चैत्र १६, २०८० शुक्रबार

पुस्तौं–पुस्तालाई पुग्ने पैसाको प्रस्ताव नमानेर नयाँ नक्सा जारी गरेको मन्त्री अर्यालको दावी



काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छन् ।

राजधानीमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा शुक्रबार ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन् । ‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ ।’

आफु मन्त्रीको जिम्मेवारीमा आइसकेपछी राज्यबाट दिने सुबिधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमी नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताइन् । ‘सबै ठाउँमा अनिवार्य हुनेगरी लागु गर्न सकियो भने, सम्पत्तिमाथी महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथी हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ’, उनले भनिन् ।

अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफु अगाडी बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफुले निकै ठूलो चुनौती भोग्नुपरेको बताइन् । तर, यो राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उनको भनाई छ ।

‘नेपालको भुगोल समेटिएको नक्सा जारी गर्ने बेला मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने प्रस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन्, ‘तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढेँ । नडगमगाइकन खुट्टा टेकेर यो अाँट हामीले गर्नुपर्छ ।’

सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपुर्ण कार्य रहेको भन्दै उनले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसकेपनी विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताइन् ।

आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उनले भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताइन् । हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको उनको भनाई छ । पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको समेत मन्त्री अर्यालले बताइन् ।