बैशाख ९, २०८१ आईतबार

बलात्कार मुद्दा मिलाउन १ करोडको बार्गेनिङ्ग, १५ पैसा असुल्ने वकिल नै पक्राउ



पाेखरा ।  बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना वकिल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

लमजुङ दोर्दी गाउँपालिका-३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए ।

‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ डिएसपी हमालले भने, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेको बेला ति वकिलका दलाल पोखरा ५ का ५८ वर्षीय सूर्यलाल खड्का, धाडिङ घर भई पोखरा २५ बस्ने ३९ वर्षीय कमानबहादुर तामाङलाई  पक्राउ गरेको थियो ।

उनीहरूलाई आफन्तले ती व्यक्तिलाई सुरुमा १ लाख ५० हजार रुपैयाँ बुझाएका थिए । त्यसपछि बुधबार फेरि उनीहरुले ६/६ लाखका दुई वटा चेक बुझाउँने तयारीमा रहेको बेला पक्राउ परेका थिए । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

उनीहरुकै बयानका आधारमा प्रहरीले वकिललाई पनि पक्राउ गरेको हो । ‘उनीहरूको बयानका क्रममा बुझ्दै जाँदा यसको मास्टरमाइन्ड ‘वकिल साप’ पो रहेछन्,’ डिएसपी हमालले भने । पक्राउ परेका घिमिरेलाई ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ उनले भने, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’

पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका ती ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने खोजेको आरोपमा ३ जना पक्राउ परिसकेका छन् ।