बैशाख ११, २०८१ मंगलबार

गुल्मीमा जिप दुर्घटना, एक महिला सहित एकै गाउँका ५ जनाको मृत्यु



गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इश्मा ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र मालिका गाउँपलिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताए ।

दुर्घटनामा घाइते भएका सोही स्थानका २८ वर्षकी सरस्वती दर्लामी र १९ वर्षका फर्सु थापा, २६ वर्षका कमल हितानको अवस्था गम्भिर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताए ।

बिहान ७ः२० बजे भएको दुर्घटनामा जिप भिरबाट ४ सय मिटर तल खसेको र चालक इस्मा ४ बस्ने २४ बर्षका चालक बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।