बैशाख १२, २०८१ बुधबार

९ महिनादेखि बन्द विद्यालय, जीमखाना र सिनेमा हल खोल्न दिने सरकारको निर्णय



सरकारले कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन दिने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)  को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो ।

सीसीएमसीको निर्णयपछि विगत ९ महिनादेखि घरैमा बस्न बाध्य बालवालिकाहरू अब विद्यालय जान पाउने भएका छन् ।

तर कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीले निर्णय गरेको छ ।

आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

आइतबारको सीसीएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।

आइतबार सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ ।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका २०र२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।