको प्रजनन अङ्ग तथा शरीर शारीरिक, मानसिक र भावनात्मक आमा बन्न परिपक्व भएको हुँदैन । केटीलाई २० वर्षसम्मको उमेर आफ्नो शारीरिक तथा मानसिक, विकासका साथै पढाइ पुरा गर्न आवश्यक हुन्छ । केटाहरूले पनि यदि उनीहरू कम्तीमा २० वर्ष पछि मात्र विवाह गरे भने भविष्यमा आफू एउटा असल पिता बन्न सक्छन् ।

किनभने यो उमेर सम्ममा केटाहरूले आफूलाई भावनात्मक तथा आर्थिक रुपमा सबल बनाएर आफ्ना श्रीमती तथा सन्तानको राम्रो हेरचाह गर्न सक्षम हुनेछन् ।

विवाह २० बर्ष नाघे पछि गर्नु उपयुक्त हुन्छ । यदि २० वर्ष नपुग्दै विवाह भएको खण्डमा पनि केटीको उमेर कम्तीमा २० वर्ष नपुग्दा सम्म त्यस्ता दम्पत्तीले बच्चा जन्माउन हु‘दैन । वास्तवमा, बच्चा जन्माउन शुरु गर्नुभन्दा पहिले श्रीमान श्रीमती एकले अर्कालाई राम्ररी चिन्ने र बुझ्ने समय पाएको खण्डमा उनीहरूको वैवाहिक जीवन निकै सफल हुन्छ ।

गर्भधारण ढिला गर्न गर्भको रोकथाम गर्न सकिने उपाय अथवा गर्भ निरोधका प्रभावकारी साधनहरू प्रशस्त मात्रामा उपलव्ध छन् । नव दम्पत्तिहरूले गर्भधारणबारे सल्लाह र परामर्शका लागि कहाँ जानु पर्छ भन्ने जानकारी महिला स्वास्थ्य स्वयम् सेविकाबाट प्राप्त गर्न सक्छन् । नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्य केन्द्रवाट पनि जानकारी तथा परिवार नियोजन परामर्श तथा सेवा प्राप्त गर्न सकिन्छ ।

किशोरावस्थामा गर्भ रहेमा वा बच्चा जन्माउँदा गर्भवती आमा तथा शिशुको स्वास्थ्यमा नकारारात्मक असर पार्ने जटिलताको सम्भावना बढी हुन्छ र ज्यान पनि जोखिममा पर्न सक्छ ।

गर्भको बच्चाको लिङ्ग निर्धारण कसरी हुन्छ भन्ने थाहा पाउन पनि आवश्यक छ, किनभने नेपाली समाजमा प्राय सबै दम्पत्तीले कम्तीमा एउटा छोरा जन्माउन चाहन्छन र गर्भको शिशु छोरा अथवा छोरी हुने कुरा आमामा भरपर्छ भन्ने आम विश्वास रहेको पाइन्छ । यो विल्कुलै सत्य होइन।

यदि छोरी छोरी मात्र जन्मिए भने महिलालाई दोष लगाउनु सर्वथा गलत हो । यथार्थमा पुरुषको शुक्रकीटमा भएको वंशाणुले नेै गर्भको बच्चाको लिङ्ग (छोरा वा छोरी) निधार्रण गर्छ । यदि श्रीमान र श्रीमती दुवैले विवाह गर्ने उपयुक्त उमेर कति हो, गर्भधारण कसरी हुन्छ, गर्भ निरोध कसरी गर्न सकिन्छ र शिशुको लिङ्ग निर्धारण कसरी हुन्छ आदि महत्वपूर्ण कुराहरू बुझेको खण्डमा उनीहरूको वैवाहिक जीवन निकै सुखी हुन्छ ।

महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य कार्यकर्ताले यी विषयहरूमा थप जानकारी र सल्लाह दिन सक्छन् ।

त्यसै गरेर, कुनै दम्पत्तीको सन्तान भएन भने श्रीमानको कारणले अथवा श्रीमतीको कारणले वा दुबैको कारणले सन्तान नभएको हुन सक्छ । यदि कुनै दम्पतीले वच्चा जन्माउने उद्धेश्यले नियमित रुपमा यौनसम्पर्क गरेर पनि एक वर्षसम्म पनि सन्तान भएन भने उनीहरूले श्रीमान वा श्रीमती कस्को कारणले सन्तान नभएको भन्ने यकीन गर्न र समस्याको हल गर्न शारीरिक जॉच तथा उपचार गराउनु पर्छ ।