चैत्र १५, २०८० बिहीबार

तेजाब आक्रमणमा परेकी मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने



काठमाडौँ : अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनले गर्दै आएको कामको लागि बिहीवार दूतावासले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्नेछन् ।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन्, जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम(प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।

यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकोले पुरस्कारको लागि छनौट गरेको दूतावासले जनाएको छ । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् ।

उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ’ मुस्कानलाइ फागुन २४ गते पुरस्कार प्रदान गरिने दूतावासले जनाएको छ ।