बैशाख १२, २०८१ बुधबार

आगामी चैतमा पहिलाे महिला आईजीपी, दौडमा चार महिला अधिकृत



आगामी चैत महिनामा नेपाल प्रहरीको महानिरक्षिक (आईजीपी) महिला बन्ने सम्भावना देखिएको छ । वर्तमान आईजीपीको आगामी चैतमा कार्यकाल पूरा भएपछि रिक्त हुने पदमा बढुवाका लागि अहिले एसएसपी रहेका चार जना महिला अधिकृतहरुमध्ये एकजनाको सम्भावना देखिएको हो ।

३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सोझै नायब महानिरीक्षक (डीआईजी) बाट हुनेछ । भावी आईजीपी बन्ने उक्त ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहेको छ । सम्भवतः स्थानीय तह निर्वाचनपछि उनीहरु डीआईजीमा बढुवा हुनेछन् । ती डीआईजीबाट नै चैतमा आईजीपी बन्ने छन् । जसका लागि चारजना महिला एसएसपी लाईनमा छन् ।

रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डीआईजीको १७ दरबन्दी खाली हुनेछ । त्यही दरबन्दीमा बढुवा हुन यतिबेला एसएसपीहरुबीच रस्साकस्सी देखिएको छ । डीआईजीबाटै आईजीपीमा बढुवा हुनसक्ने भएकाले वरीयतामा अगाडि आउन सम्भावित उमेदवारहरुबीच तँछाडमछाड देखिन्छ । तीमध्ये चारजना महिला एसएसपी छन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरु अहिले सिनियर एसएसपी छन् । नीहरुमध्येबाटै नेपाल प्रहरीले भावी आईजीपी पाउनेछ । प्रहरी निरीक्षकको त्यो ब्याचमा नाम निकाल्नेमध्ये ४ जना महिला थिए ।

त्यसअघि नेपाल प्रहरीमा यति धेरै संख्यामा महिलाले एकैपटक प्रहरी निरीक्षकमा नाम निकालेका थिएनन् । त्यतिबेला नाम निकाल्ने चारै जना महिला अधिकृत अहिले एसएसपी छन् । मीरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गा सिंह डीआईजी बन्ने प्रतिस्पर्धमा देखिएका हुन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकमा नाम निकाल्नेबाट पहिलो लटमा २०७५ फागुनमा एसएसपीमा बढुवा भएका थिए । १४ जना बढुवा भएकामा गणेश रेग्मीले अवकाश पाइसकेका छन् । मीरा आठौँ र किरण बज्राचार्य १० औँ नम्बरमा थिए । रेग्मीको अवकाशपछि दुवै जना वरियतामा एक स्थान माथि उक्लिएका छन् । किरण राणा र दुर्गा सिंह भने त्यो लटमा बढुवा हुन छुटेका थिए । उनीहरु २०७७ बैशाखमा एसएसपीमा बढुवा भएका हुन् । त्यतिबेला १९ जना एसपीको बढुवा भएकामा दुर्गा नवौँ र किरण १२ औँ स्थानमा थिए ।

एसएसपीअघि यी चारै जना महिला अधिकृत एक साथ बढुवा हुँदै आएका थिए । यी चार जनामध्ये प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक ९डीएसपी०मा किरण बज्राचार्य पहिलो, मीरा दोस्रो, दुर्गा तेस्रो र किरण राना चौथो नम्बरमा थिए ।

एसपी र एसएसपीमा भने मीरा पहिलो नम्बरमा उक्लिइन् । किरण बज्राचार्य दोस्रो नम्बरमा झरेकी थिइन् । नेपाल प्रहरीमा महिला अधिकृत एआईजीसम्म भएको इतिहास छ । हाल प्राविधिकतर्फ आशा सिंह एआईजी रहेकी छन् ।

जनपदतर्फ पूजा सिंह डीआईजी रहेकी छन् । यसअघि जनपदतर्फ पार्वती थापा पनि डीआईजीसम्म भएकी थिइन् । २०५१ चैतपछिका इन्स्पेक्टर ब्याचहरुमा पनि महिलाहरुले छिटफुट नाम निकाल्दै आएका थिए ।

०६२र६३ को जनआन्दोलनपछि सरकारी सेवामा महिला आरक्षणको व्यवस्था गरिएपछि प्रहरी सेवामा पनि महिलाको उपस्थिति बढेको थियो । २०६७ सालमा ८० जना प्रहरी निरीक्षक भर्ना लिएकामा ५ जना महिलाले पनि नाम निकालेका थिए ।

२०७२ सालको १२६ जना प्रहरी निरीक्षक भर्नामा १४ जना महिलाले नाम निकालेका थिए । त्यसमा ४ जना विभागीय थिए भने बाँकी फ्रेस । त्यसयताका भर्नामा पनि महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहने गरेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक महिला एसएसपी दाबी गर्छिन्, ‘हामी हाम्रा कुनै पनि पुरुष ब्याचीभन्दा कम छैनौं । भेदभाव नगरिएको अवस्थामा संगठनले पहिलोपटक महिला आईजीपी पाउने सम्भावना छ ।’ नेपालप्रेसबाट