>

जेष्ठ ८, २०७९ आईतबार

दुई लाख दिँदा पनि अन्य पार्टीको गीत गाइनँ ः राधिका हमाल



काठमाडौं । राधिका हमाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिका हुन् । ‘टलक्कै टल्कियो’, ‘क्याम्पस पढ्न आउने’, ‘लरक्कै लर्केको’, ‘जोगी बुढाले’ लगायत थुप्रै हिट गीत दिएकी हमालले करिब २ हजारभन्दा बढी गीत गाएकी छन् ।

त्यसमा लोक, तीज, भेगिए, देउडा, काँठे, पुर्वेली, भजन, भाषाभाषीदेखि चलचित्र र गुरुङसम्म रहेका छन् । गीतसङ्गीतका क्रममा देशका सबै भू–भाग र विदेशका ३२ भन्दा बढी राष्ट्र थुप्रै पटक पुगेकी उनी नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक सङ्घको केन्द्रीय कोषाध्यक्ष हुन् ।

कतिपय गायक गायिका एक पार्टी नजिक भए पनि धेरै पार्टीका गीत गाउने र विवादमा छाउने गर्छन् । उनी भने एक गीतको डेढ, दुई लाख दिँदा पनि काँग्रेसबाहेकको गीत गाउँदिनन् । तर किन रु ‘नेपाली काँग्रेस जिन्दावाद भनेको मुखले कसरी अर्कोे पार्टी जिन्दावाद भन्नु’ उनले जबाफ दिइन् । गीतसङ्गीतको माध्यमले बालकदेखि वृद्धसम्मको मन जित्न सफल गायिका राधिका हमालको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मज्जैले खान्छु

खानामा यो, त्यो भन्ने बानी छैन । दाल, भात र तरकारी मनपर्छ । मननपर्ने केही छैन । म पहिले भेज थिए । २००९ जापान कार्यक्रम जाँदा आयोजकले धेरै टाढाबाट खाना प्याकिङ गरेर ल्याएका थिए । त्यो सबै नन् भेज रहेछ । त्यो समय बाध्यताले खानैपर्‍यो । त्यसपछि माछामासु खान थालेँ । रेस्टुरेन्ट साथीभाइ र परिवारसँग जान्छु । रेस्टुरेन्टमा पनि दालभात, कोरियन खाना मनपर्छ । खाना बनाउन सक्छु । तर मीठो बनाउन सक्दिनँ ।

म्युजिकमा नाच्छु

अहिलेसम्म एक्सरसाइज भनेर केही गरेको छैन । दैनिक कामको दौडधुपले अहिलेसम्म एक्सरसाइज पुगेको छ । बिहान मर्निङवाक गर्ने, एक्सरसाइजका लागि क्लब धाउने कहिलै बनी परेन । घरमा पनि अहिलेसम्म एक्सरसाइजका सामान जोरेको छैन । बिहान कहिलेकाहीँ म्युजिक बजाएर भने नाच्छु ।

पोसाक ढाकाको

पोसाक यो, त्यो भन्ने छैन । जे लगाए पनि लामो मनपर्छ । सारी, चोलो, वानपिस, गाउन, पाइन्ट सर्ट लगायत प्रयोग गर्छु । जे लगाए पनि सबै ढाकाको हुन्छ । विवाहका लागि सारी लगाउँछु र अन्य समय कार्यक्रम हेरेर लगाउँछु ।

पहिरनमा धेरै मनपर्ने रङ रातो, त्यसपछि हरियो । पहिले पहिरन ब्रान्डेड किन्थेँ । एक पटक विदेश कार्यक्रममा जाँदा लगेज हरायो । त्यो समय धेरै महँगा पहिरन हरायो । त्यसैले महँगो र ब्रान्डेड खोज्न छोडे । मेरो पहिरनमा वार्षिक करिब २ लाख खर्च हुन्छ ।

अध्ययनमा रुचि

अध्ययन गर्न मनपर्छ । अरूलाई पनि अध्ययनका लागि सुझाउँछु । धेरै पढ्ने पुस्तक जीवनी, प्रेरदायी लका हुन् । डायमन्ड शमशेर,पियरका किताहरू मनपर्छ । राजनीतिक विषयवस्तुका पनि अध्ययन गर्छु । विश्वेश्वरप्रसाद कोइरालाको सबै पुस्तक पढेको छु ।

घुमघाममा धेरै रुचि

घुमघाममा धेरै रुचि छ । पेसाले पनि घुमाउँछ । श्रीमान् व्यस्त भएकाले पारिवारिक घुमघाम त्यति जुर्दैन । देशको प्रायः सबै जिल्ला पुगिसके । साङ्गीतिक कार्यक्रम तथा अन्य कार्यक्रमको सिलसिलामा । विदेशका पनि ३२, ३३ राष्ट्र पुगेँ होला । कतिपय राष्ट्र त ७ पटकसम्म पुगेको छु । सबै विकसित देश पुगिसकेकी भएकाले कहीँ जान मनछैन।

फुर्सद बस्दिनँ

आफूलाई फुर्सद राख्नु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले फुर्सद छैन । इतिहास हेर्दा सफल मानिस २ घण्टा पनि नसुतेको देख्न सकिन्छ । त्यसैले सकेसम्म आफूलाई बिजी राख्नुपर्छ भन्छु म । गीतसङ्गीत, सामाजिक कार्य र राजनीतिले आफूलाई व्यस्त बनाउँछु ।

चेस खेल्थेँ

खेलकुदमा रुचि छ । शारीरिक बल पर्नेभन्दा पनि बौद्धिक खेल मनपर्छ । पहिले धेरै चेस, क्यारिमबोर्ड खेल्थेँ । सानोमा कबड्डीमा प्रतिस्पर्धासमेत गरियो । शारीरिक पारिश्रम नपर्ने खेल खेल्न मनपर्छ । वल्र्ड कपलगायत विश्वप्रसिद्ध खेलहरू हेर्न मात्र होइन बाजी पनि हाल्छु ।

१८ वटा हराएँ

अहिले मसँग दुईटा मोबाइल छ । एउटा आइफोन, अर्को सामान्य । मोबाइल ब्रान्डेड बोक्नुपर्छ भन्दिनँ । किनभने १८ वटा हराएको छु । अहिले मसँग भएको १९औँ हो । सबैभन्दा राम्रो मोबाइल लमजुङको दूधपोखरी कार्यक्रममा जाँदा हरायो । मोबाइलमा समाचार, युट्युब, सामाजिक सञ्जाल चलाउने र फोन गर्ने गर्छु । मेरो नाममा पहिले २२ वटा फेसबुक अकाउन्ट बनेको रहेछ । सबै हटाउन लगाएर अहिले ३, ४ वटा मात्र देखिन्छ ।

नहेरेको धेरै भयो

पछिल्लो समय टीभी नहेरेको धेरै भयो । घरमा भएको थन्क्याएर राखेको छु । लोकदोहोरीका कार्यक्रम ‘लोकसंसार’ पहिले म चलाउँथे । त्यसैले यस्ता कार्यक्रम धेरै हेर्थें । त्यसपछि टीभीमा हेर्ने नेशनल जोग्राफी हो । जनावर र जीवन खूब मनपर्छ ।

धेरै हेर्छु

फिल्म धेरै हेर्छु । नेपाली, हिन्दी, अङ्ग्रेजी सबै खालका फिल्म हेर्छु । एक्सन, प्रेमकथा र सामाजिक कथाका फिल्म मनपर्छ । पछिल्लो समय हेरेको फिल्म ‘केजीएफ च्याप्टर २’, ‘आरआरआर’ र ‘म यस्तो गीत गाउँछु २’ हो । प्रायः फिल्म परिवार सबै हलमा गएर हेर्ने गरेका छौँ । एक समय चरित्र अभिनेत्रीका लागि फिल्म अभिनय गर्ने अफर पनि आएको थियो । त्यो गीतको लिप्सिङसमेत गायिकाले नगर्ने समयमा भएकाले अभिनय गरिनँ ।

पेसा गीतसङ्गीत

मेरो कर्म, धर्म, पेसा जे भने पनि गीतसङ्गीत नै हो । मलाई चिनाउने, खुवाउने र घुमाउनेसमेत गीतसङ्गीतले नै गरेको छ । व्यवसायका लागि अनामनगरमा एउटा स्टुडियो छ । २०५४ मा जतिबेला म १३, १४ वर्षको थिएँ । सोही बेलादेखि गीतसङ्गीत रोजेको हो । व्यावसायिक यात्रा भने २०५८ देखि सुरु भयो । पहिलो गीत ‘चिनारी’ बोलको थियो । त्यो राम्रो भएन । मलाई सबैमाझ चिनाउने काम लोकगीतले गर्‍यो । पहिलो चर्चित गीत ‘सोल्टिनी’ भन्ने हो ।

त्यसपछि ‘दिलको ढोका बन्द गरेर’, ‘ढल्क्यो जवानी’, ‘क्याम्पस पढ्न आउने’, ‘रातो सारी भुइमा’, ‘नाच बरिलै’ लगायत थुप्रै छन् । ‘ढल्क्यो जवानीमा’ हामीले कोरससमेत हालेका थियौँ ।

दर्शक श्रोतामा गहिरो छाप छोड्न सफल भने ‘क्याम्पस पढ्न आउने’ ले गर्‍यो । अहिलेसम्म म महोत्सवमा पछिल्ला गीतसँगै यो गीत पनि गाउँछु । पछिल्लो समयको हिट गीत ‘झोर्ले’ हो । छिट्टै पशुपति शर्मासँग ‘नक्कले’ भन्ने आउँदैछ ।

भेगिए, देउडा, काँठे, पुर्बेली, भजन, तीज, भाषाभाषी, चलचित्र, गुरुङ लगायतका करिब २ हजारभन्दा बढी गीत मैले गाएकी छु ।

कहिले वर्षमा तीजकै १०० बढी गीत गाइयो । वर्षमा ५५, ६० गीत त सामान्य भयो । मैले गायिका हुन लगानी गर्नुपरेन । किनभने पहिलेदेखि नै पैसा लिएर गीत गाउन पाएँ । केहीअगाडि माओवादीको एक गीत गाउन दिइएको थियो । पारिश्रमित राम्रो थियो । तर म काँग्रेसी भएकाले गाइनँ ।

पहिले पनि अन्य पार्टीको गीतका लागि डेढ दुई लाख दिने कुरा प्रस्ताव आएको थियो । तर मैले गाइनँ । मैले नेपाली काँंग्रेस जिन्दावाद भनेर गाएकी छु । त्यही मुखले अन्य जिन्दावाद भन्न मनले मानेन ।

देश विदेशको धेरै कार्यक्रम गरेकी छु । कार्यक्रममा जाँदा बिर्सन नसक्ने घटना पनि धेरै छन् । विदेशको क्रममा कुनै देशमा लाखको नोट पनि देखियो । कुनैमा सबैभन्दा ठूलो २० केडी रहेछ ।

स्टेजमा कार्यक्रममा जाँदा अविवाहित सोचेर विवाह गर्छु भन्ने, पहिले नै घरबारी नामसारी गर्दिन्छु भन्ने थिए । त्योबाट छुटकारा पाउन श्रीमान्सँग कुरा गराए । मेरो विवाह भएको थाहा पाएपछि धेरै मानिस रोए । मेरो जीवनको राम्रो निर्णय गीतसङ्गीत रोज्नु हो ।

म काँग्रेसी

राजनीतिले सबैलाई छुन्छ । हामीले कसरी स्वीकार्ने भन्ने कुरो फरक हो । नीतिको पनि मूल नीति राजनीति हो । राजनीतिबिना केही चल्दैन । गीत सङ्गीतमा कार्यक्रमदेखि बजारमा गीत चलाउनसम्म राजनीति हुन्छ । म नेपाली काँग्रेस निकट साँस्कृति सङ्घको केन्द्रीय कोषाध्याक्ष हो ।

म सानैदेखि काँग्रसको ‘चारतारे झण्डा फाराई देउ नेपाली जनता मिलेर’ गीत गाउँदै हुर्किए । परिवार पनि काँग्रेसी । विपक्षले पनि यो त काँग्रेसी भनेर त्यहीअनुसारको व्यवहार गर्‍यो । अनि म काँग्रेसमा लागेँ । काँग्रेसमा सक्रिय रूपका लागेको २०६३ देखि हो ।

काँग्रेसको सबैभन्दा बढी गीत गाउने मानिस मै हुँ । काँग्रेसले पहिले गीतसङ्गीतलाई त्यति प्राथमिकता दिँदैन थियो । काँग्रेसमा गीतसङ्गीत चाहिन्छ भनेर वातावरण निर्माण गर्ने हामी हौँ ।

काँंग्रेसी भएका कारण कहिले सजिलो भयो, कहिले गाह्रो । अहिले त्रिवेणी गाउँपालिकाको प्रमुखमा टिकट पाएकी छु । राजनीतिमा निरन्तर लागिरहन्छु । राजनीतिमा लागिरहँदा एक दिन देश हाँक्ने इच्छा राख्नु स्वाभाविक नै हो ।

कृष्णसँग विवाह

विवाह २०६० मा कृष्णबहादुर पुनसँग गरेकी हुँ । आफ्नै पेसासँग सम्बन्धित र ठाउँ पनि एउटै रोल्पा जिल्ला । पहिलेदेखि नै मेरो अभिभावक जस्तै हुनुहुन्थ्यो । उहाँ जिल्लामा सबैको आँखामा परेको मानिस, अनुशासित, पढेलेखेका । उहाँको नाम कृष्ण मेरो राधिका । कृष्णलाई मनपर्ने राधिका भन्थे । नामका कारण हाम्रो जोडी जुर्यो । प्रेम विवाहपछि प्रेम बस्यो ।

सपना छैन

सपना केही छैन । एउटा छोरी छिन् । उनकै लागि केही गर्नुछ । सङ्गीत क्षेत्रमा नाम र व्यवसाय दुवै छ । अहिलेसम्म सबै कुरो पुगेकै छ । विदेशका कतिपय देशमा बुढ्यौलीमा नागरिकको जिम्मा राज्यले लिन्छ । हाम्रो देशमा पनि त्यस्तो व्यवस्था गर्ने सपना छ । जब राज्यले नागरिकको जिम्मा लिन्छ, त्यसपछि भ्रष्टाचार, सम्पत्ति कलेक्सन घट्छ । ७ पुस्तालाई पुग्ने सम्पत्ति कसैले जोड्दैन ।

शास्त्रीय सुन्छु

म मान्छे रोमान्टिक हुँ । तर गीतसङ्गीत गहन, सेन्टिमेन्टल खालका सुन्छु । कतिपयले गीतसङ्गीतका हाम्रो मात्र सुन्नुपर्छ भन्छन् । मेरो विचारमा विश्वका सङ्गीत सुन्नुपर्छ । त्यसैले म हिन्दी, अङ्ग्रेजी, नेपालीलगायत सबै देशका सङ्गीत सुन्छु । गीतसङ्गीत सुन्ने भनेको यात्रा गर्दा र एक्लै हुँदा । लता मङ्गेस्कर, नारायण गोपाल लगायतका नयाँ पुराना सबै गायक गायिकाका गीत सुन्छु म ।

भुल कसले गर्दैन ?

जीवनमा भुल कसले गर्दैन र ? जानी नजानी धेरै भुल मबाट पनि भए होला । सधैँ पछुताउनुपर्ने भुल गरेजस्तो लाग्दैन । म भुल सुधार्दै लाने मानिस हो । कोरोनाको लकडाउनमा स्टुडियो, कर्मचारी बसेको र आफू बसेको घरभाडा तिर्नुपर्दा स्टुडियोभन्दा घर बनाएको भए हुन्थ्यो कि जस्तो लाग्यो । घर नबनाएर भुल गरेँ कि भन्ने भयो ।

चाँडो विश्वास गर्छु

जसलाई पनि चाँडो विश्वास गर्छु । त्यसले धेरै पटक धोका पाएकी छु । त्यो रियलाइज गरेकी छु । यो बानीले धेरै असर गरेको छ । अरूलाई विश्वास गर्दा धेरै खतरनाक जालमा परेकी छु । मृत्युको सामना पनि गर्नुपरेको छ । धेरैबाट धोका पाएकी छु ।

जीवन सङ्घर्ष

जीवन एउटा सङ्घर्ष रहेछ । सुख, दुःख जीवनको पाटो । आफूले गर्दिए र वा भनेर कसैको काम बन्यो । अनि उसले हजुरले गर्दा मेरो यो काम भयो भनेर भन्यो भने धेरै खुसी लाग्छ । दिलबहादुर बचाउन अभियान चलाएर उसलाई मृत्युबाट फिर्ता ल्याउन सकेकोमा सबैभन्दा धेरै खुसी ।

त्यो रोगथियो

भगवानको कृपाले अहिले रोग कुनै रोग छैन । केही अगाडि गाइनो, एपेन्डिसाइट र मिर्गौलाको एकसाथ अप्रेसन गरेको हो । किड्नीको अपरेसन दुई दिन ढिला भएको भए म बाँच्ने थिइन, त्यो समय लक्किले बाँचे ।

पहिले गर्थे मापसे

कहिलै मापसे गर्दिन थिएँ । साथीहरूले कस्तो पाखेको सङ्गत भयो भनेर गिज्याउन थालेदेखि वाइन लिन को छु । अरूलाई खुवाउने गर्छु । कतिपयले घरमा रक्सी सजाएर राखेका छन् । मलाई त्यो मनपर्दैन ।

राशि ‘मेष’

मेरो राशि ‘तुला’ हो । ग्रहदशामा विश्वास लाग्छ । कहिलेकाहीँ हेराउने जुराउनेसमेत गर्छु । पूजापाठमा एक दमै विश्वास लाग्छ । मन्दिर पनि जान्छु ।

मृत्यु सत्य हो

मृत्यु निश्चित छ । त्यो सत्य हो । एक दिन अवश्य आउँछ । कसरी कुन रूपमा आउँछ । त्यो कसैले भन्न र चिन्न सक्दैन । सहज मृत्य होस् । यही हो मेरो प्रार्थना । मृत्युपछि पनि मानिसले सम्झने काम केही त मबाट को होला कि । अझै धेरै गर्ने इच्छा छ ।