चैत्र १५, २०८० बिहीबार

भागरथी भट्टको हत्या अघि २ जनाले सँगै चाउचाउ खाए, केहीबेरमै मोबाइल स्विच अफ…



बैतडी – दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या अघि दिउँसो भीरकटया भिरमा २ जनाले चाउचाउ खाएको पत्ता लागेको छ ।

माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेटमा सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेर विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकटया भिरमा २ जनाले सँगै खाएको पत्ता लागेको हो । ‘भीरमा २ जनाले चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। दुवै त्याे भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ त्याे भिरबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ।

भागरथी विद्यालयबाट हिँडेको १ घण्टामै उनको मोबाइल स्वीच अफ भएको छ । त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको प्रहरीले जनाएको छ।

उनको शव नजिकै झन्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ।

‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा पर्‍यो। तर, अभियुक्त भीरतिर लागेको अनुमान भने गर्न सकिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले बास्ना कुकुरले पत्ता लगाउन सकेन।’ साे बारे अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ। तर, प्रहरीले कुनै तथ्य बाहिर ल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ।

भागरथीका मोबाइलका दुई सिममध्ये उसका बुवाले प्रयोग गर्ने नेपाली नम्बरको सीमबाट त्यो दिनभर कल भएको छैन। अर्को सीम भारतीय मोबाइल कम्पनीको छ। ‘भारतीय मोबाइलमा केही कल देखिन्छन्। तर, नेपाली सिममा गरिएको कलका आधारमा प्रहरीले खासै सुराक फेला पार्न सकेको छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएकाे प्रहरी बताउँछ । साेही ठाउँमै रगत बगिरहेको भेटेको छ। भागरथीको सर्टको बटन र दुईवटा कपाल बाट्ने रबर पनि भेटिएका छन्। उनको च्यातिएको अवस्थाको ज्याकेट पनि भेटिएको छ। भागरथीको झोला भने भिरेकै अवस्थामा थियो।

भीरकट्याबाट घटनास्थलसम्म जाने बाटाेमा दुईवटा बस्ती छन्। ‘त्यो बस्तीका मानिसले उनलाई गएको देखेका छैनन्। हामीले एक/एक गरेर सबैलाई सोधिसक्यौं तर कोही देखिन भन्छन्। सिल्ल भन्ने बस्तीबाट छिरेको भए कसै न कसैले देख्थे। तर, कतै गाउँभन्दा फरक बाटोबाट लगियो कि भनेर पनि अनुसन्धान भइरहेको छ।

प्रहरीको कुकुरले पनि प्राय: हिँड्ने गरिएको सडक मुनितिरको वनलाई पछ्याएको थियो ’, एक प्रहरी अधिकृतले भने। तर भागरथीका काका शिवराज भट्टले सडक नजिक घटना भएकाे मान्न तयार छैनन्  । ‘त्यो दिन स्कूलका निर्माण सामग्री पुर्‍याउन चारवटा ट्र्याक्टर र मानिसको ओहोर दोहोर थियाे, त्यही सडकको ३० मिटरमा बलात्कार हुनै सक्दैन’, भट्टले भने ।

आमा रुन्छिन्, गाउँले बोल्दैनन् :
भागरथीको घरको आँगनमा मानिसहरू जम्मा हुन्छन, आँगनमा सेतो परिहनमा रोइरहेकी हुन्छिन उनकी आमा द्रोपती भट्ट । मधुमेहबाट पीडित श्रीमान ५० वर्षीय कृष्णानन्द भट्टको पुस ७ गते धनगढीको सारथि अस्पतालमा निधन भएपछि उनले सेतो लुगा पहिरिएकी छन्।

त्यहाँ भेला भएका मानिसबीच द्रोपती भक्कानिँदै भन्छिन् , ‘तई झट्ट घर आ भण्या, मुई कईका मुख हेरिबरे भीतर झाउँ ?’ अर्थात् ‘तँ छिटो घर आइज, म कसको अनुहार हेरेर भित्र जाऊँ ?’ उनको यो भनाईले त्यहाँ उपस्थित भएका सबैको मन पनि भक्कानिन्छ । घरभित्र रहेका भागरथीका सामान आफन्तको माथिल्लो घरमा सारिएका छन्।

‘भित्र जाने, उसको लुगा समातेर रुने, उसको पर्समा फोटो हेरेर कराउने, उसको काइँयो र प्रयोग गर्ने सामान भेट्यो कि रोइ हाल्ने भएकाले सामान सारिएको छ’, भागरथीका काका शिवराज भट्टले भने।माघ २१ गते बिहान द्रोपतीलाई घरधन्दामा सघाएर स्कूल गएकी भागरथीको शव अर्काेदिन जंगलमा भेटिएकाे थियाे ।

त्यो दिन बिहान गोठपात (वस्तुभाउको गोठको काम) गर्दा गर्दै ढिलो भएकोले खाना नपाकेपछि भागरथीले रोटी खाएर विद्यालय गएकी थिइन्। ‘विद्यालय जानुअघि खाना बनाउँथेँ। तर, त्यो दिन ढिलो भयो भनेर बासी रोटी खाएर स्कुल गई। एक चुल्ठी बाटिरहेकी थिई। मलाई मम्मी अर्को तँ बाँटी दे भनी, हतार भएकाले होला, सधैँ दुई चुल्ठी बाटेर मात्र हो स्कुल जाने’ भक्कानिँदै द्रोपतीले भनिन्, ‘मेरी छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ।’

भागरथीको हत्यापछि गाउँ छिरेका प्रहरीलाई चडेपानीका स्थानीयले खासै सूचना दिएका छैनन्। ‘स्थानीयले आन्दोलन नगरिदिएर हामीलाई धेरै सहयोग भइरहेको छ। तर, उनीहरू खासै बोल्न मान्दैनन्’, खोचलेक प्रहरी चौकीमा रहेका डीआईजी सुवेदीले भने। उनले जनताका तर्फबाट पाउने सूचना नै अनुसन्धानका लागि मुख्य स्रोत भएको बताए।

‘सुरुका बेला त कोही बोल्नै मानेनन्, केही थाहा छ भने थाहा छैन भनेर पन्छिए’, उनले भने, ‘तर अहिले अलि–अलि सूचना आउन थालेको छ।’ प्रहरीले भागरथी हत्यामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको छ। स्थानीयवासी प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गर्छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा फरार, त्यो दिन चलेका ट्र्याक्टर, मोटरसाइकल सहित सबैलाइ अनुसन्धानको दायरामा ल्याइसकेका छौं’, डीआईजी सुवेदीले भने, ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैँ छन् । चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन। अनुसन्धानको दायरामा आएका सबै पक्राउ सरह नै हुन्।’

शारीरिक रूपमा सुन्दर भागरथी पढाइमा उस्तै अब्बल थिइन्। माघ २१ गते ८ बजेतिर घरबाट हिँडेकी भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित लवलेक सामुदायिक वनमा हत्या भएको थियो। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका दाजु केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका उनी बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

‘बहिनी मभन्दा पढ्नमा पनि अब्बल थिई। उसले पढ्छु भनेपछि म भारत हिँडेँ’, उनले भने, ‘अझ आमाको पनि उत्तिकै ख्याल राख्थ्यो। त्यसैले कि’रियामा रहेकी आमालाई भागरथीको जिम्मा छाडेर भारत हिँडेको हुँ।’ उनी बहिनीको बारे थाहा पाएर माघ २४ गते घर फर्किएका हुन्।

उनले, घरमा बुवाको मृ’त्यु भइसकेको र आफू पनि भारतमा रहेकाले कुनै पा’पीले यसको कोही छैन भनेर यस्तो कुकृत्य गरेको हुन सक्ने अनुमान गरे। ‘चिनेजानेका मानिसका लागि मायालु थियो। कसैसँग बिराएर नबोल्ने’, उनले भने, ‘म घरपरिवारको केयर गर्छ भनेर ढुक्क थिएँ। तर, यस्ताे भयो।’ भागरथीको हत्यापछि परिवारलाई सान्त्वना दिन मावलतिरकी बज्यै नारुदेवी चडेपानी आएकी छन्।

‘तेरो अनुहार पटक–पटक सम्झना आइरहेको छ, एकै पटक आइजा’, उनले बिलौना गरिन्। भागरथी ती बज्यैलाई असाध्यै माया गर्थिन्। चडेपानी गाउँमा अहिले सन्नाटा छ। गाउँभरिका मानिस द्रोपतीलाई भेट्न आइरहन्छन्।

अधिकारकर्मी, जनप्रतिनिधि र प्रशासनिक व्यक्तिहरूको त चडेपानीमा बाक्लो आवतजावत छ। ‘हत्यारा कुनै पनि दल वा गाउँ वा समुदायको भए पनि उम्कनुहुन्न। हामीले यसमा खबरदारी गरिरहेका छौं’, सोही क्षेत्रका प्रदेश सभा सदस्य लीलाधर भट्टले भने, ‘अकल्पनीय र निन्दनीय घटना भएको छ। अहिले चडेपानी चुप छ। त्यो भनेको अनुसन्धानमा सहज होस् भनेर मात्रै हो, १० दिनसम्म पनि हत्यारा पत्ता लागेको छैन, स्थानीयको धैर्यलाई कसैले कमजोरी नठानोस्।’

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले ढुक्क भएर अनुसन्धान गर्न आग्रह गरेको बताए। प्रदेश तथा संघीय सरकारलाई पीडितलाई राहतका लागि आग्रह गरिएको अध्यक्ष कार्कीले बताए।

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा छ। ‘निर्मला घटनामा धेरै त्रुटि थिए, त्यो हाम्रा लागि सिकाइ पनि रह्यो, त्यही सिकाइबाट हामीले भागरथीकोमा अब्बल अनुसन्धान गरेका छौं। प्रदेशभरिका अनुसन्धानविज्ञ अनुसन्धानमा खटिएका छन्, सीआईबीको प्राविधिक टोली पनि यतै छ। त्यसैले दोषी पत्ता लाग्छ’, डीआईजी सुवेदीले भने।