चैत्र ३०, २०८० शुक्रबार

८ करोडमा ३७ सय नागरिकका घरमा खानेपानी : मालिकाका महिलाको पटुकी फाट्न छाड्यो



गुल्मी- गुल्मीको मालिका ५ छापहिलेकी गोमा गिरी विहानै ४ बजे खानेपानी लिनका लागि पधेरोमा गएर पालो कुर्थिन् । उनको पालो करिब दुई घण्टा पछि मात्रै आउने गथ्र्यो । गार्गीमा पानी भरेर डोकोमा बोक्दा उनको पाठ्यघर खस्ला जस्तै हुन्थ्यो । तर अहिले घरको आगनमा सरकारले बनाइदिएको धारोमा चौविसै घण्टा पानी खस्छ ।

‘ पहिला म विहानै चार बजे उठेर पानी लिन पधेरामा जानुपथ्र्यो,अझ त्यही पनि एक गार्गी पानी डोकोमा बोकेर घर आउँदा यो आङ खस्ला झै हुथ्यो’‘अहिले आँगनमै पानी आउँछ जतिबेला पनि,धेरै नै सुख पाएकी छु मैले त ’ उनले भनिन् ।

खानेपानीको समस्याका कारण आफैले बोकेर ल्याएको पानी पिउन नपाएको पिडा मालिका ५ जमलपोखराकी बालकुमारी अर्यालको मनमा खिल जस्तै गडेको छ ।‘ सासुआमा अहिले बित्नुभयो,उहाँले यसरी घरैमा धारो बनाइदिएको र पानी आएको देख्न पाउनुभएन तर मलाई उहाँले मैले नै बोकेर ल्याएको पानी समेत खान दिनुहुन्थेन पानी सकिन्छ भनेर ’ उनले भनिन ।

विहान जुरुक्क उठेर पानी लिनका लागि घरबाट निस्कनुपर्ने त्यतिबेलाको बाध्यता अर्यालले बिर्सन खोजेपनि सक्दिनन् ।
उमेरका हिसाबले ४३ बर्षीया अर्यालले घरमा आवश्यक पर्ने सबै पानी बोकेरै पुर्‍याउनुपथ्र्यो ।

तर अहिले घरको पिढी अगाडी बनेको धारामा छङ–छङ पानी खसिरहेको देख्दा पनि सपना जस्तै लागिरहेको उनी बताउँछिन् । एक घण्टाको बाटोमा पैदल पानी बोकेर पिउनुपर्ने बाध्यता हटेकोमा उनले स्थानीय सरकारलाई धन्यवाद् समेत दिइन् ।

‘पहिला–पहिला त सावुनपानी समेत खायौँ,राती पनि उठेर पानी बोक्न जान्थे,डिया धेरै हुन्थे, मान्छे,खाना पकाउने,नुहाउने,कपडा धुने सबै पानी बोकेरै ल्याउथे ।’ उनले भनिन् –‘ मलाई त अहिले धेरै आराम भएको छ,पटक–पटक हिड्न धौ भएर डोकोमा गार्गी माथि गार्गी खपाएर पानी बोक्थे ।’

अर्याललाई पानी बोकेरै जिन्दगी बित्ने पिरले सताउथ्यो । अझ उनलाई आफ्ना दुई छोरीको झन धेरै चिन्ता लाग्थ्यो । उनीहरुको जिन्दगी पनि यसैगरी बित्ने भो भनेर । तर आफ्नै हातले घरअगाडीको धारो खोलेर पानी थाप्न पाउँदा उनी दङ्ग छन् ।

‘गुल्मीको मालिका गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियान अन्र्तगत प्रत्येक व्यक्तिको घरमा धारा सहित खानेपानी पुर्‍याएपछि गिरी र अर्याललाई मात्रै होइन गाउँपालिकावासीलाई खानेपानी लिनका लागि घण्टौ हिड्नुपर्ने बाध्यता हटेको छ ।

खानेपानी लिनका लागि विहानै झिसमिसे अध्यारोमा खोलामा पानी लिन पुगेको मालिका २ दर्लिङ्ग चिलमिलकी गोमा पौडेलले बताइन् । ३९ बर्षीया पौडलले पहिले पटुका फाट्ने गरी पानी बोक्ने गरेको बताइन् । ‘ पहिला त पटुका फाट्ने गरी बोक्न पथ्र्यो क्यारे,खोलाबाट बाकेर ल्याउथ्यौँ ’

पौडेलले विगतमा खोलाको दुषित खान बाध्य भएको बताइन् । अहिले घरमा धारा बनेपछि शुद्ध पिउने पानी आइरहेको उनले बताइन ।
‘ दुषित पानी खान बाध्य भएका थियौँ,अहिले त धारामा सफा पानी आउँछ,आनन्द छ ’

मालिका गाउँपालिकाले ८ करोड ११ लाख ७३ हजारको लागतमा गाउँपालिका भित्रका ३७ सय ८१ घरमा खानेपानी पुर्‍याएको प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । ‘ हामी निर्वाचित भएपछि सबै नागरिकको घरमा खानेपानी र धाराको व्यवस्था गर्छौ भनेका थियौँ,जहाँसम्म त्यो वाचा पुरा गरेका छौँ ’

नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न सफल भएको मालिका गाउँपािलकाका अध्यक्ष रित बहादुर थापाले बताए । उनले पानी खान नपाएर काकाकुल भएका नागरिकलाई धारामा खसेको पानी पिएको देख्दा आफुलाई मनमा शान्ति मिलेको बताए ।

‘ तिर्खाएको बेला पानी पिउन नपाउँदाको छटपटी मैले महुसस गरेको छु,उहाँहरुको पिडा नै मेरो पिडा हो,त्यही सोचेर काम गरे,आज सफल पनि भएँ भन्ने लागेको छ ’