बैशाख १३, २०८१ बिहीबार

जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व: नागरिकका भरपर्दा जनप्रतिनिधि !



स्याङ्जा – स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् ।

जिल्लाफेदीखोला– ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी– ४ मा जीतकुमारी चापागाई र हरिनाश– ७ मा केशमाया थापा विजयी भएका हुन् । उनीहरु नेकपाबाट विजयी बनेका हुन् । उनीहहरुले संगालेका अनुभव रोचक छन् ।

जनताले पाँच वर्षका लागि दिएको अवसरलाई सदुपयोग गर्दै केही गरेर देखाउनुपर्छ भन्ने दृढ सङ्कल्पका साथ तल्लीन छन् महिला जनप्रतिनिधिहरु ।

फेदीखोला – ५ को वडाध्यक्ष गुरुङ वडाध्यक्ष बन्नु पूर्वगैरसरकारी संस्थामा कार्यरत थिइन् । विसं २०६८ देखि गैरसरकारी संस्थामा काम गर्थिन्।
“निर्वाचनका बेला वडावासीसँग वडाका समस्या समाधान गर्नका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएकी थिएँ”, उनले भनिन्, “मैले वडावासीमाझ लगेका मुद्दाप्रति विश्वास गर्नुभयो र मलाई जिम्मेवारी सुम्पनुभयो, मलाई प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने दृढ सङ्कल्पसहित अगाडि बढेकी छु, मलाई विश्वास छ पूरा गरेरै छाड्ने छु ।”

वडामा विशेषगरी भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष गुरुङले जानकारी दिइन् ।

“गाउँ कार्यपालिका तथा वडा कार्यालयमार्फत नयाँ नयाँ कार्यक्रम ल्याएर मात्रै नहुने रहेछ”, उनले भनिन् “समुदायस्तरबाट पनि चासो लिनु आवश्यक रहेछ, चासो लिएको खण्डमा वा दुवै पक्षको सामूहिक प्रयासबाट मात्रै सफलता हात लाग्ने रहेछन् ।”

महिला दिदीबहिनी आफ्नो मनमा लागेका कुरा भन्नै हिच्किचाउने गरेको अनुभव वडाध्यक्ष गुरुङसँग छ । वडावासीका कुरा सुन्न र महिलाका कुरा सुन्न आफू गाउँगाउँमै जाने गरेको बताउछिन् ।

“हाम्रो समाजमा अझै पनि पितृसतात्मक सोंच जीवितै छ”, उनले भनिन्, “हामी महिला भएर नेतृत्व सम्हाल्दै गर्दा त अझै पनि हामीमाथि कहिलेकाहीँ महिला भएकै कारण समाजको दृष्टिमा निर्णायक भूमिका खेल्न सक्दैनन् कि भन्ने सङ्कीर्ण सोंच राखेको देख्न अनि सुन्न पाउँछौँ ।”

फेदीखोला – ५ को वडाध्यक्ष देउकुमारी गुरुङ

घरायसी कामधन्दामै ब्यस्त रहने र पार्टीले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरी पार्टीका गतिविधि तथा सङ्गठन विस्तारमा लाग्ने अर्जुनचौपारी– ४ की जीतकुमारी चपाईलाई वडाध्यक्षमा उठ्छु जस्तो कहिल्यै लागेको थिएन ।

अखिल नेपाल महिला सङ्घका सक्रिय राजनीति गरेकी उनी जनप्रतिनिधि हुँदा बिहान साँझ हिँडडुल गर्न गाह्रो हुन्छ जस्तो लाग्ने गरेको बताउछिन् ।
आफू राजनीतिमा आउनुको पछाडि घरपरिवारको पूर्ण साथ र सहयोग रहेको उनले बताइन् । “महिलाले नेतृत्व गर्दै गर्दा अली बढी कानूनी प्रक्रियामा सक्षम हुनुपर्छ जस्तो लाग्यो”, उनले भनिन्, “समाजमा अझै पनि पितृसतात्मक सोंच हाबी भएको देख्छु, जुन संस्कारले हामीले गर्ने निर्णय प्रक्रियामा पेल्न खोज्ने, काम गर्ने शिलशिलामा अप्ठ्यारो पार्न गर्न खोज्ने अनुभव मैले संगालेकी छु ।”

उनले निर्वाचनका बेला खानेपानीको समस्या रहेको रापाकोटको ठूलो दलित बस्तीमा खानेपानीको धारा ल्याउँछु र शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गरिन्। उक्त ठाउँमा अहिले रु एक करोड १४ लाखको लागतमा २५० दलित बस्तीको घरधुरीमा ‘एक घर, एक धारा’ को योजनाअन्तर्गत खानेपानी वितरण गरिएको उनले जानकारी दिइन् ।

अर्जुनचौपारी– ४ की वडाअध्यक्ष जीतकुमारी चापागाई ।

उनले धार्मिक एवं पर्यटकीय दृष्टिले महत्व राख्ने एकानन्द गुफामा मोटरबाटो निर्माण गरिएको, वडाभित्र रहेका उर्वरायुक्त जमीनमा सिँचाइको सुविधा पु¥याउन कुलो निर्माण तथा पुराना कुलाको मर्मतसम्भार गरिएको, खोला तथा खोल्सीमा पुलपुलेसा निर्माण गरी आवतजावतमा सहजता ल्याइएको बताइन् ।

वडाभित्र अझै पनि कतिपय घरधुरीमा आर्थिक अभावकै कारण कच्ची शौचालय रहेका वा शौचालय नै नभएका घरमा पक्की शौचालय वडाले निर्माण गरिदिएको छ । “भैँसीको पाडापाडी संरक्षण नगरेकै कारण अहिले भैँसीको मूल्यवृद्धि भएको छ”, उनले भनिन्, “हामीले पाडापाडी संरक्षणका लागि विशेष कार्यक्रम ल्याएका छौँ जसले पाडापाडी संरक्षण गर्नमा सघाउ पुग्ने र भैँसीको अहिले आकासिएको मूल्य घटेर जानेछ ।”

वडाले महिला, बालबालिकाका क्षेत्रमा पनि विशेष कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष चापागाईले बताइन् ।
महिला तथा बालबालिकाको मनोसामाजिक क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा कामको अनुभव संगालेकी छन् केशमाया थापाले ।

राजनीति गर्दै नगरेको तर सामाजिक कार्यमा सक्रिय भएकै कारण वडाध्यक्षको टिकट पाएपछि राजनीतिमा प्रवेश गरेकी उनले आफूलाई सस्था स्थानीयसँग चिनजान हुन र सामाजिक काममा सक्रिय हुने अवसर मिलेको बताइन् ।

आफ्नो बुबाले नेकपामा रहेर राजनीति गर्ने भएकाले पनि स्वभाविकै मलाई पनि राजनीतिमा लाग्न अभिप्रेरित गर्नुभयो र जनप्रतिनिधिको जिम्मेवारीसमेत प्राप्त भएको उनको भनाइ छ । “हालको हरिनाश साविकको क्याक्मी गाविस विकट रहेकै कारण पनि केही गाउँमा विद्युत् पुगेको थिएन, यहाँका जनता अँध्यारोमा बस्न बाध्य थिए”, उनले भनिन्, “मैले निर्वाचनका बेला यहाँका स्थानीयसँग गाउँलाई उज्यालो बनाउनेसहितका गाउँका जल्दोबल्दो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएँ, जनताले विश्वास मान्नुभयो र विजयी बनाउनुभयो ।”

हरिनाश– ७ की वडाअध्यक्ष केशमाया थापा ।

निर्वाचनका समयमा जनतामाझ विद्युतीकरण गर्ने प्रतिबद्धता आफूले पूरा गरेको र अन्य समस्याका बारेमा निरन्तर लागिरहेको उनले बताइन् । वडाले विशेषगरी विद्युतीकरण, सडक, कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको छ ।

“यहाँका युवालाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सकियोस् भनेर हामीले कृषि तथा पशुपालन कार्यक्रमका लागि बजेट धेरै विनियोजन गरेका छौं”, वडाध्यक्ष थापाले भनिन्, “कृषकलाई प्रोत्साहन दिन, बीउबिजन खरीद तथा यान्त्रिक उपकरणहरु उपलब्ध गराउँदै आएका छौं र उत्पादित वस्तुको बजारीकरणका लागिसमेत समन्वयकारी भूमिका खेलेका छौं ।”

स्थानीयवासीसँगै बसेर उहाँहरुका समस्या समाधानमा लाग्दालाग्दै छिटै समय बितेको बताउने उनले फेरि पनि यसरी नै वडावासीको सेवामा लाग्ने इच्छा रहेको बताइन् ।

जिल्लामा हाल तीन वडाध्यक्षसहित जिल्ला समन्वय समिति र पुतलीबजार नगरपालिकाको प्रमुखमा महिलाको नेतृत्व रहेको छ । जिल्ला समन्वय प्रमुखमा सीताकुमारी सुन्दास र पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्रीले नेतृत्व गरिरहेका छन् । सुन्दास जिल्ला समन्वय महासङ्घको केन्द्रीय अध्यक्षसमेत छिन् ।