बैशाख ९, २०८१ आईतबार

स्यानिटरी प्याडमा भ्याट छुटको माग गर्दै सर्वोच्चमा रिट दायर



महिनावारीको समयमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा भ्याट छुटको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा मंगलबार ९आज० रिट निवेदन दर्ता भएको हो ।

अभ्युदय भेटवाल र श्रीना नेपालले अर्थ, स्वास्थ्य, महिला तथा बालबालिका र कानून मन्त्रालयलाई विपक्षी बनाइ निवेदन दर्ता गराएका हुन् ।

महिलाले महिनावारी अथवा रजस्वाला चक्र भएको बेला प्रत्येक महिना एक हप्ताको लागि स्यानेटरी प्याड प्रयोग गर्दा जीवनकालमा करिब ३८ वर्षसम्म प्याड प्रयोग गर्नुपर्ने हुन्छ ।

तर सरकारले प्याडलाई बिलासी बस्तु अन्तर्गत राखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा भन्सार महसुल लगाउने गरेको छ । यसले नेपालको कूल जनसंख्याको ५४ दशमलव ३९ प्रतिशत जनसंख्या रहेका महिलाहरुलाई संविधानद्वारा प्रदत्त मौलिक हक र सार्वभौम मानव अधिकारको उल्लङ्घन भएको रिटमा दावी गरिएको छ ।

रिटमा स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी वस्तु’को कोटाबाट हटाएर अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न मागसमेत गरिएको छ ।