बैशाख १७, २०८१ सोमबार

धमाधम आमा बन्दै उमेर नपुगेका किशोरीहरु



पाल्पा – माथागढी गाउँपालिका–५, हात्तीलुङकी २० वर्षीया तेमीसरा रानाले १७ वर्षको उमेरमै बच्चा जन्माइन् । १६ वर्षमै बिहे गरेकी उनले छिट्टै अर्को बच्चा जन्माउन हुँदैनथ्यो भन्ने चेतना अहिले आएको छ । त्यही भएर यतिबेला लामो अवधिको अस्थायी साधन आईयूसीडी प्रयोग गरेकी छन् । ‘छिटो बिहे गर्न र बच्चा जन्माउन हुन्न भन्ने अहिलेमात्र बुझेकी छु,’ उनले भनिन्, ‘१६ वर्षमै बिहे गरियो । १७ वर्षमा बच्चा जन्माइयो ।’

माथागढी गाउँपालिका–५, दमारकै धनीसरा सोमैको पनि २४ वर्षमा २ छोराछोरी छन् । उनले पनि २० वर्षअघि नै बच्चा जन्माएकी हुन् । १७ वर्ष पुग्दा नपुग्दै बिहे गरेको उनले बताइन् । साथीभाइको लहलहैमा लागेर बिहे गरेर छिट्टै बच्चा जन्माएकी हुन् । ‘हामीलाई छिट्टै बिहे गर्न हुन्न भनेर कसैले सिकाएन,’ उनले भनिन्, ‘गाउँका सबै १६र१७ वर्षकाले बिहे गर्छन् ।’

यी केही उदाहरण हुन् । जिल्लाका धेरै गाउँमा अझै पनि उमेर नपुग्दै बिहे गर्ने प्रचलन कायमै छ । रहवास, झडेवा, बहादुरपुर, हात्तीलुङ, कचल, जुठापौवा, बल्ढेङगदी, निस्दीका प्रायः वडामा यस्तो प्रचलन कायमै छ । रिब्दीकोट, बगनासकाली, रम्भा, पूर्वखोला गाउँपालिकाका केही स्थानमा समेत छिट्टै विवाह गर्ने गर्छन् । स्थानीय तहले प्रयास गरे पनि अझै गाउँसम्म चेतना पुग्नै सकेको छैन । कतिपय संघसंस्था पनि चेतना फैलाउने कार्यक्रम गर्दै आएका छन् । ‘केही मात्रामा सुधार भएको होला,’ माथागढी स्वास्थ्य शाखा प्रमुख केशव जीसीले भने, ‘अझै सोचेअनुसारको सुधार ल्याउन सकिएको छैन ।’

स्थानीय तहमा जनशक्ति कम हुँदा अभियान सञ्चालन गर्न नसकिएको उनले बताए । गाउँका स्वास्थ्य चौकी, आमा समूह, स्वास्थ्य स्वयंसेवकबाट भएका प्रयासबाहेक अन्य केही गर्न नसकिएको उनले बताए । जिल्लाका अधिकांश भेगमा २० वर्ष नपुग्दै विवाह गर्ने र बच्चा जन्माउने प्रचलन नहटेको उनको भनाइ छ ।

गाउँगाउँमा स्वास्थ्य चौकी र स्वास्थ्य इकाइ खुलेपछि भने छिटो विवाह गर्न हुँदैन भन्ने चेतना केही भए पनि जागेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए । उनका अनुसार कतिपय स्थानमा विभिन्न संघसंस्थाको सहयोग र स्थानीय तहको पहलबाट अभियान केही सफल भएको छ ।

कतिपयले छिट्टै विवाह गर्ने तर बच्चा छिट्टै जन्माउन हुन्न भन्ने चेतना पनि फैलिएको पाइएको माथागढी गाउँपालिका स्वास्थ्य शाखाकी किरण जीसीले बताइन् । उनका अनुसार लामो अवधिको परिवार नियोजनका अस्थायी साधन प्रयोगमा वृद्धि भएको छ ।

केही महिलामा चेतना फैलिएपछि गाउँमा पनि भनसुन गर्ने गर्छन् । कतिपयले हेलचेक्र्याइँ पनि गरेको भेटिएको उनले बताइन् । तर, अधिकांश भने सचेत हुन थालेको उनको दाबी छ । माथागढी हात्तीलुङकी धनीसरा रेश्मीमगरले सम्झाउने बुझाउने गरे पनि हेलचेक्र्याइँ गर्ने अझै धेरै भेटिने बताउँछिन् । ‘आफूले छिटो विवाह गरेर दुःख पाइयो भनेर नै अहिलेको पुस्तालाई सम्झाइबुझाइ गर्ने गरेका छौं,’ उनले भनिन्, ‘तर, कतिपयले भनेको माने पनि अधिकांश युवतीले नमान्ने समस्या छ ।’

स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ४ हजार १ सय ८९ ले गर्भ जाँच गराएका थिए । त्यसमा २० वर्षमुनिका ७ सय २४ जनाले पहिलोपटक गर्भवती जाँच गराउन स्वास्थ्य संस्थामा पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

लामो अवधिको अस्थायी साधन वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार अघिल्लो आर्थिक वर्षमा २२ हजारले पिल्स खाएका छन् । १३ हजारले डिपो प्रयोग गरेका छन् । २ सय ८६ जनाले आईयूसीडी प्रयोग गरेको देखिएको छ । लामो अवधिको साधन इम्प्लान्ट १ हजार ८ सय ७ जनाले प्रयोग गरेका छन् ।

गाउँगाउँमा राखिने स्याटेलाइट शिविरले पनि ग्रामीण भेगका महिलालाई लामो अवधिको साधन प्रयोग गर्न फाइदा पुगेको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक तथा स्वास्थ्यकर्मी सोवाकान्त न्यौपानेले बताए । ‘जुन गाउँमा शिविर राखिएको छ, त्यहाँ चेतनामूलक कार्यक्रम पनि गर्ने गरिन्छ,’ उनले भने, ‘तर पनि छिट्टै विवाह गर्ने र बच्चा जन्माउन रोकिएको छैन ।’