चैत्र १५, २०८० बिहीबार

अनवरत राजनितिक मोर्चामा होमिएकी एमालेकी एक योेद्धा, जो कहिल्यैँ थाकिनन्



नेकपा एमालेको १० औँ महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकांक्षी पनि बढ्दै गएका छन् । महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय २५ जना केन्द्रीय सदस्य पाँच वर्षका लागि चयन गर्दैछ । विगतको महाधिवेशनमा महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याइएको छैन । यस पटकको महाधिवेशनमा महिला नेतृहरुलाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने देखिन्छ ।

उसाे त नेपालको राजनीतिको नीति निर्माण तहमा महिलाहरुको सहभागिता र स्थान अझै पनि सन्तोष गर्न सकिने अवस्थामा देखिदैँन । जीवनको महत्वपुर्ण समय लामै अवधि राजनीतिक गतिविधिमा बिताएका महिलाहरु गणनायोग्य संंख्या भेटिन्छन् । तर पनि राजनीतिक दलका नेताहरुबाट सुनिन्छ ‘सिनियर तहका र योग्यतम महिलाहरु छैनन्’ । जब कि योग्यता र सिनियोरिटीको मापन गर्ने स्पष्ट आधार र मापदण्ड कुनै पनि दलमा तय गरिएको पाइदैँन । यसै सन्दर्भमा हामिले अखिल नेपाल महिला संघको नेता थममायाको राजनीतिक जीवन र राजनीति गर्ने क्रममा जीवनमा देखा परेका उतार चढावको खोजी गर्ने जमर्को गरेका छाैँ ।

नेपालको राजनीतिमा एक अनवरत संघर्षशिल महिला नेतृ हुन् थममाया थापा मगर । म्याग्दीको विकट तिलखोलामा वि.स.२०१५ सालमा आमा गजमती थापा र बुबा नरबहादुर थापाको कान्छी छोरीको रुपमा थममायाको जन्म भएको थियो । थममायाका बुबा नरबहादुर भारतीय सैनिकका जमदार थिए । रिटार्यर जीवनमा नेपाल आएपछि उनले छोराछोरीलाई स्कुल पढाउनुपर्छ भनेर आफैँले गाउँमा स्कुल खोले । अनि आफैँ पढाउन थाले । बाबुले स्थापना गरेको र पढाएको स्कुलमा थममाया पनि पढ्न थालिन् । थममाया भन्छिन्, ‘बुबाको सोच पढ्नुपर्छ । लेख्नुपर्छ भन्ने थियो । त्यतिबेला गाउँमा विद्यालय थिएन । भारतीय सेनाबाट रिटायर भइसकेपछि वि.स २०११ सालमा वएलफेयरको सहयोगमा बुबाले गाउँमा स्कूल खोल्नुभयो । आफैँले पढाउन शुरु गर्नुभयो । म तीन चार वर्ष देखि बुबासँगै स्कूल जान थाले । ५ कक्षासम्म गाउँमै पढे ।’ गाउँमा बुबाले खोलेको स्कुलबाट प्रावि तह पढेपछि कक्षा ६ भर्ना हुन थममाया म्याग्दी सदरमुकाम बेनी आइ पुगिन् । उनी भन्छिन्,‘त्यतिबेला गाउँमै छोराछोरी विद्यालय पठाउन गाह्रो मान्थे । अझ छोरीलाई सदरमुकाम पढ्न पठाउन त सोच्नै सकिँदैनथ्यो ।’

९ कक्षामा पढ्दै गर्दा शिक्षकको तालिम खुलेको थियो । त्यतिबेला ९ कक्षा पढेको महिला पाउन गाह्रो थियो । त्यहि भएर उनले शिक्षकको तालिम लिने अवसर पाइन । थापा थप्छिन्, ‘शिक्षा शाखाबाट को छ, पढेको महिला भनेर टोली गाउँगाउँमा पुगेको रहेछ । त्यहि क्रममा उनीहरु हाम्रो गाउँको स्कुलमा पुगेका रहेछन् । बुबाले मेरो छोरी सदरमुकाममा नौ कक्षामा पढेकी छिन्’ भन्नुभएछ । मलाई अझै पढ्न मन थियो । तर बुबाको करका कारण शिक्षक तालिमका लागि पोखरा गए ।’ थममायाले पोखरामा शिक्षकको १० महिने तालिम पूरा गरिन । त्यसपछि गाउँमै बुबाले खोलेको स्कुलमा पठाउन शुरु गरिन । यता उनको पढ्ने इच्छा भने पुरा भएको थिएन । प्राइभेटबाट भएपनि एसएलसी दिने सोच बनाइन् र पढ्न तयारी गरिन् ।

बुबाको मृत्यु र काजक्रिया

दुर्भाग्य गाउँको स्कुलमा पढाउन शुरु गरेको एक वर्ष नवित्दै २०३३ साल वैशाख महिनामा थममायाको बुबाको मृत्यु भयो । थापा सम्झिन्छिन्, ‘गाउँमा पूजाको प्रसाद खाने क्रममा बुबाको घाँटिमा हड्डी अड्कियो । त्यतिबेला गाउँमा अस्पताल थिएन । त्यसको ६, ७ दिनमा बुबा वित्नुभयो ।’ त्यसपछि थममायालाई झन् घरको जिम्मेवारी र स्कुलको जिम्मेवारी पनि थपियो । बुबाले यहि ठाउँमा शिक्षक भएर काम गर्नुपर्छ भन्नुभएको थममाया अहिले पनि झलझलती सम्झिन्छिन् । उनी भन्छिन्, ‘बुबाको मृत्युपछि उहाँको सपना पूरा गर्न पनि सोही स्कुलमा पढाइ रहे । अर्कोतर्फ गाउँका जनतालाई परेको समस्यामा पनि साथ दिइरहे । तर पनि त्यो स्कुलमा बुबाको अभाव भने खड्की रहेको थियो । उहाँको सपना पुरा गर्न रातदिन भनि लागि रहे । म आएपछि स्कुलको शैक्षिक अवस्था पनि राम्रो भयो ।’

बाबु आमाको मृत्युपछि छोराले नै काजकिरिया गर्नुपर्छ भन्ने नेपाली समाजमा थापाले त्यतिबेला नै बुबाको काजक्रिया गरिन् । उनी भन्छिन्, ‘परिस्थितिले बुबाको काजकिरिया गर्ने मौका मिल्यो । मेरो बुबाका दुई वटा श्रीमती हुन् । म कान्छि पट्टीको छोरी हुँ । अर्को पट्टिको दाजुभाई विदेश हुनुहुन्थ्यो । त्यतिबेला बुबाको काजकिरिया को बस्ने भन्ने भयो । विवाह नगरेको कन्या छोरी भएको हुनाले छोरीले बस्दा हुन्छ भने । मैले काजकिरिया गरे ।’ तर त्यतिबेला छोरीले काजकिरीया गर्ने भन्ने कल्पना पनि थिएन । तर मैले उहाँको काजकिरीया गरे । अहिले बुबाप्रतिको दायित्व पुरा गरे जस्तो लाग्छ ।’

बहुदलको समर्थन

वि.स.२०३५-०३६ सालको निर्वाचनमा उनी गाउँमै थिइन् । बहुदल-निर्दलको कुरा आएको बेला उनले गाउँमा बहुदलबाट उठेका उम्मेद्वारलाई जिताउन आग्रह गरेकी थिइन् । तर त्यसो गर्दा राजाको विरोध गरेको भन्दै उनलाई नराम्रो व्यवहार गर्न थालियो । उनी भन्छिन्, ‘पहिले मेरो बुबाको विरोध गर्नेहरु नै निर्दलिय व्यवस्थाकाको पक्षमा उठेकाले मैले बुहुदललाई समर्थन गरेको थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु निर्दलियको पक्षमा थिए । ३७ सालमा चुनाव भयो । त्यतिबेला मैले गाउँका जनतालाई राम्रो विचार भएको मान्छेलाई जिताउनुपर्छ भनेको थिए । तर यहि कारण त्यहाँका निर्दलका समर्थकहरुले मलाई दवाव दिन थाले । त्यसपछि म बुबाले खोलेको स्कुल छोड्न बाध्य भए । बेनी सरुवा मिलाए ।’

राजनीति सम्पर्क …

बेनीमा आइसकेपछि उनी स्काउटको आयुक्त पनि थिइन । त्यो बेला मालेको विभिन्न संगठन परिचालित थिए । उनी २०४० सालमा अखिल नेपाल महिला संघको टोल समितिमा आबद्ध भइन् । विस्तारै पार्टीको काममा सहभागि हुन थालिन् । स्काउटमा हुँदा उनी स्कुल स्कुलमा जानुपथ्र्यो । त्यसले गर्दा राजनीतिक व्यक्तित्वसँग सम्पर्क हुन थाल्यो ।
२०४२ सालमा नेकपा मालेले आयोजना गरेको ठूलो भेला थियो । उनी पनि सहभागि भइन । त्यहि वर्ष ४३ सालको शुरुवात तिर आम चुनाव थियो । तत्कालिन मालेले जनपक्षित उम्मेद्वार उठाउने र सरकारी उम्मेदवारलाई हराउने नीति लिएको थियो । त्यो अनुसार म्याग्दीमा पंचायतको तर्फबाट भिमप्रसाद उम्मेदवार थिए । सँधै उनले जित्ने गर्थे । त्यसैले यो चुनावमा उनलाई हराउनुपर्छ पर्छ भनेर उनी लागेकी थिइन् । माले जिल्ला पार्टीले हरिबहादुर पुनलाई उम्मेदवार बनाएका थिए । उनैलाई जिताउने अभियान चलाएका थिए । यसरी बेनीमा आइसकेपछि उनको राजनीतिक सम्पर्क बढ्न थाल्यो ।

शिख घटना सम्झिँदा …

२०४२ साल चैत २० गते माले तर्फका उम्मेद्वार हरिबहादुर पुनको गाउँ शिख भन्ने ठाउँमा जिल्ला प्रशासन अञ्चलाधिशको नेतृतवमा प्रहरी क्याम्प बस्यो । हरिबहादुर प्रति भ्रम सिर्जना गर्दै उनीहरुले भिमप्रसादको पक्षमा भोट माग्न थाले । त्यहाँका जनताले यहाँ किन क्याम्प राखेको भनेर विरोध गर्दा शिक्षक संगठनकाका जिल्ला सदस्य सुरेश सेरबुजा र स्थानीय किसान हिरालाल थगामीलाई गोली ठोकेर मारियो ।
थममाया सम्झिन्छिन्, ‘त्यो घटनामा धेरै जना अपाङ्ग भए । कतिजनाको आँखा गुम्यो, कतिको हातखुट्टामा लागेर अपांग भए । उनीहरुले जिल्ला भरि नै आतंक मच्याउन थाले ।’

पार्टी कार्यालयमा आक्रमण…

त्यसको एक महिनापछि अर्थात् वैशाख २९ मा आम चुनाव थियो । २५ गते हामीले अन्तिम आमसभा राखेका थियौँ । आम सभामा हरिबहादुर पुन पक्षमा सारा जनता सदरमुकाम बेनी बजारमा उत्रिएको थियो । कुनैपनि हालतमा भिमप्रसादले जित्ने अवस्था थिएन । मालेले म्याग्दी जिल्लाको ४० गाविसमध्ये जहाँ जहाँ निर्वाचनको बुथ हुन्छ त्यहाँको एजेन्टहरुलाई बोलाएर प्रशिक्षण दिन थालेको थियो । त्यो प्रशिक्षणमा थममाया पनि प्रशिक्षकका रुपमा थिइन । थममाया भन्छिन्, ‘प्रशिक्षण दिइरहेको बेलामा भिमप्रसादका गुण्डाहरु आएर पुरै कार्यालय घेरे । प्रहरी बाहिर र भित्र गुण्डा । कार्यालयको झ्याल ढोला उनीहरुले ढुंगाले हानेर फुटाले । उनीहरुको सबैको हातमा खुकुरी, साइकलको चेन थियो । त्यहि हतियारले हामीलाई हान्न थाले । कसैको टाउको फुट्यो । कोहि यिनीको हातबाट मर्नुभन्दा आफै हामफाल्ने भनेर तीन तलाबाट पनि हाम फाले । त्यहाँ महिला म एक्लै थिए । उनीहरुले मेरो आँखामा मुक्का हाने । म ढले । उनीहरुले अपशव्द बोल्दै साइकलको चेनले हान्न थाले । साडि च्यातिदिए र मर्यो भनेर छोडे । उनीहरुले उम्मेद्वार हरिबहादुरलाई गोली हाने । तर उनी छलेर भाग्न सफल भए । त्यहाँ रगतको आहल भयो । कति मुर्छा भए । बाहिरपट्टि गौडागौडामा प्रहरी थिए । जसले भागेका मान्छेलाई समातेर कस्टडिमा लगे । त्यसपछि आम सभा गर्न सकिएन । जनताहरु गाउँगाउँमा गएर आफ्नै किसिमबाट एजेन्ट बन्दै प्रचार गर्ने निर्णय भएको थियो ।’

चुनाव भयो । म्याग्दीको पश्चिम भेगबाट २० गाविसको मतपत्र एकैचोटि ल्याइँदै थियो । तर तीनै गुण्डाहरु र पुलिसहरुले २० वटा गाविसबाट मत बाकस खोसेर मतपत्र पनि फुटाले । त्यतिबेला एक जना अनेरास्ववियूको जिल्ला अध्यक्ष नाम ?? लाई कन्चटबाट खुकुरीले हिर्काएर आँखा छेडिदिएका थिए । उनलाई म्याग्दी खोलमा फालिदिएका थिए । त्यसपछि उनीहरुले भिम प्रसाद गौतम २६ सयले विजयी भयो भनेर घोषणा गरेका थिए ।

राजकाज मुद्दा र साडीको सर्कोमा ढुंगा..

त्यसपछि थममायाले बेनीको प्रकाश माविमा पढाउँदै आएको जागिर छोडेर पूरै राजनीतिमा लाग्ने विचार गरिन । उनी वि.स २०४३ मा पोखराको पिएन क्याम्पसमा भर्ना भइन् । त्यहि सालमा स्ववियुको निर्वाचन पनि भयो । उनी कोषाध्यक्ष पदमा उठिन र निर्वाचित पनि भइन । त्यहि वर्ष पृथ्वी नारायण क्याम्पसको संगठनको अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष पनि भइन । २०४४ सालमा गण्डकी अञ्चलाधिश राजेश कमातेले उनलाई राजकाज मुद्दा लगाएको थियो ।
त्यहि वर्ष स्ववियुको आयोजनामा विभिन्न कार्यक्रमहरु हुने गरेको थियो । त्यसैबेलामा मण्डले गुण्डाहरु आएर क्याम्पसभित्र स्ववियुको सभापति तुलबहादुर गुरुङ, सचिव रामनाथ ढकाल र सदस्य विजय गुरुङलाई अपहरण गरेर जिल्ला प्रशासनलाई बुझाएका थिए ।

क्याम्पस हाताभित्र आएर स्ववियुको नेताहरुलाई अपहरण गरेपछि क्याम्पसमा आन्दोलन शुरु भयो । त्यतिबेला देखि नै अपहरणकारीलाई क्याम्पसमा निषेध गर्ने भन्ने भयो । आन्दोलनको नेतृत्व छात्राहरुले गरेका थिए । थममाया भन्छिन्, ‘गुण्डाहरु तरबार, खुकुरी लिएर वाहिर आएका थिए । हामीले क्याम्पस हाताभित्र छिर्न नदिने निर्णय गर्यौ । उनीहरुलाई रोक्न साडीको सर्कोमा छात्राहरुले ढुंगा ओसारे भने छात्रहरुले उनीहरुलाई त्यहि ढुंगाले हाने ।’

क्याम्पसभित्र थममायाकै नेतृत्वमा आन्दोलन शुरु गरिएको थियो । हरेक दिन कक्षा कक्षामा जबसम्म आफ्ना नेताहरु छोडिदैन तबसम्म कोहि नपढ्ने भनेर आवाज उठाएका थिए । तर हप्ता दश दिन हुदै जादा विद्यार्थीहरुले नै पढ्न रोक्न हुँदैन भन्न थालेपछि विस्तारै आन्दोलन पनि शिथिल हुँदै गयो । आफ्ना नेताहरुको अपहरणपछि थममायाले आमरण अनसन बस्ने निष्कर्ष निकालिन । पार्टीका नेतासँग सल्लाह गरेर अनुमति लिइन ।

पार्टीबाट हुन्छ भन्ने निर्देशन आयो । त्यसको भोलिपल्ट देखि अनसन बस्ने भने पनि फेरि पार्टीले राजकाज मुद्धा लागेको व्यक्ति नबस्नु । तयसो गर्दा प्रशासन क्याम्पस परिसरभित्र गएर समात्न सक्छ भन्ने भयो । त्यसपछि स्ववियुकै सदस्य श्रीनाथ बराल अनसन बसे । त्यसको १०-११ दिनपछि सभापतिसहित अन्य नेताहरु अपहरण मुक्त भए । आन्दोलन पनि स्थगित भयो ।

पार्टीले जुराइ दिएको विवाह…

शिक्षक हुँदै राजनीतिमा लाग्दा थममायाको उमेर पनि बढ्दै थियो । त्यसपछि पार्टीबाट नै विवाहको प्रस्ताव आयो । थापाले सोही क्याम्पसमा पढ्ने रेशमान राइसँग २०४५ सालमा जनवादी विवाह गरिन् । विवाहबारे उनी भन्छिन्, ‘पार्टीका नेताहरुको उपस्थितिमा जनवादी विवाह भयो । उहाँ संस्थामा काम गर्नुहुँदो रहेछ । तर मैले उहाँलाई चिनेको थिइन । त्यो बेला मेरो उमेर ३० वर्ष पुगेको थियो । पार्टीले तपाईले विवाह गर्नुपर्यो भनेर प्रस्ताव गर्यो । पार्टीले भनेपछि राम्रै होला ? भनेर विवाह गरियो । राति पिएन क्याम्पस अलि माथि हाम्रै कम्रेडको घरमा जीवराज आश्रितको प्रमुख आतिथ्यमा विवाह भयो ।’


त्यसपछि थममाया २०४५ सालमा अनेरास्ववियु कास्कीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन् । सोही साल अखिल नेपाल महिला संघको पोखरा नगर कमिटीको संयोजक समेत भएर काम गरिन् । विवाहपछि उनले छोरी जन्माइन् । छोरी लिएरै उनले २०४७ सालमा म्याग्दीमा तत्कालिन नेकपा मालेको कार्यालय स्थापना गरी कार्यालय सचिवमा कार्यरत भइन । २०४७ सालमा नै पार्टी सदस्यता पनि प्राप्त भयो ।

यसबीचमा उनी ०४८ सालमा अलिख नेपाल महिला संघ दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन । सोही सालनै नेकपा एमाले म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित भइन । त्यसपछि २०४८ साल वैशाखमा भएको पहिलो संसदीय निर्वाचनमा म्याग्दी जिल्लाको क्षेत्र नं १ बाट नेकपा एमालेको तर्फबाट उनी प्रतिनिधि सभामा निर्वाचित भइन । ०४९ मा नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रनिनिधि भइन ।

पुत्र वियोग

संघर्षमय राजनीतिक जीवन, तीतो अनुभव लिएर राजनीतिमा होमिँदै आएकी थापाले २०५० सालमा आफू आन्दोलनमै भएको समयमा दुई वर्षीय छोरा गुमाउनुपरयो ।
थममाया भन्छिन्, ‘पेटमा बच्चा भएको वेलामा राजनीतिमा दौडधुप गर्दा सायद आराम नपाएर होला, बच्चामा मुटु सम्बन्धी समस्या देखियो । त्यतिखेर नेपालमा मुटु सम्बन्धी हस्पिटल पनि थिएन । डाक्टरले भारतमा लग्नुपर्छ त्यो पनि उपचार हुन्छ नै भन्ने छैन भनेको रहेछ तर मलाई थाहा थिएन । म आन्दोलनमा हिँडेको हिँडेकै थिए । श्रीमानले सबै हस्पिटलका डाक्टरसँग सल्लाह गर्दा राम्रो स्थिति छैन भनेको रहेछ ।’

डाक्टरले भारतमा लैजाने भए रिफर गर्दिन्छु भनेको थियो । म त सामान्य मुटुसम्बन्धी होला भनेको थिए । कहिले काहि छोरा बेहोस् हुने र नाकबाट रगत निस्किन्थ्यो । अलि ठूलो भएपछि भारत लैजाने सोच बनाएका थियौँ ।’ त्यतिबेला उनी अखिल नेपाल महिला संघको धौलागिरीको इन्चार्ज थिइन् ।

५२ साल भदौमा मनमोहन अधिकारीले गरेको संसद विघटन सर्वोच्चले उल्टाइदिएको थियो । त्यसको विरुद्धमा थममाया आन्दोलनमै थिइन । थममाया सम्झिन्छिन्, ‘देशव्यापी आन्दोलन र देशव्यापी आम हड्ताल गरेका थियौं । भदौ १५ गतेपछि छोरा वितिसकेर सतगद गरेपछि मात्र मलाई फोन आयो । त्यतिबेला म म्याग्दीमा अनि छोरा र श्रीमान काठमाडौमा थिए । त्यहाँ म आन्दोलनको नेतृत्व गरिरहेको थिए । हस्पिटल पुर्याएको दुई, तीन घण्टामा छोराको निधन भएको रहेछ । आम हड्ताल थियो । त्यस्तो बेलामा कहिले आउँछे भनेर छोराको सतगद भइसकेको रहेछ । छोराको शव पनि देख्न पाइन् ।’

मातृ वियोग

उनका बुबाको कान्छि श्रीमतीपट्टिको सन्ताम थममाया मात्रै हुन् । उनलाई आमाले राजनीतिमा लाग्न कहिल्यै रोक्नु भएन ।

थममाया भन्छिन्, ‘आमा दमको रोगि हुनुहन्थ्यो । त्यसदिन म काठमाडौंबाट म्याग्दी जाने तरखरमा थिए । उहाँ अलि बिरामी हुनुहुन्थ्यो । उहाँले तिमि जाउँ मलाई सन्चो हुन्छ भन्नुभएको थियो । तर म्याग्दीको उपल्लो भेगमा प्रशिक्षणको कार्यक्रम भएको बेला आमाको मृत्यु भएको खबर पाए । रातभरि हिँडेर पोखरा आएर प्लेनबाट काठमाडौं आइपुगे । छोराको शवसम्म देख्न नपाएको मैले आमाको शव भने देख्न पाँए । बाबाको क्रिया गरे पनि आमाको क्रिया १३ दिन नै बसे तर पिण्ड दिन पाइन । किनकी बाबाको वित्दा म अविवाहित थिए । आमा वित्दा म विवाहित थिए ।’

०५२ पछि…

०५२ सालमा उनी नेकपा एमालेको राष्ट्रिय परिषदमा मनोनित भइन । ०५४ सालमा पार्टीको छैटौँ महाधिवेशनबाट केन्द्रित अनुशासन निरीक्षण कमिटीमा निर्वाचित भइ थममायाले काम गरिन । ०५६ सालमा राष्ट्रिय सभामा निर्वाचित भइन । ०६२ मा अखिल नेपाल महिला संघको पाँचौ राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय उपाध्यक्षमा निर्वाचत भइन ।

०६५ सालमा नेकपा(एमाले) आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित र वैकल्पिक पोलिटव्युरो सदस्यमा निर्वाचित भइन् । ०६५ संविधानसभामा समानुपातिक तर्फबाट मनोनित र संविधानसभा नेकपा(एमाले) संसदीय दलको सचेतक मनोनयन भइन् । ०६८ नेकपा एमालेको जनसंगठन नेपाल भूपू सैनिक तथा प्रहरी संगठन फाँट प्रमुखमा मनोनयन भइ थममायाले काम गरिन ।

०६९ साल वैशाख ८ देखि ११ सम्म पोखरामा भएको अनेमसंघको छैटौ राष्ट्रिय सम्मेलनबाट महासचिवमा उनी निर्वाचित भइन् । त्यसपछि थापा ०७१ सालमा पार्टीको नर्वौ महाधिवेशनबाट केन्द्रीय कमिटी र पोलिटव्युरो सदस्यमा निर्वाचित भइन् । ०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भइन् ।

०७४ मै फागुन ३ गते संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारीपछिको पहिलो निर्वाचनबाट गठीत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पहिलो ३ सदस्यीय मन्त्री मण्डलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा उनले काम गरिन् । थममाया गएको भदौ १० गते बसेको अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकबाट संघको संयोजकमा चयन भएकी छिन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुँदै अहिले अनेमसंघको संयोजकका रुपमा आइपुगेकी थापालाई जीवन संघर्ष र अनुभवको संगालो जस्तै लाग्छ ।

थममाया अझै पनि हाम्रो सामाजमा पितृ सतात्मक सोच हावी रहेको बताउँछिन् । उनी भन्छिन्, ‘कम्युनिष्ट पार्टी पनि पितृ सतात्मक सोच अझै हावी छ । महिलाहरुको काममा विश्वास हुँदैनन् । महिलाले घरधन्दा भ्याएर राजनीतिमा लाग्छन् भने पुरुषहरु त्यस्तो काम गर्नुपर्देन । आधा समय महिलाले पुरुषले गर्ने भन्दा थप बढी काम गरेका हुन्छन् ।’

थाममाया महिलाहरु कामको व्यस्तताका कारण पनि राजनीतिमा समय दिन नसकने बताउँछिन् । उन थप्छिन्, ‘जति पुरुषलाई फर्सद हुन्छन् । त्यति महिलालाई छैन । महिलाहरुलाई बालबच्चाप्रतिको चिन्ता, रेखदेखको दायित्व, संस्कार र व्यवस्थाको बोझ लिनुपर्ने अवस्था छ ।’ त्यसैले अब महिलाहरु राजनीति लगायत हरेक क्षेत्रमा अग्रसर भएर अगाडि बढ्नुपर्ने उनी बताउँछिन् ।

साभार:www.onsnews.com