बैशाख ९, २०८१ आईतबार

आज माघे सङ्क्रान्ति, माघी तथा नरहरी पर्व



आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।

थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ ।

थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ ।

पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ ।

पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ ।

कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्ने चलन रहेको छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ ।