बैशाख १४, २०८१ शुक्रबार

महिला आयोगले स्थानीय तहसम्म सम्पर्क स्थापित गर्छ : अध्यक्ष पराजुली



काठमाडौँ- राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसम्म सम्पर्क स्थापित गर्ने भएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगतरुपमा पहल गर्दै स्थानीय तहसँगको समन्वय बढाइने बताएकी हुन् ।

पदबहालीको भोलिपल्ट बिहिबार भद्रकालीस्थित आयोगको कार्यालयमा उनले केन्द्रमा रहेका सेवालाई गाउँगाउँसम्म कसरी लैजाने भन्ने विषयमा आफ्नो पहिलो प्राथमिकता हुने र एक महिनाभित्र अनुभूत हुने तथा परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

“महिलामाथि हुने नयाँनयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने छ ।” उनले भने, “स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ ।”

आयोगमा अध्यक्ष पराजुली र सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले बिहीबार सपथ ग्रहणपछि पदबहाली गरेका थिए । महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि विसं २०५८ मा आयोगको स्थापना भएको थियो । लामो समयसम्म रिक्त संवैधानिक आयोगमा बिहीबार नियुक्ति भएको थियो ।