बैशाख १, २०८१ शनिबार

कृषि विश्वविद्यालयको रजिष्टार र सेवा आयोगको अध्यक्ष दुबै पदमा महिला



सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्टारमा प्रा.डा. शारदा थपलिया र विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्टार र त्रिपाठी सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

उनीहरुलाई नियुक्त गर्नका लागि उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले सिफारिस गरेका थिए । रजिष्टारमा नियुक्त थपलिया यसअघि पनि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टार भइसकेकी थिइन् । सो विश्वविद्यालयको रजिष्टार पद भने प्रा.डा. मनराज कोलाक्षपतिको पदावधि सकिएपछि गएको माघ १२ गते देखि रिक्त थियो ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष नियुक्त प्रा.डा. कल्याणी मिश्र त्रिपाठीलाई विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।

तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एक जना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो ।