बैशाख १२, २०८१ बुधबार

उपस्वास्थ्यचौकी बन्द हुदाँ स्ट्रेचरमै नवजात शिशुको जन्म



कालीकोट, नरहरिनाथ गाउँपालिका–६, माल्कोट गाउँको बर्थिङ सेन्टरमा कर्मचारी नहुँदा स्ट्रेचरमै सुत्केरी हुनुभएकी एक महिला । तस्बिरः मिमबहादुर रावल÷रासस

कालिकाेट । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।

‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ’, स्थानीय रामबहादुर बटालाले गुनासो गरे।

उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै शिशु जन्माएकी थिइन्।  गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए। दुई स्थायी स्वास्थ्यकर्मी बिदामा रहेकाे र करार कर्मचारी हटाइएकाले सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको उनले बताए।

उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे बताए। ‘अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ’, उनले भने ‘ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ।’