जेष्ठ २, २०८१ बुधबार

लमजुङको रेडियाले गर्‍यो पत्रकार महिलालाई स्यानेटरी प्याडको व्यवस्था



लमजुङ – रेडियो चौतारी ९१.४ मेगाहर्जले कार्यालयमा कार्यरत पत्रकार महिलाका लागि सेनेटरी प्याडको व्यवस्था गरेको छ ।  बेंसीशहरमा कार्यालय रहेको रेडियो चौतारीले पत्रकार महिलाको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

शनिबार रेडियो सञ्चालक संस्था लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको बैठकले रेडियोमा कार्यरत पत्रकार महिलाका लागि मासिक रुपमा सेनेटरी प्याडको व्यवस्था गर्ने निर्णय गरेको सञ्चालक संस्थाका अध्यक्ष ईश्वरबाबु पाण्डेले बताए ।

उनका अनुसार रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी महिलालाई कार्यक्षेत्रमा सहज बनाउन महिलामैत्री अवधारणा अपनाइएको हो । महिनावारीको समयमा सहज रुपमा सेनेटरी प्याडको प्रयोग गर्न र काममा सहज बनाउन उक्त व्यवस्था गरिएको पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले पत्रकार महिला साथै सञ्चालक संस्थाका पदाधिकारी महिला तथा सदस्यलाई पनि सेनेटरी प्याडको व्यवस्था गरिएको बताए । रेडियोका स्टेशन प्रमुख बेलिना थापाका अनुसार रेडियोेमा कार्यरत पत्रकार महिला र सञ्चालक समितिमा रहनुभएका पदाधिकारी एवं सदस्य महिलालाई महिनावारीको समयमा उनीहरुलाई सहज वातावरणको महसुस गराउन सेनेटरी प्याडको व्यवस्था गरिएको बताइन्।

दैनिक कार्य सम्पादनमा खटिएका पत्रकार महिला तथा कर्मचारी महिलालाई महिनावारी भएको समयमा काम गर्न सहज हुने भएकाले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताइन्। आफू स्वयंम महिला भएको र महिलालाई महिनावारीको समयमा समस्या पर्ने कुरा महसुस भएकाले सञ्चालक संस्थालाई उक्त व्यवस्थाका लागि पहल गरेको  बताइन् ।

काम गर्दै गरेको समयमा वा फिल्डमा खटिएको समयमा महिनावारी भइहालेमा समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर राखेर प्याडको व्यवस्था गरिएको उनले बताइन् । मासिक रुपमा पत्रकार महिला र सञ्चालक समितिका पदाधिकारीलाई आवश्यकताको आधारमा सेनेटरी प्याड उपलब्ध गराइने जानकारी दिइन् ।  । रेडियोको कार्यालयमा कुनै कामकाज लिएर आउने सेवाग्राहीलाई समेत आवश्यक परेमा सेनेटरी प्याडको व्यवस्था गरिने स्टेशन प्रमुख थापाले बताइन् ।

यो व्यवस्थाले पत्रकार महिलालाई काम गर्न सहज महसुुस हुने रेडियोले जनाएको छ । रेडियोले कर्मचारीको हितका लागि विभिन्न व्यवस्था गर्दै जाने रेडियो संचालक समितिले जनाएको छ ।