बैशाख २१, २०८१ शुक्रबार

मदानेका सबै विद्यालयमा स्यानेटरी प्याड डिस्पोज गर्ने इन्सिलेटर



गुल्मी । गुल्मीको मदाने गाउँपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त गाउँपालिका घोषणा गरिएपछि सबै विद्यालयमा स्यानेटरी प्याड डिस्पोजल गर्ने इन्सिलेटरको व्यवस्था गरिएको छ ।

गाउँपालिका भित्र सञ्चालित सबै विद्यालय महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त भएपछि तत्कालिन श्रम तथा रोजगारमन्त्री एवं गुल्मी २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले २०७५ असार ११ गते मदाने गाउँपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त गाउँपालिका घोषणा गरेका थिए ।

गाउँपालिकाभित्र निम्न माध्यमिक तथा माध्यमिक गरी १७ वटा विद्यालय सञ्चालित छन् । ती सबै विद्यालयले सुरक्षित महिनावारीको क्षेत्रमा तोकिएका सवै सूचकहरु पुरा गरेका छन् । विद्यालयमा नियमित स्यानिटरी प्याडको व्यवस्था, फोकल शिक्षिका, सञ्जाल गठन र सवै किशोरीलाई सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिमुखीकरण गरिएको छ ।

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त गाउँपालिका घोषणा भएपछि झण्डै एक हजार तीन सय किशोरी लाभान्वित भएको विद्यालय निरिक्षक टुकलाल सापकोटाले जानकारी दिए । छात्राहरु मासिक महिनावारी भएको बेला विद्यालय नआउँदा शैक्षिक गुणस्तर खस्किएको र कार्यक्रम संचालन गरेपछि छात्राहरुले आफ्ना समस्या खुलेरै राख्न थालेको उनले बताए । विद्यालयमा अध्यनरत छात्राहरु महिनाबारीको समयमा विद्याल आउन अफ्ठ्यारो मान्ने समस्या स्यानेटरी प्याड र इन्सिलेटरको सुविधाका कारण सहज भएको मदाने गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताइन् ।

नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधैं एउटा समस्याको विषय हो । ती समस्याहरुलाई बुझेर मदाने गाउँपालिकाका सबै विद्यालयमा सेफ्टी सेनेटरी प्याड इन्सिलेटर मेसिन राखिएको छ । जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ ।