बैशाख १२, २०८१ बुधबार

५ सय उपप्राध्यापकका लागि जागिर खुल्दै



काठमाडौँ-  त्रिभुवन विश्वविद्यालययले चाँडै खुल्ला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिना भित्रै खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले भने “पाँच सय भन्दा बढी प्राध्यापक पदका लागि प्रक्रिया अगाडी बढाइएको छ । एक महिना भित्रै यसको सबै टुङ्गगो लगाइनेछ । ”

उनले उपप्राध्यापकको खुल्ला प्रतियोगिताको सुरुवातसंगै सह प्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटो समेत खुल्ने जानकारी दिए । विश्वविद्यालयले परिक्षा प्रणालीमा पनि आवश्यक सुधार हुदैँ गएको चर्चा गर्दै उपकुलपति बास्कोटाले यो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर,सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रिया बारे चनाखो हुनुपर्ने अवस्था रहेको बताए ।

उनले कतिपय विषयमा दरबन्दी साटफेर गरेर भएपनि पदपुूर्ति गर्ने योजना रहेको सुनाउदैँ यसका लागि दरबन्दी संकलनको अन्तिम चरणको काम भइरहेको बताए ।

यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दी समेत संकलन गर्ने काम भइरहेको छ । अब विश्वविद्यालयको रिक्त दरबन्दीको आधारमा हरेक बर्ष खुल्ला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने जनाइएको छ ।गोरखापत्रबाट