>

चैत्र ३१, २०७७ मंगलबार

धेरै पढेर पनि घरधन्दामै सीमित हुनु परेपछि नेपाली भाषा सिक्दै भारतीय छोरीहरू



 काठमाडौं ।  भारतमा जन्मेर १२ बर्ष अघि नेपालीसँग बिहे गरेर आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनलाई अहिले अहिले नेपाली भाषा सिक्न भ्याइनभ्याइ छ ।

नेपाली भाषा नजानेका कारण आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न अप्ठेरो भएपछि उनी भाषा सिक्न थालेकी हुन् । औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा सञ्चालन गरेको एक महिने नेपाली भाषा प्रशिक्षणमा सहभागी भएपछि उनले अब भाषा सिक्नकै लागि पनि नेपालीमा बढी बोल्न थालेको सुनाइन्। ‘भाषा प्रशिक्षण कक्षामा लेख्ने अभ्यास गरेपनि घरपरिवार र छिमेकीसँग बोल्ने अभ्यास भइरहेको छ’, उनी भन्छिन्, ‘नेपाल आएको १२ वर्षपछि यहाँको भाषा सिक्न पाउँदा धेरै खुशी लागिरहेको छ।’

उनलाई अब माइत जाँदा आमाबुवा र भाइबहिनीसँग हिन्दीमा कुरा गर्दा प्रत्येक शब्दको नेपाली अर्थ सुनाउन मन छ । ‘त्यो बेला बडो रमाइलो हुनेछ’, उनले हाँस्दै भनिन् ।

बिहे गरेर नेपाल आएको २८ वर्षपछि नेपालगञ्जकी सन्ध्या गुप्ता नेपाली बोल्न अभ्यास गर्दैछिन् । घरमा सधैँ हिन्दी बोलिने भएकाले आफ्ना छोरा छोरीले पनि सानैदेखि हिन्दी मात्र सिकेको उनले सुनाइन्।

दुई छोरा र दुई छोरीलाई नेपाली भाषा समस्याकै कारण भारतमै अध्ययन गर्न पठाएको र अध्ययनपश्चात् उनीहरूले भारतमै जागिर गर्न थालेको उनले बताइन्। आफूले नेपाली भाषा सिकेरै छोड्ने उनको अठोट छ। छोरीहरूलाई नेपाली भाषा नआएकै कारण विवाह पनि भारतमै गरिदिने सङ्केत गर्दै उनले भनिन्, ‘भाषा सिक्न थालेपछि नेपाली भाषा असाध्यै मीठो लागेको छ, नेपाली सिक्छु अनि नेपाली छोरीलाई नै बुहारी बनाउने रहर छ।’

सपना र सन्ध्या मात्र होइन नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई गृहकार्य गराउन समेत समस्या भएपछि उनीहरूले नेपाली भाषा सिक्न थालेका हुन् । महिलाहरूले नेपाली भाषा सिक्न चाहेको थाहा पाएपछि औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा एक महिने नेपाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जसमा एक पटकमा १८ देखि २२ जना महिला सहभागी हुने गरेका छन्।

विद्यालयमा छोराछोरीको नाम लेखाउन, मासिक शुल्क बुझाउन, अस्पतालमा उपचार गर्न जाँदा र सरकारी कार्यालयमा कुनै काम विशेषले जाँदा भाषाकै समस्या हुने गरेको उनीहरू बताउँछन्। नेपालगञ्जको सदरलाइनकै अर्चना वैश्य भारतबाट विवाह गरेर नेपालगञ्ज आएको १४ बर्ष भइसक्यो, उनी पनि अहिले नेपाली भाषा सिक्दैछिन्।

संस्कृत विषयमा स्नातकोत्तर उनले बिहेअघि भारतमा शिक्षण पेशा गरेको तर नेपाल आएपछि भाषाकै कारण आफ्नो पढाइको महत्त्व हराएको बताइन्।  नेपाली भाषा सिकेपछि शिक्षण पेशा अँगाल्ने उनको इच्छा छ। उनको अनुभवमा भाषा समस्याले छोरा छोरीलाई अन्य विषयभन्दा नेपाली विषयको गृहकार्य गराउन समस्या हुने गरेको छ, ‘मलाई प्रष्ट नेपाली बोल्न आयो भने म कुनै विद्यालयमा पढाउन सक्षम भइहाल्छु।’

भारत उत्तरप्रदेश बलरामपुरबाट १४ वर्ष अघि विवाह गरेर नेपालगञ्ज आएकी ज्योत्सना गुप्ताले नेपाली भाषा सिक्न थालेपछि लेख्न समस्या नभएको तर बोल्न अप्ठेरो लाग्ने गरेको अनुभव सुनाइन्।  घरमा बोल्ने अभ्यास नभएर सरासर बोल्दा थाहै नपाइ कतिपय हिन्दी शब्द आउने गरेको उनको भनाइ छ । श्रीमान्, सासु, ससुरालगायत घरपरिवार सबैलाई नेपाली बोल्न आएपनि आफूसँग सधैँ हिन्दीमा बोल्ने गरेकोले नेपाली भाषा सिक्न नसकेको उनले बताइन्।

आफूले भाषा सिक्न थालेपछि अहिले घरपरिवार सबैले नेपालीमै बोलाउन थालेको उनले सुनाइन्। ज्योत्सना भन्छिन्, ‘अहिले घरका सबै सदस्यसँग नेपाली बोल्ने अभ्यास गरिरहेकी छु, नजानेको ठाउँमा ससुराले यसरी बोल्नुपर्छ भनेर सिकाउनुहुन्छ, मलाई लाग्छ घरमा सधैँ नेपाली बोल्न थालेपछि भाषा सिक्न अब धेरै समय लाग्दैन।’

उनी जस्तै अन्जली गुप्ता वैश्यले पनि भारतबाट विवाह गरेर आएको १५ वर्षपछि नेपाली भाषा सिक्ने अवसर मिलेको बताइन्। पहिले नेपाली बोल्न अप्ठेरो महसुस भए पनि अहिले बोल्दै जाँदा हिन्दी र नेपाली भाषामा खासै भिन्नता नरहेको उनको अनुभव छ, ‘धेरै शब्द मिल्दो जुल्दो लाग्यो। छ, छैन, हुन्छ, हुनुपर्छ, आउँछ, जान्छ लगायतका शब्द र शब्दको पुछारमा लगाइने मात्रामा फरक पाएँ।’

उनले भनिन्, ‘यस्तै शब्दहरूमा ध्यान दिनसके चाँडै सिक्न सकिन्छ।’ भारतबाटै विवाह गरेर आएका कतिपय महिलाहरूभने केही बर्षमै आफैले नेपाली बोल्न सिकेको बताउँछन्।  भारतको गोरखपुरबाट २२ बर्ष अघि विवाह गरेर आएकी नेपालगञ्ज फुल्टेक्रा निवासी सुनिता भारतीले सासु, ससुरा, श्रीमान् र जेठानीहरूले आफूसँग हिन्दीमै बोलेपनि आफूमा सुरुदेखि नै नेपाली सिक्ने रुचि रहेको बताइन्।

जेठानीका साना छोराछोरीसँग बोल्दा बोल्दै थाहै नपाइ एक डेढ बर्षमै नेपाली प्रष्ट बोल्न सिकेको उनको अनुभव छ। सबै किसिमका भाषामा रुचि राख्नेलाई नेपाली भाषा अप्ठेरो नरहेको सुनिता भारतीको भनाइ छ। अहिले भाषा सिकिरहेकामध्ये केहीले स्नातकोत्तर गरेका छन् भने अधिकांशले स्नातक तहसम्म र एकजनाले एलएलबी सम्मको अध्ययन पूरा गरेका छन्।

नेपालगञ्ज सदरलाइन निवासी सरिता वैश्य विवाहअगाडि भारतमै एलएलबी पूरा गरेको तर बिहे गरेर नेपालमा आएपछि भाषाकै कारण पढाइको सदुपयोग गर्न नसकेको बताउँछिन्।  नेपालमा बिहे गरेर आएपछि जीवनको सबै लक्ष्य रोकिएको तर अब नेपाली भाषा सिकेर वकिल बन्ने आफ्नो इच्छा पूरा गर्न चाहेको सुनाउँदै उनले भनिन्, ‘नेपाल आएको १७ बर्ष पछि अहिले भाषा सिक्दै छु।’

नेपाली बोल्न र लेख्न जानेपछि नेपालको कानुनबारे अध्ययन गरेर वकालत पेशा नै अपनाउने सरिताको लक्ष्य छ। पढेलेखेको भएपनि नेपालीसँग बिहे गरेर आएका कैयौँ महिलाहरू भाषा नआएकै कारण गृहिणीको भूमिकामा सीमित रहेको बताउँछन्। परम्परागत कारणले यतिका वर्षसम्म घरबाट ननिस्केको बताउने उनीहरू अहिले सामूहिक रूपमा नेपाली भाषा सिकिरहेका छन्।

मधेशी मुस्लिम समुदायका महिलाहरूलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाउन भाषा सिकाउनु पर्ने महसुस भएको मधेशी महिलाहरूको अगुवाइ गरिरहेकी रमा रानी वैश्य बताउँछिन्। उनले भनिन्, ‘सधैँ मधेशी समुदायका महिलाहरूको अगुवाइ गरेर बाहिर हिँड्छु तर मलाई पनि प्रष्ट नेपाली बोल्न आउँदैन।

उनीहरूमध्ये सधैँ घुम्टोभित्र बस्ने र चुलो चौकामा सीमित महिलालाई त कसरी नेपाली भाषा आउला भन्ने लागेर सिकाउने प्रयास गरिरहेकी छु।’ भाषा प्रशिक्षणको एक महिना पुग्नै लाग्दा महिलाहरूले अब केही दिन नेपालको कानुन र महिला अधिकारका विषयमा सिक्ने रुचि देखाएको वैश्यले बताइन्। प्रशिक्षणको अन्त्यतिर केही अधिवक्ताहरूको सहयोगमा महिलासँग सम्बन्धित कानुनी अधिकारबारे जानकारी दिइने उनले जानकारी दिइन्।

नेपालगञ्जको शैक्षिक इतिहासमा महत्त्वपूर्ण योगदान दिएकी स्वर्गीय औतरदेयी चौधराइनले स्थापना गरेको नारायण माध्यामिक विद्यालयमा महिलाहरूले भाषा सिकिरहेका हुन्। प्रतिष्ठानले उनको शैक्षिक अभियानकाे सम्झनामा भाषा सिकाइरहेको बताएको छ।

उनीहरूलाई भाषा सिकाइरहेका प्रशिक्षक अम्बिका कोइराला सिंह र राजनबहादुर रानाले महिलाहरू आफै उत्साहित भएकाले सिकाउन धेरै समस्या नभएको बताए। कक्षामा आउने महिलाहरू एक आपसमा नेपालीमै संवाद गर्ने गरेको प्रशिक्षकहरूको भनाइ छ। पहिले १५ दिनको कक्षा सुरु गर्दा १८ जना सहभागी रहेको तर अहिले सङ्ख्या बढ्दै गएर महिलाहरूबाटै अवधि बढाउन माग भएपछि एक महिनासम्म भाषा सिकाइने व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम वैश्यले जानकारी दिए। बीबीसी