>

कार्तिक ११, २०७८ बिहीबार

केटुको टाकुरामा नेपाली झन्डा र राष्ट्रिय गीत



काठमाडौँ । संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटु ‘हत्यारा हिमाल’का नामले चिनिन्छ । नचिनियोस् पनि किन ? आरोहण गर्न जाने तीनजनामध्ये एकजनाको ज्यान यो हिमालले लिने गरेको छ ।

तर, मृत्यु समानको यो हिमालको चुचुरोमाथि नेपाली साहसी आरोहीहरूले हिउँदकै समयमा विजय प्राप्त गरे । कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको १० जनाको समूहले विश्वभरका पर्वतारोहीलाई चकित बनाउँदै यो हिमाल हिउँदको समयमा चुमेर इतिहास रच्यो ।

मृत्युलाई चुनौती दिँदै उनीहरूले नेपालको राष्ट्रिय गान गाउँदै आठ हजार ६ सय ११ मिटर अग्लो चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराए ।

पाकिस्तानमा रहेको माउन्ट केटु विश्वको दोस्रो अग्लो हिमशिखर हो । वसन्त ऋतुमा ३१ जुलाई १९५४ मा माउन्ट केटुको सफल आरोहण भएको थियो । तर, आरोहीहरूले ३८ वर्षदेखि हिउँदमा पनि यो हिमाल आरोहणको प्रयास गरे पनि कोही पनि सफल हुन सकेको थिएन ।

नेपाली आरोहीको टोलीले हिउँदमा यो हिमाल आरोहण गरेर नयाँ कीर्तिमान मात्रै राखेनन्, सम्भवतः तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहणपछि विश्वभर पाएजस्तै चर्चा उनीहरूले पनि पाए ।

माउन्ट केटु हिमाल आरोहणको पहिलो प्रयास १९०२ मा भएको थियो । तर, त्यसको ५२ वर्षपछि १९५४ मा मात्रै पहिलो आरोहण सफल भएको थियो । तत्पश्चात् वसन्तकालीन हिमाल आरोहणका क्रममा हालसम्म दुई सय ६० आरोहीले सफलता हात पारेका छन् ।

हिमाल आरोहणमा जाने २९ प्रतिशत आरोहीको मृत्यु भएको तथ्यांकले देखाउँछ । यस तथ्यांकले नै केटु आरोहण चुनौतीपूर्ण रहेको र यसका लागि अदम्य साहस, बहादुरी, इच्छाशक्ति चाहिन्छ भन्नेमा दुईमत छैन ।

माइनस ६५ डिग्री तापक्रममा दुई सय किलोमिटर प्रतिघन्टाको गतिको वेगले चल्ने हावा, पातलो वायुचाप र अक्सिजनको कमीमा ठाडो उकालो हिउँमाथि चढ्न पक्कै सजिलो काम थिएन ।

त्यसमा पनि बारम्बार गइरहने हिमपहिरो र खसिरहने ढुंगाका बीच आफूलाई सुरक्षित राख्दै सयौँ मिटर गहिरा खर्पसहरूबाट जोगिँदै केटुजस्तो अति नै ज्यानमारा तथा टेक्निकल पिकको सफल आरोहण गर्न अदम्य साहस चाहिन्थ्यो ।

तर, गत मंसिरबाट सुरु भएको केटुको विन्टर समिटमा सफलता प्राप्त गरेर १० नेपाली आरोहीको टोली मंगलबार स्वदेश फर्किएको छ ।

केटुको विन्टर समिट एक्सपिडिसनको सुरुवात १९८३ देखि सुरु गरिए पनि ३८ वर्षमा कुनै पनि आरोही सात हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् ।

सन् २०२१ जनवरी १६ अर्थात् ०७७ माघ ३ गते ३८ वर्षपछि पहिलोपटक विन्टर समिट एक्सपिडिसनमा भाग लिएका १० जना नेपाली आरोहीले आरोहण सफलतापूर्वक गरेका छन्, जुन आरोहण दलको नेतृत्व गरेका थिए निर्मल पुर्जाले ।

१६ वर्ष ब्रिटिस गोर्खा सेनामा जागिर खाएका पुर्जाकै अगुवाइमा मिग्मा शेर्पा, मिङ्मा ग्याल्बु शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, दावा तेन्जिङ शेर्पा, पेमा छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेम्बा शेर्पा र सोना शेर्पाको समूहले सफलता प्राप्त गरेको हो । आरोहण टोली डिसेम्बर ६ मा नेपालबाट हिँडेको थियो ।

‘हामी यो वर्ष जानै चाहँदैन थियौँ । किनभने पैसाको अभाव थियो,’ आरोहण दलका संयोजक निर्मल पुर्जाले भने । तर, टिमले जाने भन्ने कुरा गरेपछि गत भदौदेखि तयारीमा लागेको पुर्जा बताउँछन् ।

विनाअक्सिजन कठिन समयमा हिमाल अरोहणको अभियानमा लागेकाले मनका केही डर भए पनि साहस भने बढ्दै गएको पुर्जाले बताए ।

‘३८ वर्षपछिको रेकर्ड तोड्नका लागि आतुर थियौँ, तर एक्लै होइन १० जना एकैसाथ आरोहण गर्न चाहन्थ्यौँ,’ पुर्जाले भने । दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनविना नै आरोहण गरेका थिए ।

सुरुमा तीनवटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए । ‘आरोहण हुनुभन्दा १० मिटर तल हामी एकैसाथ भेला भयौँ र सँगै पाइला टेकेर नेपाली झन्डा फरफराउँदै राष्ट्रिय गान गायौँ,’ पुर्जाले भने ।

‘आरोहणको दिनमा राति एकदमै जाडो थियो । माइनस ६५ डिग्री सेल्सियस तापक्रम थियो । आरोहण दलमै रहेका साथीहरू अब यतैबाट फर्किने कि भन्ने सोचमा पनि थिए ।

माउन्ट केटुको क्याम्प–३ मा थियौँ । समिट हुने हो वा नहुने भन्ने निश्चित थिएन,’ भक्कानिँदै पुर्जाले भने, ‘सहयोग भन्ने त नेपाल सरकारबाट भएन । तैपनि हामीले आँट गर्यौँ । अधिकांश पैसा आफैँ खोज्यौँ । केही विदेशी एजेन्सीले सहयोग गरे,’ पुर्जाले भने ।

आरोहणमा प्रतिव्यक्ति ४० हजार डलर खर्च भएको उनले जानकारी दिए । ‘१० जनाको कुल खर्च अनुमानित चार लाख डलर भएको छ,’ उनले भने ।

नेपाल आठ हजार मिटरभन्दा अग्ला हिमालको घर हो । १४ वटा हिमालमध्ये आठवटा नेपालमै रहेका छन् । ‘नेपालमा आज सम्भवतः

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीपछि सबैभन्दा ठूलो समाचार आज बनेको छ, यसमै खुसी छौँ,’ पुर्जाले भने । टिमका सबै सदस्यले आफ्नो गोजीको पैसा झिकेर पाकिस्तानतिर लागेको पुर्जाले बताए ।

तर, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी आरोहणमा जानुभन्दा अगाडि नेपाल पर्यटन बोर्डमा यस्तो कुनै पनि प्रस्ताव नआएको बताउँछन् । ‘हामीलाई आरोहण दलले यो महत्वका विषयमा जानकारी गराएन, तर आरोहणपछि मात्रै विषयहरू आए, तैपनि बोर्ड यसको प्रवद्र्धनमा लाग्नेछ,’ रेग्मीले भने ।