बैशाख ८, २०८१ शनिबार

पहिलो ट्रान्सजेण्डरद्वारा समाचारवाचिकामा डेब्यू



दुर्व्यवहार, हिंसा सामना गरेकी तथा आत्महत्याको प्रयास समेत गरेकी बंगलादेशकी एक महिलाले पहिलो ट्रान्सजेण्डर समाचारवाचिकाका रुपमा टेलिभिजनमा डेब्यू गरेकी छन् ।

२९ वर्षकी ताशुन्भा एना शिशिर पारलैंगिक महिला (ट्रान्सजेन्डर) हुन् । उनले अन्तर्राष्ट्रिय महिला दिवसका दिन सोमबार बंगलादेशको एक निजी टेलिभिजन च्यालनमा पहिलोपटक समाचारवाचन गरेकी हुन् ।सत्य बोल्न सक्ने बन्नका लागि अध्ययन तथा आफ्नो पेशागत जीवनमा प्रगतिका लागि प्रयास गर्दै आएकी उनले समाचारवाचिकाका रुपमा नयाँ अवसर प्राप्त गरेको बताएकी छन् ।

बंगलादेशमा झण्डै १५ लाख ट्रान्सजेण्डर छन् र उनीहरुमाथि विभेद र हिंसा हुने गरेको छ ।किशोरावस्थाको सुरुमा आफू ट्रान्सजेण्डर रहेको थाहा पाएकी शिशिरले मानसिक यातना र यौन हिंसा सहनु परेको थियो ।

पब्लिक हेल्थमा स्नातकोत्तर गरेकी उनी अहिले राजधानी ढाकामा एक्लै बस्छिन् । परिवारबाट पर रहेकी उनले समाचारवाचिकाका रुपमा सत्य पश्किने बताएकी छन् ।