चैत्र ६, २०८० मंगलबार

न्याय सम्पादनमा मदानेले प्राप्त गर्‍यो शतप्रतिशत अंक



गुल्मी । मदाने गाउँपालिकाको न्यायिक समिति कार्यसम्पादनमा अब्बल भएको छ । न्याय सम्पादनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजा अंक मदाने गाउँपालिकाले शतप्रतिशत प्राप्त गरेको छ । स्वमूल्याङ्कनका १० वटा क्षेत्रमध्ये न्यायिक कार्यसम्पादनमा नगरपालिकाले शतप्रतिशत अंक ल्याएको गाउँपालिकाकी उपप्रमुख सरिता खड्काले बताइन् ।

खड्काका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ निर्माण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रमार्फत लिजा कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा मदाने गाउँपालिकाको न्यायिक समितिले शतप्रतिशत अंक प्राप्त गरेको हो ।

कूल १०० अंकको सो मूल्यांकनमा मदानेले ७६ दशमलव ५ अंक ल्याउँदै जिल्लामा उत्कृष्ट भएको हो । जिल्लामा मात्रै होइन मदाने गाउँपालिका लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये उत्कृष्ट ६ नम्बरमा परेको छ भने त्यस्तै देशभरीका स्थानीय तहमा पनि मदाने उत्कृष्ट २० औं नम्बरमा परेको छ । ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ३८५ स्थानीय तह यो मूल्यांकनमा सहभागी थिए ।

मदानेले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६ दशमलव ५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११ दशमलव ५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ७ दशमलव ७५, सामाजिक समावेशीकरणमा ६ दशमलव ७५, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ६ दशमलव २५ र सहकार्य र समन्वयमा ५ अंक पाएको छ । यसले गाउँपालिकाको समग्र क्षेत्रको कार्यसम्पादन समेत सन्तोषजनक रहेको उनले बताइन् ।

न्यायिक कार्यसम्पादनको क्षेत्रमा प्राप्त गर्नुपर्ने सात अंकमा सातै अंक गाउँपालिकाले प्राप्त गरेको न्यायिक समिति संयोजक समेत रहेकी उपाध्यक्ष खड्काले बताइन् । पालिकाका कर्मचारीहरूको सहयोगमा न्याय सम्पादनको काम उत्साहजनक भएको उनकाे भनाइ छ। ‘न्यायीक कार्य सम्पादन को लागि गाउँ पालिकाले हाल सम्म गरेको कार्य उत्साहजनक रहेको महसुस भयको छ’, उनले भनिन्, ‘नागरिकहरूलाई समयमै सर्वसुलभ न्याय प्रदान गर्न सकेको अनुभूति भएको छ।’ 

‘गाउँपालिकाले चार वर्षको अवधिमा दर्ता भएका १ सय ५५ उजुरी मध्ये १ सय ४५ मुद्दाको फछ्र्यौट गरेको छ । गाउँपालिकामा दर्ता भएका ३ वटा मुद्धा अदालत पठाइएको र बाँकी ७ वटा छलफलमा रहेको उपाध्यक्ष खड्काले जानकारी दिइन् । गाउँपालिकामा सबैभन्दा धेरै घरेलुहिसा र घर साँध सिमाना विवादका मुद्दा आउने गरेको उनले बताइन् ।

सामान्य लेनदेनसम्बन्धी मुद्दा, महिला तथा बालबालिका कुटपिट तथा हिंसा, जग्गा विवाद, अंश, सडक तथा नाला निकाससम्बन्धी, घर साँध सिमाना, ज्येष्ठ नागरिकलाई पालनपोषण नगरेको, फोहोर व्यवस्थापन तथा ज्याला मजदुरीमा ठगिएको जस्ता उजुरी पालिकाको न्यायिक समितिले हेर्ने गरेको छ । न्यायिक समितिमा परेका धेरैजसो उजुरीलाई छलफल तथा स्थलगत अनुगमन गरी मेलमिलापका माध्यमबाट मिलापत्र गर्ने गरिएको उनले बताइन् ।