चैत्र ६, २०८० मंगलबार

६ करोड खाएर आमालाई सडकमा पुर्‍याउने राष्ट्रबैंककी निर्देशक पक्राउ



काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको छ । आफ्नै ८५ वर्षीय आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड हत्याइ आमालाई सडकमै अलपत्र छाड्ने रेग्मीलाई प्रहरीले पक्राउ गरेको हाे

प्रहरीले उनलाई ज्येष्ठ नागरिक सम्बन्धी कसुरमा पक्राउ गरेको बताएकाे छ । नेपाल सरकारको सबैभन्दा आकर्षक जागिर राष्ट्र बैंकको निर्देशकमा कार्यरत सुष्मा रिजालले आफ्नै ८५ वर्षीय आमा शोभा रिजालको करोडौँको सम्पत्ति हत्याएर उनलाई अलपत्र छाडिदिएको खबर यसअघि नै प्रकाशित भएको थियो । राष्ट्रबैङ्कको उच्च तहमा कार्यरत सुष्मा रिजाल र उनका पति कमलप्रसाद रेग्मीले ८५ वर्षीय शोभा रिजाललाई अलपत्र छाडिदिएका हुन् । सुष्माका श्रीमान कमल भने नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

छोरी सुष्मा र ज्वाइँ कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८३ वर्षीय शोभा रिजालको माछापुच्छ्रे बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप लागेको थियो ।

माछापुच्छ्रे बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक पटक धाएकी थिइन् ।

तर, प्रहरीलाई राष्ट्र बैंकको धम्की दिएर उनले उन्मुक्ति पाउँदै आएकी थिइन् । काठमाडौं प्रहरीमा अशोक सिंह आएपछि उनले सुष्मालाई पक्राउ गरेर देखाइदिएका छन् । विराटनगरको धनाढ्य परिवारका शोभा रिजालका पति भूपेन्द्रप्रसाद रिजालको २०७५ मंसिर १ गते निधन भयो । बाबुको मृत्यु अघि नै मोरङको करोडौं पर्ने जग्गा उनले आफ्नो नाममा ल्याईसकेकी थिइन । भूपेन्द्र र शोभाका चार वटी छोरी गीता, सुस्मा, गंगानुतन हुन् भने एक छोरा सुरेन्द्र रिजाल हुन् ।

जेठी गीता अपांग छिन्, माइली सुष्मा राष्ट्रबैंककी हाकिम, साइली गंगा रिजाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन् भने कान्छी नुतन रिजाल अमेरिका छिन् । एउटी छोरी राष्ट्र बैंकमा हाकिम र अर्की प्राज्ञ हुँदा पनि आमा शोभा खानलाउनसमेत नपाउने अवस्थामा छिन् । औषधि उपचारसमेत पाउनसक्ने अवस्था छैन । उनीसँग सम्पत्ति नभएर होइन । करोडौंको सम्पत्ति भएपनि उनी अहिले बेसहारा जस्तै छिन् ।

छोराको सामान्य पेन्सनले उनलाई स्याहार गर्न नसक्ने बताएकाले उनी थप पीडामा छिन् । छोराले पहिले नै अशंवण्डा गरी विराटनगरको सम्पत्ति नलिने भनी बल्खुको घर लिएर बसेका थिए । बाबुको उपचारदेखि बाबुआमा र अपांग दिदीको हेरचाह सुष्माले गर्छु भनेर बाबु जीवित हुँदै दशौं करोडको धन सम्पत्ति आफ्नो नाममा कायम गराउन सफल भएकी थिइन् ।

बाबुको मृत्युपछि उनले क्यान्सरपीडित आमा र अपांग दिदी गीतालाई सानेपास्थित घरबाट निकालिदिइन । सबै सम्पत्ति लिएर आफुलाई घरबाट निकालेपछि शोभा र उनकी अपांग छोरी गीता बल्खुस्थित छोरा सुरेन्द्रको घरमा शरण लिई बसेका छन् ।

सम्पत्तिजति दिदी सुष्मालाई दिएकाले छोराले समेत उनीहरूको राम्रो हेरचाह गरेका छैनन् । आमा शोभाको कीर्ते सही गरी छोरी सुष्माले माछापुच्छ्रे बैंक, अरनिको सहकारीबाट रकम निकालिसकेपछि उनीहरूलाई खान नदिई घरमै बन्धक बनाएर राखेको अवस्थामा छोरा सुरेन्द्र र साइली छोरी गंगालाई फोन गरी २०७६ फागुन ७ गते मुक्त भएको कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको जाहेरीमा उल्लेख छ ।

स्व। भूपेन्द्र प्रसादको नाममा रहेको मोरङको बिघौंबिघा जग्गा, वित्तीय संस्थाहरूमा रहेको ६ करोडभन्दा बढी रकम हात पारेकी राष्ट्र बैंककी हाकिम सुष्माले बाबु जीवित हुँदा पनि २ करोडभन्दा बढी रकम लिएको शोभाले उजुरीमा उल्लेख गरेकी छिन् । जुन रकम लिएको विवरण सरोकारवाला निकायले वित्तीय संस्थाको स्टेटमेन्ट हेरेपनि खुल्ने शोभा बताउँछिन् ।

सुष्माले सम्पत्ति हात पारेर खान लगाउन र स्वास्थ्य उपचारमा पूर्णत बेवास्ता गरी मरणासन्न अवस्थामा पु¥याएको र आफ्नो नाममा रहेको २२ तोला सुन, १ सय तोला चाँदी र १८१६ कित्ता विभिन्न वित्तीय संस्थाको सेयर, चेक, नागरिकता, वृद्धभत्ताको प्रमाणपत्रसमेत नदिई आमालाई अलपत्र पारेको कुरा उजुरीमा उल्लेख छ । विवाहित छोरी भएपनि सुष्माले पालनपोषण गर्ने आशामा विराटनगरको पुष्पलाल चोकजस्तो महत्वपूर्ण ठाउँको जग्गासमेत उनलाई दिइएको गहभरी आँशु पार्दै शोभाले त्यति बेलै बताएकी थिइन् ।

‘यस्ता बद्नियत भएका सन्तानका कारण मैले आज करोडौँको सम्पत्ति भएपनि उपचारसमेत पाउन सकेकी छैन्, तर छोरीले बिसौं करोडको सम्पत्ति थुपारेकी छिन्,’ उनले भनेकी थिइन् ।

त्यसैले हाम्रो सम्पत्तिको विवरण झिकी कीर्ते सही गरी निकालिएको ६ करोडभन्दा बढी रकम र सेयर, सुन, चाँदी सबै फिर्ता गराई पाउँ भनी उनले जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको गत असार २८ गते निवेदन दिएकी थिइन् । तर त्यो निवेदन प्रहरी परिसर काठमाडौंले दर्ता नै नगरी क्यान्सरपीडित वृद्धा शोभालाई थप पीडा दिने काम गरेको आरोप थियो । तत्कालीन काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले छोरी सुष्माबाट प्रभावित भई आमामाथि परेको घोर अन्यायको उजुरीसमेत नलिई पीडा दिने काम गरेका थिए । तर, ज्ञवालीपछि आएका एसएसपी सिंहले सुष्मालाई पक्राउ गरेका छन् ।