बैशाख ११, २०८१ मंगलबार

अहिलेको पहिलो काम जीवन जोगाउनु हो : राष्ट्रपति भण्डारी



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन ।

आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उहाँले अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न आग्रह गरिन ।

बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाहसुझाव लिई अघि बढ्न उहाँले सरकारलाई सल्लाह दिँदै पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिइन । गरीबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिइन ।

राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन । उनले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन ।रासस